
ट्रम्पको शपथसँगै आप्रवासीहरुलाई अमेरिकाबाट निकाल्न सुरु
Janjati Khabar – Janjati Khabar | २०८१ माघ १३, आइतबार

काठमाडौं - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शपथग्रहण गरेकै दिन दक्षिणी सीमामा संकटकाल घोषणा गरे । सेना परिचालन गरे । उनी त्यत्तिमै अडिएनन्, त्यो क्षेत्रको सुरक्षा गर्न नसकेको भन्दै कोस्ट गार्ड कमान्डर महिला एड्मिरल लिन्डा फागनलाई हटाए ।
अमेरिकी मिडियाहरुमा ट्रम्पले शपथ लिनुभन्दा अगाडि समाचारहरु आएका थिए- ट्रम्प सरकारले पहिलो दिनबाटै अवैध आप्रवासीहरुमाथि धरपकड गर्नेछ । सिकागोबाट त्यो सुरु हुनेछ । बेलायती विश्व च्यानल बीबीसीलगायतले यो समाचार लेखेका थिए ।
ट्रम्पको शपथग्रहणकै दिन अवैध आप्रवासीहरुलाई धरपकड गरिएका समाचार त आएनन्, तर अब क्रमशः आउन थालेका छन् । शपथग्रहण हुनुभन्दा अगाडि नै सिकागोबाट तत्काल अवैध आप्रवासीहरुलाई पक्राउ गरेर फर्काउने भनिएकोमा अहिले त्यस्तो गरिएको समाचार आएका छन् । न्यूज नेसनका अनुसार अमेरिकी सुरक्षाकर्मीहरुले घरघरमा गएर, ढोका-ढोकामा गएर अवैध आप्रवासीहरुको पक्राउ सुरु गरेका छन् । अवैध आप्रवासीहरुको पक्राउ परेसँगै सिकागोको छरछिमेक क्षेत्रमा क्रमशः ‘घोस्ट टाउन’ बन्न थालेका छन् ।
समाचारमा देखाइएको भिडिओअनुसार विभिन्न अपराधमा संलग्न पाइएका अवैध आप्रवासीहरुलाई हातमा हतकडी र नेल बाँधेर पक्राउ गरिएको छ । सिकागो क्षेत्रबाट २ हजार ४०० जना पक्राउ गरिएका छन् । आइतबार सार्वजनिक समाचार तथा भिडिओअनुसार पक्राउ गरिएकाहरु धेरैजसो ल्याटिन अमेरिकी छन् । पक्राउ गरिएकाहरु इराक र बेलिजका जेलमा परेका अपराधीहरु भएको पनि न्यूज नेसनको समाचारमा दाबी गरिएको छ ।
ट्रम्प सरकारले अवैध आप्रवासीहरुले पक्राउ र फिर्ताको क्रममा असहयोग गर्ने स्थानीय तथा राज्य सरकारका अधिकारीहरुलाई पनि छानबिनको दायरामा ल्याउने बताएको न्यूज नेसनले उल्लेख गरेको छ ।
अवैध नेपाली आप्रवासी कति समस्यामा छन् ?
अमेरिकाका एक करोड बढी अवैध आप्रवासीलाई स्वदेश फर्काउने ट्रम्पको योजना छ । यसमा तीन हजार बढी नेपाली हुने बताइएको छ । आगामी ६ महिनाभित्र तीन हजार बढी नेपालीलाई अमेरिकाले स्वदेश फर्काउन सक्ने बताइएको छ ।
अमेरिकाबाट सञ्चालन हुने नेपयोर्क न्यूज पोर्टलका अनुसार अमेरिकामा सन् २०१५ जुन २४ पछि पुगेकाहरु सबैभन्दा समस्यामा हुनेछन् । उनीहरुको फिर्ती प्राथमिकतामा हुनेछ । उसो त अमेरिकाबाट फर्काइएका नेपालीहरु अबमात्र फर्कन लागेका होइनन् ।
योभन्दा अगाडिको बाइडेन सरकारको पालामा पनि अमेरिकाका अवैध नेपालीहरु स्वदेश फर्काइएका थिए । त्यसरी फर्काइएकाहरुको संख्या पछिल्लो चार वर्षमा १०० बढी भएको उल्लेख छ ।
Categorized in अन्तर्राष्ट्रिय