STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

चराङमा च्याङ्ग्रा फार्म सञ्चालन

Janjati Khabar – जनजाति खबर | २०७६ मङ्सिर २३, सोमबार

च्याङ्ग्राका पाठापाठी र पश्मिना उत्पादन गर्न कृषि तथा पशुपक्षी विकास मन्त्रालयले मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा च्याङ्ग्रा फार्म सञ्चालनमा ल्याएको छ । स्थानीयस्तरमा गठित फार्म सञ्चालन समितिका अध्यक्ष माया विष्टका अनुसार अहिले फार्ममा ३०० च्याङ्ग्रा रहेका छन् । चार जना कर्मचारी कार्यरत रहेका छन् । “फार्म सञ्चालन गर्न स्थानीयस्तरमा उपभोक्ता समिति गठन भएको छ”, अध्यक्ष विष्टले भन्नुभयो, “च्याङ्ग्राको रेखदेखमा कर्मचारी छन् । हामीहरुले समन्वय र सहयोग गरेका छौँ ।” भेटेरेनरी अस्पताल तथा पशु सेवाकेन्द्र म्याग्दीका प्रमुख नारायण कुसुमका अनुसार हिमाली क्षेत्रका चरनमा घुम्ती गोठमा पालिँदै आएका च्याङ्ग्रालाई एकै स्थानमा पाल्न सकिने विषयमा परीक्षण गर्न पनि फार्म सञ्चालनमा ल्याइएको जानकारी दिनुभयो । अहिले तारबार गरिएको खुला ठाउँमै च्याङ्ग्रा पालिएको छ । भवनमा पाल्दा च्याङ्ग्रा बिरामी पर्न थालेपछि खुला ठाउँमा छानिएको केन्द्रले जनाएको छ । फार्म सञ्चालन गर्न बेनी–जोमसोम–कोरला सडकअन्तर्गत चराङखण्ड नजिकै तीन रोपनी जग्गा व्यवस्थापन गरिएको छ । च्याङ्ग्रालाई दिनमा चरनका लागि खर्कमा लगिने साँझ फार्ममा झारिने गरिन्छ । च्याङ्ग्राको पाठापाठीसँगै ऊन उत्पादन गर्ने फार्मको ध्येय रहेको छ । ऊन पश्मिना ९कपडा० बनाउन प्रयोग गरिन्छ । हिमाली क्षेत्र र चिसो ठाउँमा पश्मिनाको कपडा प्रयोग हुन्छ । साथै नेपालबाट विदेशमा निकासी हुने सामानमा पश्मिना पनि एक हो । पर्याप्त जग्गा जमिन, चरनक्षेत्र र अनकूल हावापानी भएका आधारमा फार्मका लागि चराङ छानिएको प्रमुख कुसुमले जानकारी दिनुभयो । हिमाली हावापानीमा पालिने च्याङ्ग्राको मासुको माग उच्च छ । मुस्ताङ, डोल्पा, मुगु, हुम्ला, जुम्लालगायत हिमाली जिल्लामा च्याङ्ग्रापालन हुन्छ । दशैँ र तिहारको समयमा हिमाली क्षेत्रका कृषकले पालेका भेडाच्याङ्ग्रा बिक्रीका लागि म्याग्दी, कास्की, बागलुङ, पर्वत, स्याङ्जा, तनहँु, चितवनका साथै काठमाडौँमा खपत हुने गर्दछ ।
Categorized in राष्ट्रिय