STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

घरेलु चप्पल उद्योगबाट रु ४५ हजार कमाइ

Janjati Khabar – जनजाति खबर | २०७६ आषाढ ३, मंगलबार

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मास्थित अजम्बरीटोलका राजन विश्वकर्माले घरमै चप्पल उद्योग सञ्चालन गर्नुभएको छ । वैदेशिक रोजगारीका क्रममा विसं २०५४ देखि साउदी र कतारमा दुई दशकभन्दा बढी समय बिताउनुभएका ४३ वर्षीय उहाँले अहिले उक्त उद्योगबाट मासिक रु ४५ हजारभन्दा बढी कमाउन थाल्नुभएको छ । आफ्नै घरमा उद्योग सञ्चालन गरेपछि अहिले सबैको हौसलासमेत मिलेको विश्वकर्माको भनाइ छ । “उद्योगबाट घरमै राम्रो आम्दानी गर्न शुरु गरेको छु”, उहाँले भन्नुभयो, “आफन्तबाट टाढिएर विदेशमा पुगेर कमाउनुभन्दा घरैमा कमाउनु स्वर्गीय आनन्द हुँदोरहेछ ।”“अहिले वास्तविक कमाइको अनुभूति भएको छ”, विश्वकर्माले भन्नुभयो, “उद्योगबाट उत्पादित चप्पल दिक्तेलबजारलगायत अन्य बजारमा बिक्रीका लागि पठाउने गरेको छु ।” छ महीना ‘ग्यारेण्टी’ भएको समृद्धि बहुआयामिक उद्योग नामको चप्पलरु ९० देखि रु १५० सम्म थोक मूल्यमा बिक्री गर्ने गरिएको उहाँले बताउनुभयो । जिल्लाकै पर्यटकीयस्थल ‘रुपाकोट’, ऐतिहासिकस्थल ‘दिक्तेल’ र ‘साथी’ नामको ‘ब्राण्ड’ दिइएको चप्पल बजारमा पाइने अन्य चप्पलभन्दा सस्तो छ । आफूले उत्पादन गरेको चप्पल अन्य पालिकाहरुमा समेत पठाउने तयारी गरिएको विश्वकर्माले जानकारी दिनुभयो । करीब तीन महीनाअघि शुरु गरिएको उद्योगबाट अहिले दैनिक १५० जोरभन्दा बढी चप्पल उत्पादन हुने गरेको जनाइएको छ । विश्वकर्माका भाइ गङ्गाबहादुर विश्वकर्मासँगको सहकार्यमा रु पाँच लाख लगानी गरेर सञ्चालन गरिएको चप्पल उद्योग गतआइतबार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख दीपनारायण रिजालले उद्घाटन गर्नुभएको थियो । नगरप्रमुख रिजालले विश्वकर्माको मिहेनतले अरूलाई समेत हौसला मिलेकाले समृद्ध नगर बन्नमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । “विश्वकर्मा दाजुभाइले आफ्नै क्षेत्रमा उद्योग सञ्चालन गरेर नगरपालिकामा उदाहरणीय व्यक्ति बन्नुभएको छ”, उहाँले भन्नुभयो, “औद्योगिक क्षेत्रको विस्तार नै नगर समृद्धिको पूर्वाधार भएकाले नगरपालिकाका तर्फबाट सकेको सहयोग हुनेछ ।” विश्वकर्माको चप्पल उद्योगलाई नमूना उद्योगका रुपमा विकास गर्नुपर्ने उद्योग वाणिज्य सङ्घका जिल्ला अध्यक्ष उपिनकुमार राईले बताउनुभयो । यसका लागि नगरपालिकालगायतले सहयोग गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
Categorized in राष्ट्रिय