STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

तीन करोड दान

Janjati Khabar – जनजाति खबर | २०७६ बैशाख १०, मंगलबार

जिल्लाका पाँच र ललितपुरको एउटा रोटरी क्लबले यहाँ निर्माण गर्न लागेको स्पाइनल इञ्जुरी हस्पिटल तथा पुनःस्थापना केन्द्रका लागि स्थानीय उदयकुमार पियाले रु तीन करोड प्रदान गर्ने हुनुभएको छ । सोमबार साँझ यहाँ आयोजित एक कार्यक्रममा उहाँले रोटरी क्लबका तर्फबाट चितवन रोटरी क्लबका अध्यक्ष कपिलबाबु खनाललाई रु ५० लाखको चेक हस्तान्तरण गर्नुभएको छ । सोही समारोहमा केन्द्र स्थापनाका लागि विभिन्न चरणमा रु तीन करोड उपलब्ध गराउने विषयमा सम्झौतापत्रमा पनि हस्ताक्षर भएको छ । केन्द्रको सोमबारै पियाले शिलान्यास गर्नुभएको थियो । भरतपुर महानगरपालिकाले भोगचलनका लागि उपलब्ध गराएको वडा नं ३ सानो मझुवा नगरवनमा केन्द्र निर्माण गरिँदैछ । पिया भरतपुर महानगरपालिका वडा नं ३ नारायणगढ निवासी हुनुहुन्छ । सो परियोजनाको नेतृत्व चितवन रोटरी क्लबले गरेको हो । यससँगै जिल्लामा रहेका रोटरी क्लब अफ रत्ननगर, रोटरी क्लब अफ नारायणगढ, रोटरी क्लब अफ नारायणी मिड टाउन, रोटरी क्लब अफ भरतपुर र ललितपुरको रोटरी क्लब अफ जावलाखेलले स्पाइनल इञ्जुरी सङ्घ नेपालसँगको सहकार्यमा सो केन्द्र सञ्चालन गर्न लागेका हुन् । परियोजनाको संयोजक उत्तमलाल चुकेका अनुसार दुई वर्षभित्रमा १३ हजार वर्गफिटमा २५ श्ययाको अस्पताल बन्नेछ । पहिलो चरणमा यो काम सम्पन्न गर्न रु छ करोड लाग्ने बताउँदै उहाँले नपुग रकम छ रोटरी क्लबले जुटाउने बताउनुभयो । आवश्यक उपकरणका लागि भने रोटरी इन्टरनेशनलको रोटरी ग्लोबल ग्राण्डबाट व्यवस्था गरिने उहाँको भनाइ छ । निर्माण सम्पन्न भएसँगै सञ्चालन खर्च भरतपुर महानगरपालिका, रोटरी क्लब, इञ्जुरी सङ्घलगायतले जुटाउनेछन् । चुकेका अनुसार क्रमशः यसलाई विस्तार गर्दै रु १५ करोड खर्च गरी थप सुविधासम्पन्न बनाइने लक्ष्य राखिएको छ । चितवन रोटरी क्लबका अध्यक्ष खनालले वर्षात् अघि जमीन मिलाउने काम हुने र वर्षात्पछि लगत्तै निर्माणको काम थालिने बताउनुभयो । सो ठाउँमा महानगरपालिकाले एक बिघा जमीन उपलब्ध गराएको छ । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले रोटरी क्लबहरूले मानवीय सेवामा महत्वपूर्ण काम थालेको भन्दै यसका लागि महानगरले सक्दो सहयोग निरन्तर गर्ने बताउनुभएको छ । ठूलो रकम दानका लागि सम्झौता गर्नुभएका पियाले आफ्नो एउटै मात्र समाज सेवा गर्ने इच्छा केन्द्रमार्फत पूरा हुने विश्वासका साथ सहयोग गरेको बताउनुभयो ।
Categorized in राष्ट्रिय