STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

चार हजार २०० मिटर उचाइमा म्याराथन दौड

Janjati Khabar – जनजाति खबर | २०७५ चैत्र २६, मंगलबार

ओखलढुङ्गामा आयोजित पिके–देम्बा हाफ म्याराथनको उपाधि गोरखाका भीमबहादुर गुरुङ र प्यूठानकी हुमी बुढा मगरले जित्नुभएको छ । करीब चार हजार २०० मिटर उचाइमा रहेको सोलुखुम्बुको पिकेदेखि ओखलढुङ्गाको खिजीफलाटेसम्म भएको हाफ म्याराथनमा पुरुषतर्फ गोरखा जिल्लाका भीमबहादुर गुरुङ र महिलातर्फ प्यूठान जिल्लाकी हुमी बुढामगर प्रथम हुनुभएको हो । एक्काइस किलोमिटरको दूरी गुरुङले एक घण्टा ४९ मिनेट र बुढामगरले दुई घण्टा ४० मिनेटमा पार गर्नुभएको थियो । दुवै जनाले नगद रु ५०–५० हजारसहित प्रमाणपत्र प्राप्त गर्नुभएको छ । पुरुषतर्फ सोलुखुम्बुका सुमन कुलुङ दोस्रो र खोटाङका हेमराज बस्नेत तेस्रो हुनुभएको छ । निर्धारित दूरी कुलुङले एक घण्टा ५३ मिनेट र बस्नेतले एक घण्टा ५९ मिनेटमा पूरा गर्नुभएको थियो । यसैबीच महिलातर्फको म्याराथन दौडमा खिजीदेम्बा गाउँपालिका–३ ओखलढुङ्गाकी कष्णकुमारी भुजेल दोस्रो र मोलुङ गाउँपालिका ओखलढुङ्गाकी छोटी शेर्पा तेस्रो हुनुभएको छ । भुजेलले दुई घण्टा ५२ मिनेट र शेर्पाले दुई घण्टा ५४ मिनेटमा दौड पूरा गर्नुभएको थियो । पुरुष र महिलातर्फ दोस्रो र तेस्रो भएका प्रतियोगीले क्रमशः रु ४० हजार र ३० हजार रुपैयाँ सहित प्रमाणपत्र पाउनुभएको छ । म्याराथनका माध्यमबाट त्यस क्षेत्रको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले ओखलढुङ्गा टुरिजम डेभलपमेन्ट कमिटीले हाफ म्याराथन आयोजना गरेको कमिटीका प्रथम उपाध्यक्ष वाङ्डा शेर्पाले बताउनुभयो । चार हजार २०० मिटर अग्लो सोलुखुम्बुको पिकेदेखि दुई हजार ५०० मिटर उचाइमा रहेको खिजिफलाटेसम्म २१ किलोमिटर हाफ म्याराथन गरिएको उहाँको भनाइ छ । उपाध्यक्ष शेर्पाका अनुसार दौडमा दुवैतर्फ आठौँ स्थानसम्मका प्रतियोगीलाई नगद तथा प्रमाणपत्रले पुरस्कृत गरिएको छ । म्याराथनमा ओखलढुङ्गा, सोलुखुम्बु, खोटाङ, भक्तपुर, प्यूठानलगायत जिल्लाका ९४ महिला तथा पुरुष धावक सहभागी थिए ।
Categorized in खेलकुद