घरभाडा प्रकरण : घरधनी प्रधान रिहा, उनकाे रिहाइकाे लागि सडक प्रदर्शन
Janjati Khabar – Janjati Khabar | २०७८ आषाढ ९, बुधबार
जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले जाहेरीकर्ता रुपा सुनारको यथेष्ट प्रमाण नभएको भन्दा मुद्धा फिर्ता गरेको छ । सुनारको जाहेरीपछि ३ दिन थुनामा बसेकी प्रधान रिहा भएर घर फर्केकी छिन् । उनलाई छुटाउन शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ पनि पुगेका थिए ।
यसअघि बबरमहलकी स्थानीय सरस्वती प्रधानलाई रिहाइ गर्न माग गर्दै सडक प्रदर्शन भएको छ । बुधबार काठमाडौंको बबरमहलमा स्थानीय र नेवार समुदायका विभिन्न संघ संस्थामा आवद्ध व्यक्तिहरुले सडक प्रदर्शन गरेका हुन् ।
प्रधान निर्दोष रहेको र उनलाई फसाउन खोजेको भन्दै यल जातीय समाजका २० सदस्य समाजहरु, नेपालभाषा मंकाः खलः, नेवाः देय् दबू, नेवाः ग्वाहालि पुचःलगायतका प्रतिनिधि र स्थानीय घरधनीले बिरोध गरेका हुन् ।
प्रदर्शनकारीले घरधनी प्रधानले जातीय विभेद गर्ने उद्देश्यले कोठा नदिएको बताउँदै आफ्नो घरमा बस्न आएको मान्छेको चालचलन, पेशा, व्यवसाय बुझ्न मात्र कुराकानी गरेको दावी गरेका छन् । घरसल्लाह नगरी कोठा दिन नसक्ने बताउँदैमा जातीय विभेद नभएको उनीहरुले बताएका छन् ।
सञ्चारकर्मी समेत रहेकी रुपा सुनारले आफूलाई जातीयताका आधारमा कोठा भाडामा नदिएको आरोपमा उजुरी गरेपछि प्रहरीले बबरमहलकी घरधनी प्रधानलाई पक्राउ गरी मुद्दा चलाएको थियो ।
Categorized in उपत्यका

