STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

छाडा चौपायाले किसानलाई सास्ती

Janjati Khabar – जनजाति खबर | २०७६ बैशाख १०, मंगलबार

जिल्लाको दिपायल सिलगढी नगरपालिका–४ पिपल्लाका स्थानीयवासी छाडा चौपायाका कारण सास्ती भोग्दै आएका छन् । 
पाकेर काट्नै लागेको गहुँ बाली तथा तरकारी खेती गाई, गोरुले खाएर बाँझो खेतजस्तै बनाइदिने गरेका कारण उनीहरु सास्ती भोग्दै आएका हुन् । “अब त छाडा चौपायाले धेरै दुःख दिन थाले, यिनलाई दिपायलबाट अर्कै ठाउँमा धपाउनु प¥यो”, स्थानीयवासी भन्छन् । 
पछिल्लो समय छाडा चौपायाका कारण सार्वजनिक यातायात सञ्चालनमा समेत चुनौती थपिएको छ । सडकभरि छाडा चौपायाका कारण दुर्घटनासमेत त्यतिकै बढेको छ तर गाइगोरुको न्यायोचित व्यवस्थापन भने हुन सकेको छैन । 
यहाँको सामुदायिक वनमा नगरपालिकाले काञ्जिहाउस बनाएमा छाडा चौपायाको व्यवस्थापन हुने उद्योग वाणिज्य सङ्घ डोटीका अध्यक्ष मोहन कलेलले बताउनुभयो । उहाँले भन्नुभयो, “छाडा चौपायालाई व्यवस्थापन गर्न नगरपालिकाले सामुदायिक वनमा टहरा ९काञ्जिहाउस० बनाउनुपर्छ, जसले गर्दा यहाँको समस्या समाधान हुनेछ ।” 
गाईले दूध दिन छोडेपछि यहाँका स्थानीयवासीले गाई छाडा रुपमा छोड्ने गरेका कारण पिपल्ला बजारमा समस्या भएको दिपायल पिपल्लाका व्यापारी किरण भण्डारीले बताउनुभयो । “दुहुनो गाई छउन्जेल घरमा पाल्ने र दूध खाने, दूध दिन छाडेपछि बजारमा छोड्ने परिपाटीले समस्या भएको छ”, उहाँले भन्नुभयो, “गाई छोड्नेलाई कारवाही हुनुपर्छ ।”
छाडा चौपायाका कारण बेमौसमी तरकारी तथा अन्नबाली पनि जोगाउनै कठिन भएको नेकपाका नेता तेज डुम्रेलले बताउनुभयो । दिपायलको पिपल्ला बजारमा मात्र होइन, अधिकांश सुदूरपश्चिमका बजारमा नै छाडा चौपायाले सबैलाई सास्ती दिने गरेका छन् । यहाँका सडक अहिले छाडा चौपाया मय भएका छन् ।
Categorized in राष्ट्रिय