STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

चलचित्रमा मिडियाको प्रभावबारे अन्तरक्रिया सम्पन्न

Janjati Khabar – विजयरत्न असंबरे | २०८० आषाढ २९, शुक्रबार

चलचित्र पत्रकार संघ नेपालको आयोजनामा शुक्रबार ‘नेपाली चलचित्रमा मिडियाको प्रभाव’ बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। काठमाडौंमा आयोजना गरिएको सो कार्यक्रममा चलचित्र विकास बोर्डका सदस्य के.एल बुढाथोकी, चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौला, नायिका केकी अधिकारी, निर्देशक तथा कलाकार दीपाश्री निरौला, निर्देशक नवल नेपाल र पत्रकार तथा निर्देशक नेपाल टेलिभिजनका महाप्रबन्धक फूलमान बलले अाआफ्ना विचारहरु राखेका थिए ।

निर्देशक नवल नेपालले चलचित्र पत्रकार र कलाकारहरु दुबैले एक अर्कालाई जस्तो व्यवहार गर्यो त्यस्तै व्यवहार आफूलाई पनि आउँछ भन्ने बुझ्नु पर्ने बताए । उनले, मिडियाले फिल्म क्षेत्रमा योगदान पुर्याएका पुराना कलाकर्मीहरुलाई पनि सम्झनु पर्ने आवश्यकता औल्याए । यस्तै, नायिका केकी अधिकारीले नेपाली फिल्म क्षेत्रमा मिडियाको प्रभाव बलियो रहेको बताइन् । उनले –‘नेपाली फिल्म क्षेत्रका अहिलेका अब्बल निर्देशकहरु पनि पत्रकारिता गर्दै नै आएका हुन् । फिल्मको विकासमा मिडियाको प्रभाव बलियो छ । तर, मिडियाले विश्वसनियताको कुरालाई पनि गुमाउन हुदैन । पाठकमा मिडियाप्रति विश्वास भएन भने त्यसले प्रभाव पार्न सक्दैन ।’ भन्ने विचार पोखिन् ।

निर्देशक तथा कलाकार दीपाश्री निरौलाले अहिले पनि फिल्मीकर्मी र पत्रकारको सम्बन्ध नङ र मासुको जस्तै भएको बताइन् । उनले, अहिले प्रत्येक मानिस नै मिडिया जस्तो भएको भन्दै पत्रकारहरुले गहिराइमा पुगेर समाचार सम्प्रेषण गर्नुपर्ने तर्क गरिन् । उनले, पहिले पहिले आफू अन्तरवार्ता दिन भनेपछि उत्साहित हुने गरेको तर अहिले मिडियाको प्रश्न बन्दुक सोझ्याए जस्तो लाग्न थालेको सुनाइन् । उनले भनिन्–‘पहिले पहिले कलाकारहरुलाई मिडियाले टिकाउने गर्थे । तर, अहिले विकाउने गर्छन् । पहिले अन्तरवार्ता आउँदा अरुलाई सुनाउन मन लाग्थ्यो । अहिले लुकाउन मन लाग्छ । यसैले, मिडियाले सत्य तथ्य वुझेर लेखिदिए हामीलाई बाच्न सजिलो हुन्थ्यो ।’

चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलाले अहिले पूर्वाग्रही ढंगबाट समाचार आउने गरेको भन्दै पीडामा परेका चलचित्रकर्मि बारे मिडियाले सत्यतथ्य बुझेर समाचार लेखिदिएको खण्डमा चलचित्रकर्मिले न्याय पाउने तर्क गरे । उनले, पेशाकर्मीहरुको परिचय हलबाट एउटा र मिडियाबाट अर्को रुपमा जाने भन्दै मिडियाको प्रभाव नेपाली फिल्ममा सबैभन्दा बढी भएको बताए ।

पत्रकार तथा निर्देशक फूलमान बलले मिडियाकर्मी र फिल्मीकर्मीबिच दुरी परिस्थितीले सिर्जना गरेको बताए । उनले भने–फिल्म क्षेत्र आफैमा व्यवसायिक छैन भने मिडिया पनि कसरी व्यवसायिक हुन सक्छ र ? हामी एउटा फिल्म राम्रो बन्यो भन्दैमा फिल्म क्षेत्र नै उभो लाग्यो भन्न सक्दैनौं । यसैले, सबैभन्दा पहिला फिल्म क्षेत्रलाई नै विकास गर्नका लागि सबैले लाग्न आवश्यक छ ।’

निर्देशक बलले अब कुनै पनि कलाकारलाई स्टार बनाउनमा कुनै मिडिया हाउसले भन्दै पनि कुनै एक पत्रकारले सक्ने तर्क गरे । फिल्मीकर्मी र पत्रकारहरुबिच आत्मियता भएकै कारण आज पनि दुरी खासै नबढेको उनको भनाई थियो । चलचित्र विकास बोर्डका सदस्य के.एल वुढाथोकीले फिल्म क्षेत्रको विकासमा मिडियाले दबाब सिर्जना गर्नुपर्ने आवश्यकता औल्याएका थिए ।

चलचित्र पत्रकार संघ नेपालका केन्द्रिय कार्यक्रम उपाध्यक्ष कुवेर गिरीको अध्यक्षतामा आयोजित कार्यक्रममा मिडियाकर्मी र फिल्मीकर्मीले एक अर्कासँग दुरी बनाएर अगाडि जानै नसक्ने बिषयमा अधिकांश वक्ताले भनाई राखेका थिए । चलचित्र पत्रकार संघ नेपालका अध्यक्ष समिर बलामीले संघले हरेक महिना एउटा बिषयमा अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने बताए ।

Categorized in सिनेमा