जिल्लाकै अनुपमस्थल केभहिल विकासको पर्खाइमा
Janjati Khabar – जनजाति खबर | २०७६ मङ्सिर ५, बिहिबार
म्याग्दीको बेनी नगरपलिका–५ गाजनेको धुरीमा अवस्थित केभहिल ऐतिहासिक महत्व र अपार पर्यटकीय सम्भावनाले युक्त हुँदाहुँदै पनि प्रचारप्रसारको अभावमा ओझेल परेको छ ।
‘रामायण’का अनुसार विद्वान् महर्षि पुलस्त्यका नाति तथा विश्रवा ऋषिका छोरा रावणको जन्मभूमि र ऐतिहासिक पर्वत राज्यको राजधानीसमेत रहेको गाजनेको धुरीमा रहेको केभहिल प्राकृतिक सुन्दरता र हिमशृङ्खलाको दृश्यावलोकनका लागि पनि प्रसिद्ध छ । यहाँबाट धौलागिरि हिमाल नजिकबाट अवलोकन गर्न सकिन्छ । मनोरम हिमशृङ्खलाको दृश्य नजिकैबाट नियाल्न पाइनु यस क्षेत्रको अर्को आकर्षण हो । यहाँबाट धवलागिरि, निलगिरि, अन्नपूर्णलगायत १४ हिमाल, पर्वत, बागलुङ, स्याङ्जा र कास्कीका ३० भन्दा बढी ग्रामीण क्षेत्रका साथै म्याग्दी जिल्लाका साबिकका ३६ गाविस प्रत्यक्ष देख्न सकिने स्थानीय बासिन्दासमेत रहनुभएका गैरसरकारी संस्था मिलन म्याग्दीका उपाध्यक्ष शिव बानियाँले बताउनुभयोे ।
चौधौंँ शताब्दीताका तत्कालीन पर्वत राज्यका एकीकरणकर्ता एवं चर्चित राजा डिम्बबम मल्लद्वारा स्थापित जगन्नाथ मन्दिर धार्मिक एवं पर्यटकीय दृष्टिकोणले समेत नेपालभर प्रसिद्ध छ । यो मन्दिर केभहिलको नजिकैमा रहेको छ । बानियाँका अनुसार बेनीबजारदेखि नजिकैको क्षेत्र भनेको पुलस्त्य पुलहाश्रम, ढोल्ठान दरबार, जगन्नाथ मन्दिर रहेको गाजनेको धुरी, टोड्केको धुरीलगायत क्षेत्र नै भएकाले ती क्षेत्रको व्यापकरूपमा प्रचारप्रसार गर्न सक्ने र यी ठाउँको धार्मिक, ऐतिहासिक र पर्यटकीय महत्व बुझाउन सक्ने हो भने नेपाल र भारतका मात्रै होइन, तेस्रो मुलुकका हजारौँ पर्यटक यहाँ आउन सक्ने प्रशस्तै आधार रहेका छन् ।
समुद्री सतहदेखि करीब दुई हजार ४०० मिटर उचाइमा रहेको सदरमुकाम बेनीबजारदेखि करीब डेढ÷दुई घण्टाको पैदलयात्रापछि पुग्न सकिने केभहिल प्राकृतिक सुन्दरता र ऐतिहासिक महत्वले युक्त त छ नै धार्मिक दृष्टिकोणले समेत प्रमुख आकर्षणको केन्द्र बन्न सक्ने जगन्नाथ मन्दिर व्यवस्थापन समितिका अध्यक्ष यामवहादुर बानियाँले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “ऐतिहासिक, धार्मिक र पर्यटकीय महत्व र प्रशस्तै सम्भावनाले युक्त, सदरमुकाम बेनीदेखि नजिकै रहेर पनि यो ठाउँको कहिल्यै प्रचारप्रसार हुन सकेन, यदि राम्रोसँग प्रचारप्रसार गरी सम्बन्धित निकायको ध्यानाकर्षण गर्ने हो भने केभहिल क्षेत्र म्याग्दीको मात्र होइन गण्डकी प्रदेशकै उत्कृष्ट गन्तव्यस्थल बन्न सक्छ ।”
