STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

जनगणना साउनदेखि सुरु

Janjati Khabar – Janjati Khabar | २०७८ जेठ ३१, सोमबार

काठमाडौं - कोरोना भाइरस (कोभिड १९) महामारीका कारण स्थगित भएको राष्ट्रिय जनगणना कार्यक्रम साउन महिनादेखि सुरु गर्ने गरी विभागले काम अघि बढाएको जनाएको छ ।

तथ्याङ्क विभागका जनगणना शाखा प्रमुख डुण्डीराज लामिछानेका अनुसार कोरोना महामारीको अवस्था असारसम्ममा कम भए सरकारसँग अनुमति लिएर साउनदेखि शुरु गरेर भदौ वा असोज भित्रमा सम्पन्न गर्ने लक्ष्य राखेको छ ।

स्वास्थ्य मन्त्रालयको तथ्याङ्कलाई हेर्ने र सरकारले गर्ने निर्णयका आधारमा गणनाका काम अघि बढाइने लामिछानेले बताए । यसअघि विभागले सुपरिवेक्षक नियुक्त गरी पाँच दिन तालिम दिइसकेको र दुई दिनको तालिम दिन बाँकी छ ।

यता विभागले १२ औं जनगणना गर्न प्रत्यक्ष रुपमा जनतासमक्ष पुग्नका लागि ४३ हजार गणक नियुुक्ति प्रक्रियासमेत साउनबाटै सुरु गर्ने जनाएको छ । गणक नियुक्तिसँगै तालिम दिएपछि तत्काल फिल्डमा खटाएर गणना सुरु गर्ने लक्ष्य राखेको छ ।

महामारीको अन्त्य हुन नसके के गर्ने भन्ने विषयमा विभागले सरकारसँग राय माग गर्ने तयारी सुरु गरेको जनाएको छ । दश÷दश वर्षमा गरिने राष्ट्रिय जनगणना कार्यक्रमको करिव ८५ प्रतिशत काम सम्पन्न गरिसकेको विभागले जनाएको छ ।

यसअघिको कार्यतालिका अनुसार तालिम गोष्ठीलगायत प्रत्यक्ष जनतासँग सम्पर्क हुनुपर्ने कार्यक्रम भएकाले तत्कालका लागि स्थगित गर्ने तथ्याङ्क विभागको अनुरोधमा मन्त्रिपरिषद्ले स्थगित गरेको थियो ।

वैशाख १५ गतेदेखि सुपरीवेक्षकहरुका लागि तालिम दिन सुरु गरे पनि यो तालिम बीचैमा स्थागित भएको थियो । कार्यतालिका अनुसार वैशाख २६ गतेदेखि देशैभरका ४३ हजार गणकहरुलाई तालिम दिने तयारी थियो ।

गणकलाई तालिम दिएपछि तत्कालै जेठ २५ देखि फिल्डमा पुगेर असार ८ गतेसम्म गणना सुरु गर्ने कार्यतालिका थियो । विभागले एक गाउँपालिकामा १० जनासम्म गणक पठाएर गणना गर्नेछ । दश वर्षपछि हुने जनगणना कार्यक्रम मात्र नभएर राष्ट्रिय पर्वको रुपमा लिएर यो कार्यक्रम गर्ने तयारी सरकारको छ ।

Categorized in राष्ट्रिय