STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

तीन सय नौ हप्ता सफा गर्दा पनि वाग्मतीमै शौचालय 

Janjati Khabar – जनजाति खबर | २०७६ बैशाख १, आइतबार

वाग्मती सफाइ महाअभियान शुरु भएको ३०९ हप्ता पुग्दा पनि वाग्मतीमै शौचालय बन्न छोडेको छैन । 
 
वाग्मती सफाइ महाअभियानको ३०९ औँ हप्तामा बल्खु पुलस्थित वाग्मती नदी किनारमा सफाइका क्रममा नदीमै शौचालय बनाई फोहर गरिएको भेटिएको अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिकी सञ्चालक सदस्य माला खरेलले बताउनुभयो ।  नदीमै बनाइएको शौचालयबाट नदीमा मलमूत्र बगेर जाने गरेको छ । 
 यसले गर्दा जति सफा गरेपनि हिँड्दैछ, पाइला मेट्दैछ भनेझै सफा गर्नुको अर्थ नहुने अभियानकर्मीको गुनासो छ । त्यसरी बनाइएका केही शौचालय शनिबारको सफाइका क्रममा भत्काइए पनि केही अझै बाँकी छन् । बल्खु क्षेत्रको नदी किनारमा सुकुम्बासीको नाममा सार्वजनिक जग्गा कब्जा गरी बसेकाले यसरी नदीमै शौचालय बनाएका हुन् । उसो त यस क्षेत्रको नदीमा अझै ढल हाल्न रोकिएको छैन ।
अधिकार सम्पन्न वाग्मती समिति लगायत सरोकार भएका सरकारी निकायको मौनताले नदीको जग्गा कब्जा गरेर बस्नेलाई हटाउन नसक्दा वाग्मती सफाइमा चुनौती देखा परेको अभियानकर्मीको भनाइ छ । सरकारले बनाएको आवासमा पनि नसरी सुकुम्बासीका नाममा नदीको किनारको खाली ठाउँ कब्जा भइरहेको छ । 
उपत्यकाबाट २६ मेट्रिक टन फोहर व्यवस्थापन
उपत्यकाका नदी र चक्रपथ सफाइ गरी शनिबार मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइबाट सङ्कलन गरिएको फोहर सम्बन्धित क्षेत्रको स्थानीय तहले व्यवस्थापन गर्ने गरेका छन् ।
 स्थानीय सरकारले फोहर उठाउन प्रयोग गरेको सवारीमा हालेका आधारमा फोहरको परिमाण सार्वजनिक गर्ने गरिएको अभियानकर्मीले जनाएका छन् । बल्खु क्षेत्रको वाग्मती सफाइबाट चार मेट्रिक टन फोहर व्यवस्थापन गरियो ।  
सफाइमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायत १७ संस्थाको सक्रियता थियो । सफाइमा ३०० जनाभन्दा बढी अभियानकर्मीको सक्रियता थियो ।    गुह्येश्वरीमाथिको नदी सफाइको २७० औँ हप्तामा गोकर्णेश्वर नगरपालिका–५  स्थित हनुमान वाटिका अघिको नदी किनारमा सफाइ गरियो ।
नगरपालिकाको–५ को आतिथ्यता र वाग्मती सुन्दरता सरोकार मञ्चको संयोजनमा सफाइ भएको थियो । सो अवसरमा कुहिने फोहरलाई जमिनमुनि गाडी नकुहिने फोहर व्यवस्थापन गरिएको मञ्चका अध्यक्ष उत्तम पुडासैनीले बताउनुभयो ।
मञ्चले घरभित्रको फोहर व्यवस्थापन नगर्नेलाई नदी किनारको सफाइमा नआउन समेत आह्वान गरेको छ । घरकै फोहर व्यवस्थापन नगर्नेले पहिले त्यहीँ काम गर्न सल्लाह दिइएको मञ्चले जनाएको छ ।  सफाइबाट तीन मेट्रिक टन फोहर व्यवस्थापन गरियो ।
माटो र कुहिने फोहरलाई डम्पिङ साइटमा नपठाउन पनि मञ्चले सफाइ अभियानकर्मीलाई अनुरोध गरेको छ । सफाइमा मानव अधिकार तथा शान्ति समाज लगायत सङ्घ संस्थासहित स्थानीयवासी गरी ३०० भन्दा बढी अभियानकर्मीको सहभागिता थियो । 
सफाइपछि नयाँ वर्षका अवसरमा चियापान कार्यक्रम पनि आयोजना गरिएको थियो । कार्यक्रममा अधिकार सम्पन्न वाग्मती समितिका अध्यक्ष लगायत अभियानकर्मी सहभागी हुनुभयो ।  
रुद्रमती सफाइ अभियानको २६४ हप्तामा रातोपुल–सिफल–कालोपुल क्षेत्रमा सफाइ गरी एक मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा काठमाडौँ महानगरपालिका–३० का अध्यक्ष दलबहादुर कार्कीसहित २०० भन्दा बढी अभियानकर्मीको सहभागिता रहेको रुद्रमती सरोकार समितिका उपाध्यक्ष रोहित गिरीले राससलाई जानकारी दिनुभयो ।
