STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

तरकारी खेतीमा वडाध्यक्ष

Janjati Khabar – जनजाति खबर | २०७६ बैशाख ९, सोमबार

बिहानीको झिसमिसेमै तरकारीले भरिएका झोलासहित होटल र तरकारी पसल पुग्नुहुन्छ  कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ का वडाध्यक्ष दिलबहादुर बुढाको दैनिकी बनेको छ । खेतमा तरकारी रोप्नेदेखि गोडमेल गर्ने, उत्पादित तरकारी टिप्ने र बजारमा बिक्री गर्नेसम्मका कार्यका लागि तन्नेरी झै पाँच दशक काटी सक्नुभएका वडाध्यक्ष बुढा आफै खटिनुहुन्छ ।
स्थानीय झलारी, कलुवापुर र वनसमिति बजारका होटल र तरकारी पसलमा उहाँले उत्पादन गरेको तरकारी बिक्री हुन्छ । तरकारी खरीदकर्तासँग मोलभाउ गर्न उहाँ पछि पर्नुहुन्न । बजार दरको जानकारी लिएर मात्रै तरकारी बिक्रीका लागि पुग्नुहुन्छ । खड्का होटलका सञ्चालक दलबहादुर ख्डकाले भन्नुभयो, “हामीले कम मूल्यमा खरीद गर्न खोजेपनि मोलमोलाई गरेर बजार भाउ लिएरै छाडनु हुन्छ ।”
तेस्रो पटक वडाध्यक्षका रुपमा काम गर्दै आउनुभएका बुढा समाजका लागि प्रेरणाका स्रोतका रुपमा रहनुभएको छ । वडाअध्यक्ष आफै खेतमा गोरु जोत्नेदेखि तरकारी रोप्ने र बजारमा बिक्री गर्ने कार्यमा लागेको देखेर छिमेकीले समेत उहाँकै प्रेरणाले तरकारी खेती गर्न थालेका छन् । वडा कार्यालयबाट फुर्सद मिल्ने बित्तिकै तरकारी र घरायसी कार्यमा उहाँ सक्रिय हुनुहुन्छ । फुर्सदको समय खेर फाल्नु हुँदैन भन्ने उहाँको बानीबाट पाठ सिकेको बुढाका छिमेकी कमल विकले बताउनुभयो, “ उहाँले तरकारी खेतीबाट आम्दानी गरेको देखेर प्लाष्टिक टनेलमा हामीले पनि तरकारी खेती गरी आम्दानी लिन थालेका छौँ ।” खेत जोत्नका लागि पावर टिलर राखेका बुढासँग एक हल गोरु पनि छ ।
“पावर ट्रिलर छदैछ । गोरु बेचौँ भन्छौँ । गोरु जोतेर शरीर स्फूर्त राख्नका लागि बल पुग्छ भनेर बेच्न दिनुभएको छैन” वडाध्यक्षका परिवारजनको भनाइ छ । तीन कठ्ठामा लगाएको तरकारी खेतीबाट बुढाले वार्षिक रुपमा रु चार लाख बढी आम्दानी गर्दै आउनुभएको छ । तीन वटा प्लाष्टिकका टनेलमा बुढाले तिते करेला, गोलभेडा, काउली र काँक्रालगायतका मौसमी बेमौसमी तरकारी खेती गर्दै आउनुभएको छ । 
काँक्रा र तिते करेला गरी दुई महीनामै रु ४० हजार बढी आम्दानी भएको वडाध्यक्ष बुढाले बताउनुभयो । गत वर्ष तिते करेला र काँक्राबाट मात्रै रु ७० हजार आम्दानी भएको थियो । बुढाले भन्नुभयो, “तिते करेला सप्रिदो अवस्थामा रहेकाले गत वर्षको तुलनमा यस वर्ष दोब्बर आम्दानी हुने देखिएको छ ।” काँक्रा रु ५० र तिते करेला रु १५० प्रतिकिलोका दरले बिक्री भइरहेको छ । तीन कठ्ठा जग्गामा धान, गहुँलगायतका अन्नबाली लगाउँदा एक कुइण्टलसमेत फल्दैनथ्यो । उहाँले भन्नुभयो, “यो खेतीबाट घरका लागि खान तरकारी खरीद गर्नुपरेको छैन । गतिलो आम्दानी हात पर्दा घर खर्च सहज रुपमा चलेको छ ।”
तरकारी बेचेर आएको पैसाले उहाँले छोरालाई कृषि जेटिए पढाउनुभएको छ । छोराले समेत उहाँलाई सघाउन थालेपछि आम्दानी बढ्न थालेको छ । अझै धेरै जग्गामा जग्गामा तरकारी खेती विस्तार गर्ने सोच उहाँले अगाडि सार्नुभएको छ । 
तरकारी खेतीसँगै बुढाले खेतवारीको डिलमा रोपेको बास, घर छेउमै बनाएको सानो पोखरीमा माछापालन, स्थानीय जातका कुखुरा र बाख्रापालन गरेर वार्षिक रुपमा रु एक लाख अतिरिक्त आम्दानी लिँदै आउनुभएको छ । घरमै राखेको खुद्रा पसलबाट भने मासिक रुपमा रु २० हजार हाराहारी आम्दानी हुन्छ । 
भैसीको ध्यू मात्रै बेचेर रु २५ हजार आम्दानी हुन्छ । उहाँले भन्नुभयो, “गरेपछि केनै हँुदैन र रु मिहिनेत चाहियो । सीप र ज्ञान बारे पनि जानकार हुनुप¥यो । परिश्रमीलाइ पैसाले आफै खोज्दै आउछ ।”जनप्रतिनिधि भएपछि जनताको सेवामा खटिनुपर्दछ । विकास निर्माणका साथसाथै जनप्रतिनिधि आफै पनि प्रेरणादायी काममा लाग्नुपर्छ । समाजले त्यसको सिको गर्दै जाने भएकाले आर्थिक रुपमा आत्मनिर्भर बनाउन उत्प्रेरित गर्नुपर्दछ । “जुन मैले गर्दै आएको छु” उहाँले भन्नुभयो । समाज परिवर्तका लागि आर्थिक गतिविधि गर्ने कार्यमा जोड दिनुपर्ने उहाँको भनाइ थियो । 
Categorized in राष्ट्रिय