STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

ठूलो परिमाणमा सालको गोलिया काठ बरामद

Janjati Khabar – Janjati Khabar | २०८० श्रावण ६, शनिबार

काठमाडौं - झापाको मेचीनगर क्षेत्रबाट सशस्त्र प्रहरीले ठूलो परिमाणमा साल जातको गोलिया काठ बरामद गरेको छ। सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण झापाका एसपी देवराज अर्याल नेतृत्वको टोलिले गए राति अन्दाजी ७ सय क्युफिट गोलिया काठ बरामद गरेको हो।

एसपी अर्याल नेतृत्वको टोलीले मेचीनगर– १ स्थित कृष्णथुम्की मन्दिर नजिकैबाट सो परिमाणको काठ बरामद गरेको हो। ‘कृष्णथुम्की नजिकैबाट गाडीका गाडी साल जातको काठ चोरी तस्करी भइरहेको सूचना पाए लगतै सशस्त्र प्रहरी त्यहाँ पुगेको थियो ।

सशस्त्र प्रहरी ‘घटनास्थल पुग्दा एउटा जङ्गल पूरै फडानी गरी काठ लगिरहेको अवस्था फेला परेको सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण झापाका एसपी देवराज अर्यालले जानकारी दिए । उनका अनुसार तस्कर समूहले ट्याक्टरमा लोड गरी लैजाँदै गरेको साल जातको गोलिया काठ सशस्त्र प्रहरीलाई देख्न साथ ट्याक्टर छाडेर भागेका थिए।

सशस्त्रले तत्काल सो ट्याक्टरलाई नियन्त्रणमा लिएर तस्कर समूहको खोजी गर्दा थप एउटा ट्याक्टरसहित काठ फेला परेको एसपी अर्यालले बताए। ‘त्यसपछि कृष्णथुम्की मन्दिर आसपास थप खोजतलास गर्दा अन्य जातको २०० क्युफिट काठ र करिब एक ट्रक साल र अन्य जातको लाथ्रा फेला परेको थियो,’ उनले भने।

सशस्त्र नपुगेको भए तस्कर समूहले सबै काठ लगिसक्थ्यो प्रत्यक्षदर्शीले भने, ‘अहिलेसम्म यस्तो काठ तस्करी देखेकै थिइनँ । तस्कर समूहले साना–ठुला सबै रुख काटिसकेको रहेछ।’ एकै रातमा त्यहाँ घाटगद्दी गरी राखिएको गोलिया काठ गन्तव्यतर्फ पुर्‍याउने तस्कर समूहको योजना रहेछ तर, प्रहरीले त्यसलाई सफल हुन नदिएको उनीहरुको भनाई छ ।

घटनास्थलबाट काठ चोरी तस्करी गर्ने व्यक्ति फेला नपरेपनि नियन्त्रणमा लिएको दुई वटा ट्याक्टर र काठ गरी करिब ४० लाख रुपैयाँ मूल्याङ्कन तोकेर जिल्ला डिभिजन वन कार्यालय झापा बुझाइसकेको एसपी अर्यालले जानकारी दिए ।

यता मेची सब डिभिजन वन कार्यालय मेचीनगरका रेन्जर कुलप्रसाद भट्टराईका अनुसार सशस्त्रले बरामद गरेको काठको विषयमा अनुसन्धान भइरहेको बताए। व्यक्तिगत वा सरकारी होस् साल जातको काठ वनको अनुमति बेगर काट्न पाइँदैन। ‘बरामद गरिएको काठ कृष्णथुम्की मन्दिर पछाडिको जमिनबाट काटेको देखिन्छ,’ उनले भने, ‘सो जमिन कसको हो भन्ने बारेमा हामी अनुसन्धानमै छौँ।’

अनुसन्धान सकिएपछि घटनाको यथार्थ बाहिर ल्याउने उनको भनाई छ।

Categorized in अपराध-दुर्घटना