जेठ ३२ सम्म लकडाउन लम्बियो, अब मोडालिटी फरक हुने
Janjati Khabar – जनजाति खबर | २०७७ जेठ १७, शनिबार
काठमाडौं – कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणको लागि गत चैत ११ गतेदेखि लागु गरिएको लकडाउन अब जेठ ३२ गतेसम्म रहनेभएको छ ।
सरकारले कोरोना भाइरसको संक्रमण फैलिन नदिन लकडाउनलाई ३२ जेठसम्म लम्ब्याउने निर्णय गरेको छ । यद्यपि यो अवधिमा लकडाउनको मोडालिटी हेरफेर हुनसक्छ ।
शनिबार बसेको मन्त्रिपरिषद् बैठकले लकडाउनको मोडालिटीबारे कोभिड–१९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिमा छलफल गरी मन्त्रिपरिषद्लाई सिफारिस गर्न निर्देशन दिएको छ । बैठकपछि सरकारका प्रवक्ता एवं अर्थ र सञ्चारमन्त्री डा. युवराज खतिवडाले कोरोनाको जोखिम कम नभएको भन्दै भने, जहाँ जुन क्षेत्रमा जोखिम छ, त्यहाँ कडाई गर्छौं । जहाँ जोखिख कम छ, त्यहाँ केही खुकुलो हुनसक्छ ।’
साथै हवाई उडान र अन्तर्राष्ट्रिय सीमा नाकाको आवागमन असार १६ अर्थात जुन ३० सम्म बन्द गर्ने निर्णय गरेको छ । यो अवधिमा आउजाउमा कडाइ गरिनेछ ।
साथै, मन्त्रिपरिषदको बैठकले कोरोना संक्रमण फैलिएको आवश्यक ठाउँमा सेना परिचालन गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठक अगाडि सुरक्षा परिषद् बैठक बसेको थियो, त्यसमा सीमा सुरक्षाबारे छलफल भएको थियो । सीमामा कडाइ गर्न सशस्त्र प्रहरी र जनपथ प्रहरीलाई अझ बढी परिचालन गर्ने निर्णय भएको छ ।
Categorized in राष्ट्रिय