relans
ni new 83
nib 2082 5

ढाका पोशाक ः महिलाको रोजाइमा

Janjati Khabar – जनजाति खबर | २०७६ पौष २८, सोमबार

स्वदेशी उत्पादनमा पाल्पाली ढाकाको महत्व निकै छ । विसं २०१५ देखि शुरु भएको पाल्पाली ढाका कपडा उद्योगले अहिले राष्ट्रिय पहिचान बनाएको छ । शिरदेखि पाउसम्ममा विभिन्न पोसाकहरु अहिले ढाकाबाट बन्न थालेका छन् । विभिन्न डिजाइनमा समेत उपलब्ध हुन थालेपछि महिलाको विशेष रोजाइमा समेत ढाकाको कपडा पर्न थालेको छ । पोखरामा जारी राष्ट्रिय औद्योगिक व्यापार मेलामा पाल्पाली ढाकाका विभिन्न पोसाकहरु राखिएको छ । मोनिका ह्यान्डीक्राप्टको कक्षमा महिलाले विशेष रुचिसाथ पाल्पाली ढाकाका पोसाक किन्ने गरेको व्यवसायी मणिराज भट्टराईले बताउनुभयो । “पाल्पाली ढाकाको टोपी, चोलोले पहिरनका रुपमा प्रसिद्धि पाउँदै आएकामा पछिल्लो समय भने ढाकाको सल र साडी बढी बिक्री हुन थालेको छ,” उहाँले भन्नुभयो । उहाँले लेखनाथ र पोखरामा राखिएको प्रदर्शनी कक्षमा महिलाले ढाका पोसाक बढी मन पराएको बताउनुभयो । अर्का व्यवसायी लक्ष्मी भट्टराईले विशेषगरी महिलाले साडी, सल, चोलोको कपडा र झोलाहरु मन पराएको बताउनुभयो । “जाडोमा न्यानो पनि हुने र राष्ट्रिय पहिचान बोकेको पोसाक भएकाले पनि महिलाको रोजाइमा पर्दै गएको छ”, उहाँले भन्नुभयो । ढाकाको २५० देखि १५ हजार रुपैयासम्मका पोसाकहरु बिक्री कक्षमा राखिएको उहाँले जानकारी दिनुभयो । “पहिलोपल्ट मेलाबाट यो व्यापारको शुरु गरेकी हुँ, धेरैले मन पराउनुभयो अब पोखरामा यसको बिक्री कक्ष राखेर विस्तार गर्ने सोच राखेकी छु ।” विगत १८ वर्षदेखि पाल्पाली ढाका उत्पादन गर्दै आउनुभएका मिलन भट्टराईले अहिले देशका विभिन्न ठाउँमा सञ्चालन भएका मेला महोत्सवमा २० वटा कक्षमा ढाकाका पोसाकको व्यापार गरेको बताउनुभयो । हाल पाल्पाको अर्गली र काठमाडौँमा गरी दुई ठाउँमा उद्योग सञ्चालन गर्दै आएको र उद्योगमा १२० भन्दा बढी कामदार रहेको उहाँले जानकारी दिनुभयो । “अहिले माग बढी हुन्छ तर उत्पादन कम हुन्छ, गर्मीको समयमा उत्पादन गरेर त्यही कपडा जाडोको समयमा बिक्री गर्ने गर्छौं, जाडोमा तानमा काम गर्न गाह्रो हुने भएकाले उत्पादन कम हुन्छ ”, उहाँले भन्नुभयो । उहाँले आफूले सिधै विदेश निर्यात नगरेको तर अन्य व्यवसायीले खरिद गरेर बाहिर निर्यात गर्ने गरेको बताउनुभयो । पोखरा उद्योग वाणिज्य सङ्घ महिला उद्यमी विकास उपसमिति संयोजक मुना बास्तोलाले स्वदेशी उत्पादनलाई टेवा पुग्ने र व्यक्तित्वमा समेत ढाका पोसाक राम्रो मानिएकाले आफूले पनि ढाका साडी लिएको बताउनुभयो । उहाँले हरेक नागरिकले स्वदेशी ‘ब्रान्ड’लाई माया गर्ने हो भने राष्ट्रिय अर्थतन्त्रमा योगदान पु¥याउन सकिने बताउनुभयो । अर्का महिला उद्यमी उर्मिला बस्नेतले नेपाल भ्रमण वर्ष २०२० शुरु भएकाले ढाकाका विभिन्न सामग्रीमार्फत भ्रमण वर्षको प्रवद्र्धन गर्न सकिने बताउनुभयो ।
Categorized in राष्ट्रिय
ppp 2