चलचित्रकर्मीहरुलाई विशिष्ट श्रेणीको परिचय-पत्र प्रदान
Janjati Khabar – Janjati Khabar | २०८१ मङ्सिर ५, बुधबार
गौरी मल्ल र सरोज खनाल लगायत ७२ जना विशिष्ट घोषित
नेपाल सरकार सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गतको चलचित्र विकास बोर्डबाट प्रदान गरिएको विशिष्ट चलचित्रकर्मि परिचय पत्र बुधवार एक कार्यक्रमको बीचमा प्रदान गरिएको छ । बुधवार आयोजित कार्यक्रममा ७२ जना विभिन्न विधामा रही लामो समयदेखि योगदान दिंदै आएका चलचित्रकर्मीहरु लाई यसरी परिचय पत्र प्रदान गरिएको हो । सुचना, सचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङ तथा संचार सचिव राधिका अर्यालको आतिथ्यतामा आयोजित एक विशेष समारोहमा कलाकारहरुलाई उक्त परिचयपत्र प्रदान गरेका थिए ।
विशिष्ट श्रेणीको चलचित्रकर्मीको छनोटका लागि चलचित्र विकास बोर्ड सदस्य राजु खत्री क्षेत्रीको संयोजकत्वमा छनौट समिति बनाइएको थियो । केहि समय यो समितिको संयोजकमा खेतुलाल बुढाथोकि समेतले कार्य गरेका थिए ।
परिचयपत्र प्राप्त गर्ने चलचित्रकर्मीहरुमा फिल्म निर्माता, निर्देशक, कलाकार, प्रावधिक छन् । यसरी परिचय पत्र प्राप्त गर्नेहरुमा अग्रज अभिनेत्री गौरी मल्ल लगायत प्राविधिकहरुमा श्रृंगारकर्ता सन्तु तामाङ्ग र अशोक रोक्का , निर्माण नियन्त्रक बालदिप राइ अनि निर्देशकहरुमा अाकाश अधिकारी , राजेन्द्र उप्रेती र विजयरत्न तुलाधर लगायत रहेका छन् । कार्यक्रममा विशिष्ठ श्रेणीको चलचित्रकर्मी परिचयपत्र प्राप्त गरेका कलाकार रामचन्द्र अधिकारीलाई औषधि उपचार बिमा बापतप्राप्त रकमको चेकसमेत हस्तान्तरण गरिएको थियो ।
विकास बोर्डले यसभन्दा अघि २०७३ बैशाख ७ गते नीर शाह , यादव खरेल लगायत १३ जनालाई र असार १६ गते राजेश हमाल समेत गरी २३ जना गरी जम्मा ४० जनालाई प्रदान गरेको थियो । त्यस पछि २०७९ असार १६ गते ६२ जनालाई प्रदान गरिएको थियो भने यसपालि ७२ जनालाई प्रदान गरिएको छ ।
कार्यक्रममा पटकथा संग्राहलयको समुद्घाटन गर्दै केकी अधिकारी, दिपेन्द्र लामा, दिपाश्री निरौला, दिपेन्द्र के खनाल, किरण नेपाली र दिपा बस्नेतले आफ्ना फिल्महरु क्रमशः बोक्सीको घर, नाङ्गो गाउँ, छक्का पञ्जा ५, चिसो मान्छे, दुई नम्बरी र अन्तरालको पटकथा सञ्चारमन्त्रीलाई हस्तान्तरण गरेका थिए ।
विकास बोर्डका अध्यक्ष दिनेश डिसीले नेपालमा बनेका सबै फिल्मको पटकथा संग्राहलयमा राख्ने बताउँदै देशभरीका सिनेमा हल महिलामैत्री तथा ह्वीलचियर फ्रेण्डली बनाउन लागिएको समेत जानकारी गराए ।
कार्यक्रममा कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले चलचित्र क्षेत्रको विकासमा २४ घण्टा कार्य गर्न तयार रहेको बताए । मन्त्री गुरुङले समाजमा परिवर्तन ल्याउनका लागि नियम, कानून र ऐन परिवर्तन गर्नुपर्ने बताएका छन् । बुधवार चलचित्र विकास बोर्डले आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले अहिलेसम्म बनेका नीतिहरु सबै परिवर्तन गरेर समाजलाई अगाडि लैजानु पर्ने बताए ।
साथै उनले कलाकारहरुले पनि कलाको माध्यमबाट समाजलाई दिग्दर्शनतर्फ ल्याउन मद्दत पुर्याउने बताए । उनले संगीतको माध्यमबाट पनि समाजमा भैरहेका नराम्रा गतिविधिहरुलाई समेत न्युनिकरण गर्न सकिने बताए । ‘कलाकारहरुले पनि कलाको माध्यमबाट समाजलाई दिग्दर्शनतर्फ ल्याउन मद्दत पुर्याउँछ, साथै संगीतको माध्यमबाट पनि समाजमा भैइरहेका नराम्रा गतिविधिहरुलाई समेत न्युनिकरण गर्न सकिन्छ,’ मन्त्री गुरुङको भनाइ छ ।
Categorized in सिनेमा