STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

तातोपानी र रसुवा नाका खुल्याे

Janjati Khabar – Janjati Khabar | २०७९ भाद्र ३०, बिहिबार

काठमाडौं - झण्डै एक महिना बढी समयदेखि कोभिड–१९को सङ्क्रमण बढेको भन्दै बन्द भएका तातोपानी र रसुवातर्फका नाका आजदेखि खुलेका छन् । नेपालको चार दिने औपचारिक भ्रमणमा आएका जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकांग्रेस, स्थायी समितिका अध्यक्ष ली चान्शुको भ्रमणका क्रममा भएका द्विपक्षीय सहमति पश्चात नाका खुलेको बताइएको छ ।

साथै कोभिड–१९को सङ्क्रमण घटेकाले पनि दुवै नाका आजदेखि सञ्चालन गरिएको समेत जनाइएको छ । नाका खुलेसँगै रसुवाबाट बिहान सात ठुला कन्टेनर सामान नेपाल भित्रिसकेको र बाँकी सात कन्टेनर साँझसम्म आइपुग्ने भन्सार विभागका सूचना अधिकारी पुण्यविक्रम खड्काले जानकारी दिए ।

रसुवा नाकाबाट यसअघि दैनिक ठूला १४ कन्टेनर समान आउने गरेका थिए । तातोपानी नाकाबाट रसुवा नाकाको तुलनामा केही कम सामान आउने गरेको र बढी फलफूल आउने गरेको विभागले जनाएको छ । अध्यक्ष लीको भ्रमणका क्रममा भएका उच्चस्तरीय भेटवार्तामा नेपालका तर्फबाट ती नाका खुला हुनुपर्ने आवाज उठेको थियो ।

प्रधानमन्त्री शेरबहादुर देउवासँग मङ्गलबार भएको अध्यक्ष लीको प्रतिनिधिमण्डलस्तरीय भेटवार्तामा उनीहरुबीच द्विपक्षीय व्यापार, लगानी, कनेक्टिभिटी, चीनमा अध्ययनरत नेपाली विद्यार्थी फिर्ता, यात्रु उडान सुरु गर्ने, सीमा बन्दरगाह खोल्नेलगायतका आपसी हितका विविध विषयमा छलफल भएको थियो ।

भेटवार्ताका अवसरमा अध्यक्ष लीले चीनले तिब्बतमा कोभिड–१९ को सङ्क्रमण कम भएसँगै सीमा बन्दरगाह खोल्ने र नेपालमा आगामी चाडपर्वका लागि सामान र अत्यावश्यक सामग्री ओसारपसार गर्ने कन्टेनरलाई सहजीकरण गर्ने आश्वस्त पारेका थिए । सभामुख अग्निप्रसाद सापकोटाको मैत्रीपूर्ण निमन्त्रणामा अध्यक्ष ली सोमबार विशेष विमानबाट नेपाल भ्रमणमा आएका थिए ।

Categorized in बिजनेस