STC 810x100 adv
nepal invistment new 31
janswastha 11 11 78

जिब्रो छेडेर थिमिदेखि पशुपति सम्म परिक्रमा गरिने

Janjati Khabar | २०८१ भाद्र २८, शुक्रबार

बुधबार येँया पुन्हिको दिन मध्यपुरथिमि नगरपालिका–५ दिगुटोलबाट जिब्रो छेडेर थिमिदेखि पशुपतिनाथ मन्दिरसम्म परिक्रमा गरिने भएको छ । दिगुटोलस्थित दिगु भैरव मन्दिर अगाडि हजारौँ स्थानीयको उपस्थितिमा ४० किलोको ‘महादीप’ बोकेर मध्यपुरथिमिदेखि पशुपतिनाथ मन्दिरसम्म र त्यहाँबाट पुनः मध्यपुरथिमिसम्मको परिक्रमा हुन लागेको हो ।

मध्यपुरथिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले मध्यपुरथिमिको सांस्कृतिक महत्वको यो जात्रालाई सहज रुपमा सम्पन्न गर्न नगरवासी, सुरक्षा निकायका साथै अन्य सम्बद्ध सबै पक्षलाई आव्हान गर्नुभएको छ ।

तीन सय पचास वर्षअघिदेखि जिब्रो छेडेर आयोजना हुँदै आएको परम्परागत यो जात्राका निम्ति आर्थिक सहयोग गर्ने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो । थिमिदेखि पशुपतिसम्मका यात्रामा संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्रीलगायत सहभागी जानकारी आफूलाई प्राप्त भएको नगर प्रमुख श्रेष्ठले बताउनु भयो ।

जात्राका मुख्य व्यक्ति ७१ वर्षीय नायपमा श्यामकाजी श्रेष्ठले जात्रामा १० इन्च लामो सुइरोले जिब्रो छेडेर तीन वटा सियालाई घुमाएर राख्दा पनि रगत नआउने दैवीशक्ति रहेकोे बताउनुभयो ।

गतवर्ष जिब्रो छेडेर पशुपतिनाथसम्मको यात्रा गर्नु भएका मध्यपुरथिमि नगरपालिका–५ चोडेटोल निवासी बालकराम नानीचा श्रेष्ठले दैवी शक्तिको बलमा त्यो पू्रा गरेको जानकारी दिँदै तान्त्रिक शक्तिप्रति बेवास्ता गर्ननहुनेमा जोड दिनुभयो ।

यसअघि २०७५ सालमा जिब्रो छेडेर थिमि घुमेको बालकरामले गतवर्ष जिब्रो छेडेर महाद्धिप बोकेर मध्यपरथिमिदेखि पशुपतिसम्म र पशुपतिबाट मध्यपुरथिमिको बालकुमारीसम्म आएर सियो झिकेर जात्रा सम्पन्न गर्नु भएको थियो ।

येया पुनिहया मेंयः तवनेगु जात्रा व्यवस्थापन समितिका अध्यक्ष चन्द्रभक्त श्रेष्ठले १७ किलो मिटरको यात्रा मध्यपुरथिमिबाट गुह्येश्वरी हुँदै पशुपतिनाथको दर्शनपछि पुनः मध्यपुरथिमिको बालकुमारी आएर सुइरो निकालेपछि जात्रा समापन हुने बताउनुभयो । जात्रामा रु लाख खर्च हुने उहाँको अनुमान छ ।

Categorized in उपत्यका