तेश्रो निफमा बुलबुल को बर्चश्व
Janjati Khabar – जनजाति खबर | २०७६ फाल्गुण ६, मंगलबार
नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको आयोजनामा विगत तीन वर्षदेखि निफ नेपालमा हुने फिल्म महोत्सबहरु मध्यकै उत्कृष्ट र परिष्कृत महोत्सब हो । निफ अर्थात ‘नेपाल अन्तर्राष्ट्रिय फिल्म फेष्टिभल’ । निफ को तेश्रो संस्करणमा ४० देशका ८० भन्दा बढि फिल्महरु सहभागी रहेको थियो ।
निफ नेपालमा मात्र नभई साउथ एसियाकै राम्रो मध्येको एक फेष्टिभल भएको जानकारहरु बताउँछन् । राजधानीमा पाँच दिनसम्म संचालन भएको निफमा दर्जनौं फिल्महरुको शो गरिएको थियो । कार्यक्रममा अन्तरक्रिया र मास्टर क्लासहरु समेत संचालन गरिएको थियो ।
निफको तेश्रो संस्करणले नेपाली फिल्म क्षेत्रलाई केही टेवा दिने फिल्मकर्मीहरुको धारणा छ । निफको औपचारिक समापन सोमवार गरिएको छ । शुरुवाटको पाँचौं दिनमा निफको समापन गरिएको हो । राष्ट्रिय सभागृहमा संचालन भएको निफले विभिन्न १८ विधामा अवार्ड प्रदान गर्दै समापन गरिएको हो ।
नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा विनोद पौडेल निर्देशित फिल्म ‘बुलबुल’ले डबल हयाट्रिक गरेको छ । बुलबुलले नेपाल पनोरमाको फिचर तर्फ उत्कृष्ट फिल्म, उत्कृष्ट निर्देशक, उत्कृष्ट पटकथा, उकृष्ट अभिनेत्री जुरी अवार्ड पुरुष र महिला गरी ६ वटा अवार्ड जितेको हो ।
फिल्मबाट विनोद पौडेलले पटकथा र निर्देशकको अवार्ड जितेका थिए भने स्वस्तिमा खड्काले उत्कृष्ट अभिनेत्री तर्फको अवार्ड जितेकी थिइन् । त्यसैगरि जुरी अवार्ड पुरुष र महिलातर्फको अवार्ड मुकुन भुषाल र लक्ष्मी बर्देवाले जितेका थिए ।
बुलबुललाई पछ्याउँदै ‘गोपी’ले तीन अवार्ड हात पारेको थियो । समारोहमा ‘गोपी’ले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विधातर्फ जुरी अवार्ड पायो भने फिल्मबाट बिपिन कार्कीले उत्कृष्ट अभिनेताको अवार्ड हात पारेका थिए । त्यसैगरि छायाँकार शेलेन्द्र डि कार्कीको छायांकनलाई पनि प्रकाश झा मुख्य निर्णायक रहेको जुरीले उत्कृष्ट ठानेको थियो ।
कार्यक्रममा नेपाली सर्ट फिल्म तर्फको जुरी अवार्ड केदार श्रेष्ठ निर्देशित जुनुको जुत्ताले पाएको थियो भने इन्टरनेसनल सर्ट फिल्म तर्फको जुरी मेन्सन अवार्ड युक्रेनको ‘अन्ना’ले पाएको थियो । नेपाली सर्ट फिल्मतर्फको अवार्ड प्रविन कुमार राउत निर्देशित ‘कलम’ले जितेको थियो । प्रविन स्वयं पनि जुरीको नजरमा उत्कृष्ट निर्देशक ठहरिए ।
सर्ट फिल्म तर्फको जुरी मेन्सन अवार्ड श्रीलंकाको ‘दि अदर हाफ’ले पाएको थियो । बहुपति प्रथाको कथा समेटिएको गणेश पाण्डे निर्देशित ‘को हस्बेन्ड’ डकुमेन्ट्री विधातर्फ उत्कृष्ठ ठहरिएको थियो । माउन्ट एभरेस्ट अवार्ड नाम दिएको यो पुरस्कारको राशि १ हजार अमेरिकी डलर रहेको थियो ।
यही वर्षबाट थपिएको एनिमेटेड विधाको अवार्ड भने चीनको ‘स्प्रिट अफ दि ड्रइङ गर्ल’ ले पायो । मञ्जुश्री अवार्ड नाम दिएको यो पुरस्कारको राशि ७ सय अमेरिकी डलर रहेको छ । अन्तर्राष्ट्रिय सर्ट फिल्मको विधातर्फ भारतीय फिल्म ‘नुरी’ उत्कृष्ट मानिएको थियो । बाग्मति अवार्ड नाम दिइएको यो पुरस्कारको राशि ५ सय अमेरिकी डलर रहेको छ ।
समारोहको सबैभन्दा ठूलो पुरस्कार गौतम बुद्ध अवार्ड टर्कीको ‘ट्रयाप’ले पायो । फिल्मले १५ सय अमेरिकी डलर हात पार्यो । अवार्डमा विजेता छान्ने काम फिचर र डकुमेन्ट्रीमा छुट्याएर गरिएको थियो । फिचर फिल्म तर्फको निर्णायकको नेतृत्व प्रकाश झाले गरेका थिए भने उनलाई मन्जुकुमार श्रेष्ठ, गौरी मल्ल, जाओ पाउलो मकाइदो र थिबाउट ब्राकले गरेका थिए ।
श्रीलंकाका डकुमेन्ट्री फिल्ममेकर अनोमा राजाकरुणाले नेतृत्व गरेको डकुमेन्ट्री विधातर्फको जुरी सदस्यमा करुण थापा, युनी हाडी सदस्य थिए । फेस्टिभलको आयोजना नेपाल फिल्म एन्ड कल्चरल एकेडेमीले गरेको थियो ।
संस्थाका अध्यक्ष केपी पाठकले समापन समारोहमा बोल्दै तेश्रो संस्करणसम्म आईपुग्दा सबै पक्षबाट सहयोग मिलेको बताए । उनले आगामी दिनमा पनि निरन्तर निफले अन्तर्राष्ट्रिय स्तरमा नेपाली फिल्मको प्रतिनिधीत्वलाई बढाउने प्रतिवद्धता व्यक्त गरे ।
Categorized in सिनेमा