STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

तीन साता शैक्षिक संस्था बन्द गर्न प्रस्ताव

Janjati Khabar – Janjati Khabar | २०७७ चैत्र २९, आइतबार

काठमाडौं - कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले तीन साताका लागि शैक्षिक संस्था बन्द गर्ने प्रस्ताव गरेको छ । 

नेपालमा युके भेरियन्टको कोरोना संक्रमण फैलिने खोजिम बढेको भन्दै सीसीएमसीले ३ साता शैक्षिक संस्था बन्द गर्न सरकारलाई सिफारिस गरेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालका ठूला शहरी क्षेत्रमा नयाँ भेरिन्टको कोरोना संक्रमण बढ्न सक्ने भन्दै अनलाइन माध्यमबाट कक्षा संचालन गर्न सीसीएमसीलाई प्रस्ताव गरेको थियो ।

उपप्रधानमन्त्री तथा सीसीएमसीका संयोजक ईश्वर पोखरेलको अध्यक्षतामा सिंहदरबारमा बसेको बैठकले मन्त्रालयको प्रस्तावमाथि छलफल गर्दै संक्रमण बढी हुने स्थानका विद्यालय र कलेज तीन साता बन्द गर्न सरकारलाई सिफारिस गरेको हो ।

सीसीएमसीले कोरोना संक्रमणको दोस्रो लहर फैलिन सक्ने भन्दै सतर्कता अपनाउन पनि अपिल गरेको छ । सीसीएमसी पछिल्लो समय कोभिड संक्रमणको ग्राफ बढेको र नयाँ भेरियन्टसमेत देखापरेको भन्दै सतर्कता अपनाउन राष्ट्रिय रूपमा अपिल गर्ने निर्णय गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का सचिव खगराज बरालले बताए ।

यसबाहेक बैठकले जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)लाई अझ बढी सक्रिय बनाउने निर्णय पनि गरेको छ ।

सीमा नाकाहरूमा सञ्चालनमा आएका हेल्थ डेस्कलाई थप प्रभावकारी बनाउने, एन्टिजेन टेष्टलाई बढाउने, कोभिड संक्रमण भई लक्षण देखापरेका बिरामीलाई अस्पताल भर्ना गर्ने र लक्षण नदेखिएकालाई क्वारेन्टाइनमा राख्ने काम गर्ने निर्णय पनि बैठकले गरेको छ ।

Categorized in शिक्षा