STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

त्रिकोणात्मक सिरिज : नेपाल एक खेलअगावै फाइनलमा

Janjati Khabar – Janjati Khabar | २०७८ चैत्र १७, बिहिबार

काठमाडाैँ - नेपाली राष्ट्रिय क्रिकेट टोली पपुवा न्युगिनी (पिएनजी) र मलेसिया सम्मिलित त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय सिरिजको फाइनलमा प्रवेश गरेको छ । बिहीबार आफ्नो तेस्रो खेलअन्तर्गत पिएनजीलाई ३७ रनले हराउँदै नेपाल एक खेलअगावै फाइनलमा प्रवेश गरेको हो ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले दिएको दुई सय चार रनको लक्ष्य पछ्याएको पिएनजी १९ दशमलव चार ओभरमा अलआउट हुँदै एक सय ६६ रनमात्र बनाउन सक्यो । पlएनजीका लागि चार्ल्स अमिनीले सर्वाधिक ६२ रन बनाए भने टोनी उराले ४३, सेसे बाउले २५, नोरमान भानुले १७ र रिले हेकुरेले ६ रन बनाए ।

बलिङमा नेपालका करण केसीले ह्याट्रिकसहित  पाँच विकेट लिए । सोमपाल कामी र अविनास बोहराले दुई-दुई तथा कप्तान सन्दीप लामिछानेले एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभर खेल्दा सात विकेटको क्षतिमा दुई सय तीन रन बनाएको थियो । टस जितेको पिएनजीले पहिले बलिङ गर्ने निर्णय गरेपछि ब्याटिङ गरेको नेपालका लागि दीपेन्द्रसिंह ऐरीले ६६ रनको अर्धशतकीय इनिङ्स खेले । उनले ३३ बलमा चार चाैका र तीन छक्का प्रहार गरे ।

यसैगरी रोहित पाैडेले २३ बलमा ४१ रन जोड्दा आशिफ शेखले २९ बलमा ३८ रन बनाए । यस्तै, आजैमात्र राष्ट्रिय टिमबाट डेब्यु गरेका युवा अलराउन्डर आदिल अन्सारीले ११ बलमा ३१ रन जोडेका थिए भने कुशल भुर्तेलले १७ रन जोडे । आदिललाई नेपाली टोलीका पूर्वक्रिकेटर दीपेन्द्र चौधरीले डेब्यू क्याप दिएका थिए । आदिललाई कुशल मल्लको स्थानमा मौका दिइएको हो ।

बलिङमा पिएनजीका कवुवा मोरेयाले तीन, रिले हेकुरेले दुई तथा नोरमान भानु र नोसईना पोकनाले एक एक विकेट लिए ।

जितसँगै नेपाल एक खेलअगावै फाइनलमा स्थान बनाएको छ । लगातार तीन खेल जितेको नेपाल ६ अङ्कसहित शीर्षस्थानमा छ । नेपालले पहिलो खेलमा पिएनजीलाई १५ रनले हराएको थियो । दोस्रो खेलमा मलेसियालाई ६ विकेटले पराजित गरेको थियो ।

पिएनजीले भने लगातार तीन खेल हारेको छ । पिएनजीले अङ्कको खाता खोल्न सकेको छैन । मलेसिया भने दुई अङ्कसहित दोस्रो स्थानमा छ ।

तीन टोली सहभागी यस सिरिजमा हरेक टोलीले एक आपसमा दुई-दुई खेल खेलेपछि शीर्ष दुई टोलीबीच फाइनल भिडन्त हुने छ । नेपालले लिग चरणको अन्तिम खेल शनिबार मलेसियासँग खेल्ने छ । फाइनल खेल सोमबार हुने छ ।

Categorized in खेलकुद