
चलचित्र विकास बोर्डमा अमेरिकी दुतावास नेपालका भिसा प्रमुख ग्रेगोरी डी. सिम्किस
Janjati Khabar – विजयरत्न असंबरे | २०८१ माघ २०, आइतबार

अमेरिकी दुतावास नेपालका भिसा विभागका प्रमुख ग्रेगोरी डी. सिम्किस नेपाल चलचित्र विकास बोर्ड आउनु भई नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीसंग बोर्डको कार्यकक्षमा औपचारिक छलफल सम्पन्न गरेको छ।
अमेरिकी दूतावासका काउन्सिलर टोली समेत उपस्थित रहेको उक्त छलफलमा नेपाली चलचित्रको वर्तमान अवस्था, नेपाल तथा अमेरिकामा आयोजना हुने चलचित्रका अवार्ड एवं सम्मान समारोह तथा चलचित्र कर्मीहरूको अमेरिका भिसा सम्बन्धी विषयमा गहन वार्ता भएको बताइएको छ ।
भिसा प्रमुख ग्रेगोरी डी. सिम्किसले नेपालमा भई आएको फिल्म अवार्डको छनोट प्रकृया, विश्वसनियता र कलाकारहरुले प्राप्त गर्ने सिफारिश पत्रको आधिकारिकता माथि चासो राखेका थिए ।
बैठकमा अध्यक्ष डीसीले नेपाली चलचित्र उद्योगको अन्तर्राष्ट्रिय विस्तार तथा नेपाल अमेरिकाको सांस्कृतिक सम्वन्ध मजवुत पार्नका लागि नेपालका फिल्मकर्मीहरूले अमेरिकामा हुने फिल्म महोत्सव, कार्यशाला तथा अन्य सांस्कृतिक कार्यक्रममा सहभागी हुन सहजता पाउनुपर्ने एवं नेपालमा पनि ठुलो स्तरमा अमेरिकी र नेपाली चलचित्रको विशेष कार्यक्रम गरिनुपर्ने विषय उठान गरिएको थियो ।
भिसा प्रमुख ग्रेगोरी डी. सिम्किसले अमेरिकी दूतावास नेपाली फिल्मकर्मीहरूको भिसा प्रक्रियालाई सहजीकरण गर्न तथा सकारात्मक रहेको बताएका छन्।
चलचित्र विकास बोर्डले नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्न विभिन्न पहल गर्दै आएको छ। सोही प्रयासको एक भागस्वरूप अध्यक्ष डीसीले अमेरिकासँगको सम्बन्धलाई अझ मजबुत बनाउन भिसा प्रक्रियामा थप सहजीकरण आवश्यक रहेकोमा जोड दिएका थिए।
यो बैठकले नेपाली चलचित्रकर्मीहरूको अन्तर्राष्ट्रिय यात्रा सहज बनाउने दिशामा महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।
Categorized in सिनेमा