STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

ज्येष्ठ नागरिकलाई नगदसहित सम्मान

Janjati Khabar – जनजाति खबर | २०७६ आश्विन १५, बुधबार

बागलुङ नगरपालिकाले २८ ज्येष्ठ नागरिकलाई नगदसहित सम्मान गरेको छ । नगरपालिकाले २९औँ अन्तरराष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा २८ नागरिकलाई सम्मान हो । सम्मान कार्यक्रमको वडा नं ७ का अध्यक्ष खगराज पाण्डेयले ज्येष्ठ नागरिकको सम्मान कार्यक्रमको शुभारम्भ गर्नुभएको थियो । प्रत्येक वडाका एक महिला तथा एक पुरुष गरी १४ महिला र १४ पुरुषलाई नगद रु पाँच हजार, दोसल्ला तथा सम्मानपत्रद्वारा सम्मान गरिएको प्रशासकीय अधिकृत भीमबहादुर कुँवरले जानकारी दिनुभयो । “ज्येष्ठ नागरिकलाई हेला होइन, माया गरौँ भन्ने भावनाका साथ प्रत्येक वर्ष सम्मानको कार्यक्रम राखेका छौँ”, कुँवरले भन्नुभयो, “सम्मान प्राप्तपछि ज्येष्ठ नागरिक हर्षित छन् ।” नगरपालिकाले यस वर्ष ज्येष्ठ नागरिक सम्मानका लागि रु दुई लाख विनियोजन गरेको थियो । ज्येष्ठ नागरिक दिवसका अवसरमा नगरपालिकाबाट नगदसहित सम्मान पाउँदा निकै हर्षित भएको ज्येष्ठ नागरिक वडा नं २ का ९७ वर्षीय चन्द्रकुमार श्रेष्ठले बताउनुभयो । ज्येष्ठ नागरिक दिवसका अवसरमा नगरपालिकाको स्वास्थ्य शाखाले वृद्धवृद्धालाई निःशुल्क स्वास्थ्य परीक्षणसमेत गरेको थियो । स्वास्थ्य परीक्षणमा ज्येष्ठ नागरिकहरुको मधुमेह, उच्चरक्तचापलगायतको स्वास्थ्य परीक्षण गरिएको थियो । मानव सेवा आश्रममा रहेकालाई फलफूलसमेत वितरण गरिएको थियो । यस्तै जिल्लाको गलकोट नगरपालिकाले ८५ वर्ष नाघेका पाँच ज्येष्ठ नागरिकलाई रु तीन हजारका दरले चाडपर्व भत्ता वितरण गरेको छ ।
Categorized in राष्ट्रिय