STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

तर्साएर मत माग्न पाइन्नः अध्यक्ष ओली

Janjati Khabar – Janjati Khabar | २०७९ बैशाख २५, आइतबार


नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन स्वच्छ र निष्पक्ष हुनुपर्ने बताउनुभएको छ । पार्टी कार्यालयले आज यहाँ आयोजना गरेको पत्रकारसम्मेलनमा निर्वाचन भयरहित वातावरणमा हुनुपर्नेमा जोड दिनुभयो । उहाँले मतदातालाई तर्साएर मतदान माग्न नपाइने बताउनुभयो ।

“आफूलाई मतदान नगर्नेलाई देश दुर्घटनामा जान्छ जस्ता अभिव्यक्ति दिएर मत माग्ने गरेको पाइयो”, उहाँले भन्नुभयो, “मतदातालाई धम्काएर, तर्साएर मत माग्न पाइदैन, निर्वाचन स्वच्छ र निष्पक्ष हुनुपर्दछ ।”

उहाँले निर्वाचन आयोग निष्पक्ष हुनुपर्नेमा जोड दिनुभयो । पार्टी अध्यक्ष ओलीले स्थानीय तहलाई राष्ट्रियता, सामाजिक सद्भाव र सरकारप्रतिको जनविश्वासको प्रवर्धकका रूपमा विकास गर्न एमाले प्रतिबद्ध रहेको उल्लेख गर्दै स्थानीय स्रोतसाधनको पहिचान, संरक्षण, विकास र उपयोगको प्रस्थानविन्दु बनाउने अठोट एमालेले लिएको बताउनुभयो ।

“एमालेले स्थानीय तहलाई विकास र सामाजिक चेतना अभिवृद्धिको अभियन्ता बनाउनेछ, सबै पालिकालाई सामाजिक न्याय र समानताका लागि रूपान्तरणको सम्बाहकका रूपमा विकास गर्नेछ”, उहाँले भन्नुभयो, “एमालेले विकास निर्माण र सेवा प्रवाहको कार्यान्वयनमा स्थानीय तहको नायकत्व विकास गर्नेछ, हामीले लोकतन्त्रलाई जीवन पद्दतिका रूपमा अवलम्बन गर्ने आधारस्तम्भको रूपमा स्थानीय तहलाई विकास गर्नेछौं ।”

‘समृद्ध नेपाल, सुखी नेपाली’को महान् राष्ट्रिय आकाङ्क्षा साकार पार्नका लागि सङ्घ र प्रदेशको निर्वाचन सुनिश्चित गर्दै एमालेको नेतृत्वमा सबै तहमा सरकार निर्माण गर्ने आधार तयार गर्न सूर्यमा मतदान गर्न उहाँले मतदातालाई गर्नुभयो । पूर्व प्रधानमन्त्रीसमेत रहनुभएका ओलीले जनताको मत नेपालको विकास र समृद्धिको सुनौलो युग ल्याउनका लागि चाहिने बताउनुभयो ।

उहाँले कुनै दल विशेषलाई पराजित गर्नु एमालेका लागि प्राथमिक चासोको विषय नभइ नेपालको विकास गर्ने, नेपालीको इज्जत र प्रतिष्ठा बढाउने तथा नेपालको सार्वभौमसत्ता र अखण्डतालाई अक्षुण्ण राख्ने रहेको भनाइ राख्नुभयो । “राष्ट्रिय एकतालाई कमजोर पार्ने, कुनै नाम वा बहानामा अखण्डतालाई अपमान गर्ने र देशभक्तिलाई होच्याउने कुरा एमालेले कुनै हालतमा स्वीकार्दैन”, उहाँले भन्नुभयो, “विविधतायुक्त नेपाली समाजमा सामाजिक सद्भाव, न्याय र समतामूलक व्यवहार कायम गरी राष्ट्रिय एकता मजबूत राख्ने क्षमता एमालेमा नै छ ।”

Categorized in राजनीति