STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

छैठौं पुरुष राष्ट्रिय खोखो प्रतियोगिता चैत्र २४ देखि कीर्तिपुरमा, कीर्तिपुरका मेयर रमेश महर्जनद्वारा उद्घाटन हुने

Janjati Khabar – LALENDRA SHAKYA | २०७८ चैत्र २३, बुधबार

नेपाल खोखो संघको आयोजनामा चैत्र २४ गते बिहिबारदेखि छैठौं संस्करणको पुरुष राष्ट्रिय खोखो प्रतियोगिता कीर्तिपुरमा हुने भएको छ ।

आयोजक नेपाल खोखो संघका उपाध्यक्ष एवं प्रतियोगिता संयोजक प्रदीप महर्जनले उक्त खोखो प्रतियोगिता चैत्र २४ गते बिहिबार कीर्तिपुरको बाघभैरब मन्दिर परिसरबाट स्थानीय लोकबाजासंगैं मार्चपास गरी खेलस्थल कीर्तिपुर कभर्ड हल नयाँबजार पुगेपछि उद्घाटनको औपचारिक कार्यक्रम हुने र प्रतियोगिताको उद्घाटन कीर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जनको हातबाट हुने जानकारी दिनुभएको छ ।

नेपाल खोखो संघले उपाध्यक्ष एवं प्रतियोगिता संयोजक प्रदीप महर्जनद्वारा हस्ताक्षरित एक विज्ञप्ति सार्वजनिक गरी खेलको जानकारी दिएका हुन् ।

सार्वजनिक भएको विज्ञप्तिमा भनिएको छ, ‘वि.सं. २०७६ चैत्र ११ गते विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस कोभिड १९ का कारण नेपाल सरकारले पहिलो लकडाउन घोषणा गरेदेखि खेलकुद गतिविधिहरु बन्द भएको थियो । त्यसपछि पनि पटक पटकको लकडाउनले गर्दा त खेलकुद क्षेत्र झनै तहसनहस हुनुका साथं खेलाडीहरु पलायन हुने सम्भावनाहरु बढ्दै गएको र तिनीहरुको मानसिक तनाव समेत बढेको देखिन्छ । यस्तो अवस्थामा नेपाल खोखो संघले पलायन हुनलागेका आफ्ना खोखो खेलाडी, प्रशिक्षक एवं निर्णायकहरुलाई संगठित गरिराख्ने निर्णयका साथ आफ्नै साधन श्रोतले ऐतिहासिक एवं सांस्कृतिक नगरी कीर्तिपुरमा पहिलो पटक छैठौं संस्करणको पुरुष तर्फको राष्ट्रिय खोखो प्रतियोगिता गर्न लागिएको छ । स्मरणीय छ, १३ औं दक्षिण एसियाली खेल अन्तर्गत खोखो खेल यसै ऐतिहासिक नगर कीर्तिपुरमै भएको थियो ।’

उक्त प्रतियोगितामा ७ वटै प्रदेशका ७ वटै टिम र विभागका २ वटा टिमले भाग लिने जानकारी आयोजक संस्था नेपाल खोखो संघले दिएको छ । संघले दिएको जानकारी अनुसार प्रत्येक टिमबाट १२ जना खेलाडी एवं १ जना प्रशिक्षक तथा मेनेजर गरी १३ जनाको सहभागिता रहनेछ । हुनत नियमानुसार प्रत्येक टिमबाट १५ जना खेलाडी एवं प्रशिक्षक, १ टिम व्यवस्थापक साथै सहायक प्रशिक्षक गरी कूल १८ टिम सदस्य हुनुपर्ने हो, टर आर्थिक अभावका कारण ती संख्याहरु घटाउनु परेको जानकारी पनि विज्ञप्तिमार्फत आयोजक संस्था नेपाल खोखो संघले दिएको छ ।

सार्वजनिक भएको विज्ञप्तिमा भनिएको छ, ‘महिला र पुरुष दुबै इभेन्टहरु आयोजना गर्न जम्मा रकम रु. १५,८९,४००/– रुपैंया खर्च हुने अनुमान गरी सो बराबर आर्थिक संकलन गर्ने लक्ष्य संघले राखेता पनि सो अनुसार आर्थिक संकलन गर्न नसक्दा महिला तर्फको इभेन्ट प्रतियोगितामा समाबेश गर्न सकिएन ।’

यो छैठौं राष्ट्रिय पुरुष खोखो प्रतियोगिता लिग कम नकआउटको आधारमा खेलाइने जानकारी विज्ञप्तिमा उल्लेख गरिएको छ । उक्त खेलमा सहभागी टिमहरुलाई दुई समूहमा विभाजन गरी पहिलो चरणको लिगको आधारमा खेलाई प्रत्येक समूहमा उत्कृष्ट दुई/दुई टिमहरुलाई सेमिफाइनलमा प्रवेश दिइने र सेमिफाइनल विजेताहरु फाइनल प्रवेश हुनेछन् भने उपविजेताहरुबीच तेस्रो स्थानको लागि प्रतिस्पर्धा गराइने जानकारी पनि विज्ञप्तिमा उल्लेख गरिएको छ ।

Categorized in खेलकुद