STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

छत्रपाटी निःशुल्क चिकित्सालयको नयाँ भवन महानगरपालिकाको अनुदानमा बन्ने

Janjati Khabar – विजयरत्न असंबरे | २०७८ भाद्र २४, बिहिबार

छत्रपाटी निःशुल्क चिकित्सालयको नयाँ भवन निर्माणका लागि शिलान्यास भएको छ । आज काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले भवनको शिलान्यास गर्नुभएको छ । त्यस अवसरमा मेयर शाक्यसहित उपमेयर हरिप्रभा खड्गी श्रेष्ठ, वडाध्यक्ष नविन मानन्धर र अस्पतालका अध्यक्ष डा. मनोजमान श्रेष्ठले भूमि पुजन गर्नुभएको थियो ।

छत्रपाटीस्थित गंगालाल मार्गमा रहेको १० आना १ दाम जग्गामा करीब ३५ करोड रुपैयाँ लागतमा नयाँ भवन निर्माण थालिएको यो भवन निर्माणकालागि काठमाडौं महानगरपालिका ले पाँच करोड रुपिंया अनुदान दिने भएको छ । 

शिलान्यास अवसरमा आयोजित कार्यक्रममा बोल्दै मेयर शाक्यले योजनाहरु समयमा कार्यान्वयन नभए व्ययभार थपिनेप्रति सजग हुनुपर्ने तर्फ सचेत हुनु पर्ने बताउनुभयो । महानगरले गएको बर्ष पनि अस्पताल भवनका लागि ५ करोड रुपैयाँ विनियोजन गरेको थियो । पोहोर काम नभएपछि पैसा खर्च गर्न पाइएन । अर्कोतिर यस बर्ष लागत बढेर खर्च थपिएको संकेत गर्दै  उहाँले समयमा काम गर्नोस् । स्तरीय काम गर्नोस् । पैसाको चिन्ता नगर्नोस् भनि भन्नु भयो ।

स्वास्थ्य सेवा नागरिकको मौलिक अधिकार हो । यसको सहज वितरणका लागि काठमाडौँ महानगरपालिकाले लगानी बढाउँदै लगेको छ । कार्यक्रममा उपमेयर हरिप्रभा खड्गी श्रेष्ठले कोविडको रोकथाम, उपचार र नियन्त्रणका लागि सामुदायिक र सरकारी अस्पतालहरुसँग सहकार्य गरेको बताउनुभयो । व्यक्ति निरोगी रहे मात्र सरकारले उपलब्ध गराएका अरु अधिकार प्रयोग हुन्छन् । सेवा भोग्न सक्छन् । त्यसैले सबै अधिकारमध्ये पनि नागरिकलाई स्वास्थ्य सम्बन्धी अधिकारको प्रत्याभूति गराउन आफूहरु प्रयासरत रहेको उहाँको भनाइ थियो ।

समुदायमा स्वास्थ्य संकट भएका बेला यो चिकित्सालयको स्थापना भएको हो । ०१७ सालमा राजनीतिक अस्थिरता भएका बेला भएका झडप बेला घाइते भएकालाई उपचार गर्न यसको उल्लेखनीय भूमिका छ । चिकित्सालयको विगतका बारेमा चर्चा गर्दै वडा १७ का अध्यक्ष नविन मानन्धरले, समुदायलाई अप्ठ््यारो परेका बेला चिकित्सालयले र चिकित्सालयलाई कठिन भएका बेला काठमाडौँ महानगरले सहयोग गरेको बताउनुभयो ।

०७२ सालको भूकम्पको संकट, ०७५ तिर महानगरमा फैलिएको डेङ्गु र त्यसपछि विश्वव्यापी रुपमा फैलिएको कोविडका समयमा चिकित्सालयले स्वास्थ्योपचारमा गरेको योगदान प्रशंसनीय छ भन्ने भनाई वडा अध्यक्ष मानन्धरको रहेको थियो ।

स्वास्थ्योपचारका सबै सेवालाई आत्मनिर्भर बनाउन गरिएको प्रयासका बारेमा चर्चा गर्दै अस्पतालका अध्यक्ष डा. मनोजमान श्रेष्ठले आगामी साताबाट दैनिक १ सय सिलिण्डर अक्सिजन उत्पादन गर्ने क्षमताको प्लान्ट स्थापना गर्न लागिएको जानकारी दिनुभयो । अस्पतालको विकासका लागि काठमाडौँ महानगरको आर्थिक सहयोग एवम् अभिभावकीय साथबाट विकसित हुने मौका पाएको डा. श्रेष्ठको भनाइ थियो ।

अहिले चिकित्सालयमा २४ घण्टै इमर्जेन्सी, शल्यक्रिया, जनरल वार्ड, आइसीयू, भेन्टिलेटर, प्याथोलोजी ल्याबसहित सबै प्रकारका सामान्य र विशेषज्ञ स्वास्थ्य सेवा सञ्चालनमा छन् ।

Categorized in उपत्यका