विष्णुमती सफाइको २३६ औँ हप्तामा तारकेश्वर र टोखा नगरपालिकाबीचको मनमैँजु पुलबाट शिव मन्दिरसम्म सफाइ गरी एक मेट्रिक टन फोहर व्यवस्थापन गरिएको अभियानकर्मी अनिल धरेलले जानकारी दिनुभयो । सफाइमा ३०० भन्दा बढी अभियानकर्मीको सहभागिता थियो । 
मनोहरा तीर्थबाट नयाँ बस पार्कसम्म नमूना बनाउने उद्देश्यले आठ हप्ता लगातार यस भागमा सफाइ अभियान चलाइएको अभियानकर्मी शोभाकान्त पाण्डेयले बताउनुभयो । 
यस अवधिमा घर धनी र व्यवसायीलाई आफ्नो घर क्षेत्र सफा गर्न विशेष अनुरोध गरिएको थियो । ट्याङ्कर व्यवसायीले भने धुलो ल्याई फोहर बनाउने गरेकाले सफाइका क्रममा आधा घण्टासम्म जाम गरिएको उहाँले सुनाउनुभयो । सडक जामसँगै १५ दिनसम्म समस्या समाधानका लागि सचेत गराइएको जनाइएको छ ।
वाग्मतीको तिलगङ्गा क्षेत्रमा २१०औँ हप्ताको सफाइ काठमाडौँ महानगरपालिका–८ तिलगङ्गा महिला समूह र आदर्श सेवा नव जीवन केन्द्रको सक्रियतामा भयो । जनचेतनामूलक सफाइका क्रममा फोहर र प्लाष्टिक नजलाऔँ भन्ने सन्देश प्रवाह गरिएको सफाइ संयोजक आशा पाण्डेले जानकारी दिनुभयो ।
सफाइबाट एक मेट्रिक टन फोहर व्यवस्थापन गरियो ।   सुन्दरीघाटस्थित वाग्मती नदी किनारमा ११९ औँ हप्ताको सफाइ गरियो । १०० जनाभन्दा बढी अभियानकर्मीको सक्रियतामा भएको सफाइमा एक मेट्रिक टन फोहर व्यवस्थापन गरिएको सफाइ संयोजक चित्र सुनुवारले जानकारी दिनुभयो ।
मनोहरा नदी सफाइको १०८ औँ हप्तामा काठमाडौँ महानगरपालिका–३२ स्थित झोलुगे पुल क्षेत्रमा सफाइ गरी दुई मेट्रिक टन फोहर व्यवस्थापन गरिएको सफाइ संयोजक चन्द्र दङ्गालले जानकारी दिनुभयो । सफाइमा उपमहालेखापरीक्षक ईश्वर नेपाल लगायत १०० भन्दा बढी अभियानकर्मीको सक्रियता थियो । 
चक्रपथ सफाइ अभियानको १०५औँ हप्तामा सामाखुसी चोकबाट गोंगबु चोकसम्मको क्षेत्रमा सफाइ गरी १० मेट्रिक टन फोहर व्यवस्थापन गरिएको अभियानकर्मी लोकबहादुर टण्डनले जानकारी दिनुभयो । घरदैलो गरी कुहिने फोहर सडकमा नफाल्न आह्वान गरिएको थियो ।
सफाइमा सुरक्षा निकाय, हिमालयन वातावरण संरक्षण प्रालि लगायत संस्थाका ३०० भन्दा बढी अभियानकर्मीको सक्रियता थियो ।
 सडकमा व्यापार गरेर बस्नेले धेरै फोहर गरे पनि काठमाडौँ महानगरपालिका लगायत राजधानीका नगरपालिकाले कारवाहीको दायरामा ल्याउन नसकेको सफाइ सक्रिय भएकाहरुको गुनासो छ । सार्वजनिक यातायात डस्टबिन नराख्दा पनि चक्रपथ र नदी फोहर हुने गरेको छ । 
आलोकनगर सफाइको १०५औँ हप्तामा त्यस क्षेत्रमा सफाइ गरी एक मेट्रिक टन फोहर व्यवस्थापन गरिएको संयोजक प्रमिला पौडेलले जानकारी दिनुभयो । त्यस क्षेत्रमा घर दैलोसमेत गरी सडक एवं नदी किनारमा फोहर नफाल्न आग्रह गरिएको थियो । प्लाष्टिक जलाउने र ढल नदीमा हाल्ने कामको अन्त्य गर्न पनि सो अवसरमा आह्वान गरिएको थियो ।  
चक्रपथ वाफल खण्ड सफाइको ८७औँ हप्तामा कलङ्की चोकबाट सोल्टी दोबाटोसम्म सफाइ गरी दुई मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा सुरक्षाकर्मी लगायत १५० भन्दा बढी अभियानकर्मीको सक्रियता रहेको सफाइ संयोजक ताराबहादुर कुँवरले जानकारी दिनुभयो । 
सफाइका क्रममा काभ्रेपलाञ्चोक जिल्लाको भुम्लु गाउँपालिकाका प्रमुख गुमानध्वज कुँवरले छ महीनासम्म सफाइ अभियानकर्मीलाई पानी पिउने व्यवस्था गर्ने घोषणा गर्नुभयो । विसं २०७० जेठ ५ गतेदेखि वाग्मती सफाइ महाअभियान शुरु भएपछि देशभर सफाइ अभियानको जागरण आएको हो ।
Categorized in राष्ट्रिय