STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

डेङ्गु परीक्षण गर्न आउने बिरामीको भीड

Janjati Khabar – जनजाति खबर | २०७६ भाद्र २४, मंगलबार

पछिल्ला नौ दिनमा टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा डेङ्गु परीक्षण तथा उपचार गर्न आउने बिरामीमध्ये एक हजार ३५० मा डेङ्गु रोगको सङ्क्रमण भेटिएको छ । अस्पतालमा सो अवधिमा स्वास्थ्य परीक्षण गराएका करीब दुई हजार ५०० बिरामीमध्ये झण्डै आधामा सो रोग देखा परेको अस्पतातले जनाएको छ । अस्पताल तथा केन्द्रीय जनस्वास्थ्य प्रयोगशालामा सो रोगको परीक्षण गराउने बिरामीको सङ्ख्या अत्यधिकरुपमा बढिरहेको छ । अस्पतालमा कार्यरत सरुवा रोग विशेषज्ञ चिकित्सक अनुप बाँस्तोलाले अस्पतालमा बिरामीको चाप अत्यधिकरुपमा बढिरहेको जानकारी दिँदै कार्यरत स्वास्थ्यकर्मीलाई बिरामीको स्वास्थ्य परीक्षण गराउन भ्याइनभ्याइ भएको बताउनुभयो । सोमबारमात्रै अस्पतालमा ४४८ ले सो रोगको परीक्षण गराएका थिए । तीमध्ये ३११ मा सो रोगको सङ्क्रमण देखा परेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अस्पताललाई डेङ्गु परीक्षण तथा उपचार गर्न आउने बिरामीसित शुल्क नलिन निर्देशन दिएपछि अस्पतालमा बिरामीको चाप अत्यधिक बढेको जनाइएको छ । पछिल्लो समय काठमाडौँलगायत देशभर सो रोग प्रकोपका रुपमा नै देखा पर्न थालेको छ । अस्पतालमा बिरामी भर्ना गर्ने श्यया अभावसमेत रहेको छ । अस्पतालमा उक्त रोगका लागि २४ श्ययामात्र रहेका छन् । अस्पतालका निर्देशक चिकित्सक वासुदेव पाण्डेले रोगको परीक्षण गर्ने वृद्धि भएसँगै अस्पतालले परिसरमा डेङ्गु हेल्थ डेस्क स्थापना गरी सेवालाई अझ सहज बनाएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “अस्पतालले सोमबारबाट छुट्टै ‘फिवर क्लिनिक’समेत सञ्चालनमा ल्याएको छ, क्लिनिकमा ज्वरो आएका बिरामीलाई छुट्टै कोठामा राखी विशेष जाँच गर्न शुरु गरेको छाँै ।” पछिल्लो समय सो रोगको सङ्क्रमण देशका ४८ जिल्लामा देखा परिसकेको छ । मन्त्रालयका अनुसार रोगको सङ्क्रमणका कारण तीनजनाको अकालमा मृत्युसमेत भएको छ । के हो डेङ्गु डेङ्गु रोग एडिस जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको सरुवा रोग हो । पोथी जातको सो लामखुट्टेको टोकाइको भाइरसबाट सङ्क्रमित भई रोग सर्दछ । विसं २०७६ को वैशाखदेखि हालसम्म छ हजारभन्दा बढी बिरामी भइसकेका जनाइएको छ । प्रायः सो जातको लामखुट्टेले विशेषगरी दिउँसो मात्र टोक्ने गर्दछ । वर्षात्को समयमा शुरु भएपछि सो रोग बढी देखा पर्ने चिकित्सकले जनाएका छन् । ज्वरो आउने, टाउको दुख्ने, आँखाको गेडी दुख्ने, शरीरमा डाबर आउने, अरुचि हुने, जोर्नी तथा मांसपेशी बेस्सरी दुख्ने, पेट तथा आन्द्रामा गडबडी हुने सो रोगका लक्षण भएका सरुवा रोग विशेषज्ञ चिकित्सक बाँस्तोलाले जानकारी दिनुभयो । मुख्यतया लामखुट्टेको टोकाइबाट जोगिनु नै मुख्यरुपमा सो रोगबाट बच्ने उपाय मानिन्छ । पूरा शरीर ढाकिने गरी कपडा लगाउने लामखुट्टेको टोकाइबाट बच्न राति र दिउँसो पनि झुलभित्र सुत्ने, घर वरपर सफा राख्ने पानी जम्न नदिने, पानी राख्ने भाँडाजस्तै पानी ट्याङ्की, ग्रागी, बाल्टिन, ड्रम आदि सधैँ छोपेर राख्ने सुझाव चिकित्सकको छ ।
Categorized in राष्ट्रिय