“केभहिलबाट पूर्वोतरतर्फ माछापुच्छ«े, अन्नपूर्ण, निलगिरि र धवलागिरि हिमालका लर्कनहरु आँखैअगाडि ठिङ्ग उभिएको देखिन्छ”, पौलस्त्य पुलह क्षेत्र विकास समितिका अध्यक्ष लीलाबहादुर बानियाँले भन्नुभयो । अध्यक्ष बानियाँका अनुसार केभहिलको नजिकै रहेको धार्मिक दृष्टिले अति पवित्रतम गाजने गाउँ मादक पदार्थ र मांसाहार निषेधित नेपालकै उदाहरणीय गाउँ हो ।
केभहिलबाट करीब आधा घण्टाको दूरीमा रहेको जगन्नाथ मन्दिर भारतको उडिसा राज्यमा रहेको जगन्नाथ मन्दिरकै ढाँचामा निर्माण गरिएको छ । । तीन वर्षअघि पुनःनिर्माण सम्पन्न गरिएको मन्दिरका लागि विसं २०६८ मा महायज्ञ लगाइएको थियो । महायज्ञबाट सङ्कलित रु एक करोड आठ लाखको लागतमा मन्दिरको पुनःनिर्माण गरिएको अध्यक्ष बानियाँले बताउनुभयो ।
शिखर शैलीमा निर्माण गरिएको यो मन्दिरदेखि माथितिरको गाजने धुरीमा रहेको डढेकोट दरबारमा तत्कालीन समयमा भीषण बज्रपातबाट दरबार नष्ट भएपछि ढोलठानामा नयाँ दरबार निर्माण गरिएको इतिहासमा उल्लेख छ । विशाल, बलशाली र समृद्ध चौबिसी राज्यको सर्वाधिक लामो समयसम्म राजधानी रहेको गाजने र ढोलठाना हो भने सहराजधानी हुँदै धेरै पछि मात्र बेनीबजार राजधानी बन्न पुगेको म्याग्दीका इतिहासकार चन्द्रप्रकाश बानियाँद्वारा लिखित ‘ऐतिहासिक पर्वत राज्य’ नामक ग्रन्थमा उल्लेख छ ।
विसं १८४२ मा गोरखा र पाल्पाको संयुक्त फौजले पर्वते सेनालाई पराजित गर्नुअघि पर्वत राज्यको राजधानी ढोलठाना र सहराजधानी बेनीलाई बनाएको “कहिले राजा बेनी बागलुङ, कहिले राजा ढोर” भनेर गाइने यस क्षेत्रको लोकगीतको आधारमा पनि भन्न सकिन्छ । प्रशासनिक दृष्टिकोणले पनि यो स्थान अत्यन्तै महत्वपूर्ण मानिन्छ । अघिल्लो पुस्ताका म्याग्देली कार्यालय प्रमुखले समग्र जिल्लाको दृश्यावलोकनसहित वस्तुस्थिति मूल्याङ्कन यहाँबाट नै गर्ने गरेको स्थानीयवासी वयोवृद्धले बताएका छन् । विशिष्ट व्यक्तित्वले आफ्नो पदबहाली र रमानापूर्व विश्वमहायज्ञस्थलको चरु निधारमा धस्ने र जगन्नाथ मन्दिरको दर्शन गरी मनोकाङ्क्षा पूरा हुने विश्वास प्राचीन समयदेखि आजपर्यन्त मानिँदै आएको पाइन्छ ।
बेनी नगरपालिकाभित्र रहेका टोड्के, जगन्नाथ, पौलस्त्य पुलहाश्रम, जालपा, महारानी, गलेश्वर, ज्यामरुककोट, भकिम्लीको स्वर्गाश्रमजस्ता ऐतिहासिक र धार्मिक महत्वका क्षेत्रको संरक्षण र उपयोगको चाँजोपाँजो मिलाउने अभियानमा बेनी नगरपालिका लागेको नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठले बताउनुभयो ।
“स्थानीय जनतालाई संरक्षणबाट प्राप्त हुने लाभ र संरक्षण नहुँदा हुने नोक्सानीका लागि प्रत्यक्षरूपमा जिम्मेवार बनाएर सचेत गरियो र आवश्यक आधार विकास गर्न सरकारस्तरबाट आर्थिक लगानीको वातावरण बनाइयो भने अवश्य पनि यी सम्पदाले भविष्यमा बेनीवासीलाई मात्र होइन, देशकै पर्यटकीय विकासका सम्भावनामा महत्वपूर्ण योगदान गर्नेछन्”, श्रेष्ठले भन्नुभयो ।
Categorized in राष्ट्रिय


