STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

जर्मनीमा नेपाल नामै नसुनेका पनि कैयन् भेटिए

Janjati Khabar – जनजाति खबर | २०७६ माघ २५, शनिबार

दानदास श्रेष्ठ फ्रान्कफर्ट (जर्मनी)
जर्मनीमा आयोजना भइरहेको विश्वकै सबभन्दा ठूलो व्यापारिक मेलामा मेस्से फ्रान्कफर्टमा नेपालले पनि सहभागिता जनाएको छ । सो मेलामा सहभागी १ सय ७० राष्ट्रबीच नेपालले पनि आफ्नो पहिचान प्रस्तुत गरेको छ । जर्मनीको बाटोघाटोमा नेपालबारे सोधनी गर्दा यसको नामै नसुनेकाहरु पनि धेरै भेटिए । मेलामै प्रदर्शकका रुपमा सहभागी भएका एकजना हङकङवासी र मेलामा दर्शकका रुपमा आएका केही व्यक्तिसँग नेपालबारे सोधनी गर्दा ११ मा ७ जनाले अनभिज्ञता प्रकट गरे । बाँकीले भने निकै नजिकबाट नेपाल नियालेको प्रसंग पनि बाहिर आएको छ । जर्मनीका डा. उलरिकेले नेपालसम्बन्धमा नेपालभाषा विषयमा विद्यावारिधि नै गरेर उपाधि प्राप्त गरेको प्रसंग त हामीसँग छँदै छ । यद्यपि अहिले सन् २०२० मा नेपाल भ्रमण वर्ष मनाइरहेकै अवस्थामा नेपालबारे केही थाहा छैन भन्ने मानिसहरु विश्वस्तरीय मेलामा भेटिनु हाम्रा लागि राम्रो मान्न सकिन्न । तसर्थ कमसेकम राज्य स्तरबाट त्यस प्रकारका विश्व जमघट हुने स्थानहरुमा सहभागिता बढाएर व्यापार व्यवसाय बढाउनुका साथै नेपालको पहिचानलाई व्यापक बनाउनेतर्फ पनि अहम् भूमिका निर्वाह गर्न एक कदम अगाडि बढाउनु अनिवार्य छ भन्न सकिन्छ । नेपालमा भ्रमण वर्ष २०२० मनाउँदै छौं । त्यसैले यस वर्ष कमसेकम नेपाललाई संसारका सबै मानिसबीच परिचित होस् भन्ने कुरामा ध्यान दिनु जरुरी देखिन्छ । मेस्से फ्रान्कफर्टजस्ता विश्वस्तरीय विशाल मेलाहरुमा सहभागिता मात्रले पनि अप्रत्यक्ष रुपमा देश चिनाउने कार्य भएको छ भन्दा अत्युक्ति नहोला । व्यापार व्यवसाय आफ्नो ठाउँमा छँदैछ । विश्वकै १ सय ७० राष्ट्र सहभागी रहेको वृहत् मेलामा नेपालले पनि सहभागिता जनाएर विश्वका माझ राष्ट्रिय झन्डा फहराउने कार्य गरेको छ । नेपालबाट मेस्से फ्रान्कफर्ट एम्बिआन्टे मेला २०२० मा १८ वटा विभिन्न स्टलहरु रहेका छन् । विशेष गरेर नेपालको पश्मिना, फेल्ट, घरेलु कागजी हस्तकलाका सामग्री, धातुका मूर्तिकला प्रदर्शनीमा राखिएको छ ।

(जर्मनीमा भइरहेको अन्तर्राष्ट्रिय मेलामा सहभागिता जनाइरहेका दानदास श्रेष्ठ स्वतन्त्र सञ्चारग्रामका सम्पादक हुन् ।)

Categorized in बिजनेस