STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

तीन गाउँपालिकाबीच भगिनी साइनो

Janjati Khabar – जनजाति खबर | २०७६ कार्तिक २८, बिहिबार

जिल्लाको ताराखोला, तनहुँको बन्दीपुर र गुल्मीको धुर्कोट गाउँपालिकाले एकापसमा भगिनी साइनो गाँसेका छन् । ताराखोलाका अध्यक्ष प्रकाश घर्तीमगर, बन्दीपुरका अध्यक्ष पूर्णसिंह थापामगर र धुर्कोटका अध्यक्ष भुपाल पोखरेलले बुधबार भगिनी साइनो जोड्ने समझदारी पत्रमा हस्ताक्षर गर्नुभयो । गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालको विशेष उपस्थितिमा भगिनी सम्बन्ध स्थापना तथा घोषणा गरिएको थियो । सो अवसरमा मन्त्री लम्सालले गाउँपालिकाहरुबीच सिकाइ र अनुभव आदान–प्रदानमा मितेरी साइनो फलदायी हुने विश्वास व्यक्त गर्नुभयो । “सकारात्मक र राम्रा कामको अनुशरण र प्रसार गर्न भगिनी सम्बन्ध एउटा माध्यम बन्नेछ”, उहाँले भन्नुभयो, “आर्थिक समृद्धिको लक्ष्य प्राप्तिमा पनि यसले मद्दत पु¥याउँछ ।” उहाँले गाउँपालिकाहरुबीच पहिलोपटक भगिनी सम्बन्ध स्थापना भएको भन्दै देशका अन्य गाउँपालिकाहरु यसतर्फ प्रेरित हुने उल्लेख गर्नुभयो । मितेरी साइनो नेपाली समाजको परम्परा र संस्कृतिसँग जोडिएको भन्दै उहाँले यसबाट जनताको तहमा समेत सम्बन्ध अभिवृद्धि हुने बताउनुभयो । बन्दीपुर गाउँपालिकाका अध्यक्ष थापामगरले स्थानीय उत्पादन, कृषि, पर्यटन, संस्कृतिलगायतका क्षेत्रको प्रवद्र्धनका लागि त्रीपक्षीय समझदारी भएको बताउनुभयो । “पहाडकी रानी भनेर चिनिने बन्दीपुरदेखि मितेरी सम्बन्ध गाँस्न ताराखोला आएका छौँ”, उहाँले भन्नुभयो, “अब हामीबीच आर्थिक, सामाजिक, सांस्कृतिक, सम्बन्ध सुदृढ हुनुका साथै सहयोगको आदान–प्रदान हुनेछ ।” धुर्कोट गाउँपालिकाका अध्यक्ष पोखरेलले भगिनी साइनोले जनस्तरमा पनि सम्बन्ध विस्तार हुने बताउनुभयो । तत्कालीन धुर्कोट राज्यका राजा र बन्दीपुरकी रानीबीच ऐतिहासिक सम्बन्ध रहेको उल्लेख गर्दै अध्यक्ष पोखरेलले पर्यटन प्रवद्र्धनमा भगिनी सम्बन्धले ठूलो महत्व राख्ने धारणा राख्नुभयो । पत्रकार महासङ्घ बागलुङका अध्यक्ष दिल शिरीषले भगिनी सम्बन्ध औपचारिकतामा मात्र सीमित नभई कामयावी र फलदायी हुनुपर्ने बताउनुभयो । “राम्रा अभ्यास र सिकाइको अनुशरण तथा आदानप्रदानमा मितेरी साइनोले योगदान पु¥यायोस्”, उहाँले भन्नुभयो । भगिनी सम्बन्ध स्थापना कार्यक्रममा तीनवटै गाउँपालिकाका जनप्रतिनिधि, पर्यटन व्यवसायी, पत्रकारलगायतको सहभागिता थियो । ताराखोला गाउँपालिका–२ अर्गलमा प्रचलित ऐतिहासिक भुस पोल्ने पर्वको अवसर पारेर भगिनी सम्बन्ध जोडिएको हो । स्थानीय उत्पादन, कला, संस्कृति र पर्यटनका हिसाबले तीनवटै गाउँपालिका अघि छन् । ताराखोला र बन्दीपुर गण्डकी प्रदेशमा परे पनि धुर्कोट गाउँपालिका भने प्रदेश नं ५ मा पर्छ ।
Categorized in राष्ट्रिय