गैससलाई नियमन गर्छौँ ः मन्त्री बाँस्कोटा
Janjati Khabar – जनजाति खबर | २०७६ बैशाख २२, आइतबार
नेपाल सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले नेपालको सार्वभौमिकसत्ता खलबल्याउने गतिविधि हुन थालेकाले गैरसरकारी संस्थालाई नियमन गर्न लागिएको बताउनुभएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री बाँस्कोटाले काभ्रेपलाञ्चोकस्थित गैरसरकारी संस्था महासङ्घ नेपालको १६औँ वार्षिक साधारणसभा तथा ८औँ जिल्ला अधिवेशनलाई आज धुलिखेलमा सम्बोधन गर्दै केही गैससका गतिविधिले नेपालको सार्वभौममाथि खतरा पर्ने देखिएपछि नियमन गर्न लागिएको बताउनुभयो ।
उहाँले भन्नुभयो,“बाह्य सहयोग स्वीकार्नुपर्छ तर नेपालको अखण्डता र सार्वभौमिकतामा आँच पुग्ने काम गर्न पाइँदैन ।” उहाँले सरकारको उद्देश्य गैससलाई नियमन गर्ने नै भएको उल्लेख गर्दै पारदर्शी तवरले काम गर्न गैससलाई कसैले नरोक्ने बताउनुभयो ।
“बाह्य सहयोग कति हार्डवेरमा, कति सफ्टवेयरमा लेखाजोखा हुनुपर्छ”, उहाँले भन्नुभयो, “हामी गैससलाई एउटै डालोमा पनि राख्दैनौँ, छलफल गरौँला, नीति कानून बनाउने बेलामा तपार्इँहरुको सुझावको अपेक्षा गर्छौँ ।” रेडक्रस जस्तो पवित्र संस्थामा समेत ‘हिनामिना’ देखिएपछि सबैलाई विश्वास गर्न सक्ने वातावरण नभएको उहाँले जिकिर गर्नुभयो ।
मन्त्री बाँस्कोटाले सामाजिक सञ्जाल पनि निमयन हुनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “निर्वाचनको स्वच्छतामाथि प्रश्न उठेपछि फेसबुकका जन्मदाताले आफैँले नियमन गर्नुपर्दछ भनेका छन्, यसप्रति गम्भीर हुनु आवश्यक छ ।” उहाँले लोकतन्त्रमा छाडातन्त्र हावी हुन सक्ने खतरा बढेकाले सामाजिक सञ्जाल नियमन गर्नुपर्ने बताउनुभयो ।
दिगो विकास लक्ष्य ९एसडीजी०का १७ उद्देश्यमध्ये सुख एउटा महत्वपूर्ण पाटो भएकाले सरकारको अभियानमा समृद्धि थपिएको उहाँको धारणा थियो । मन्त्री बाँस्कोटाले विकासमा सत्तापक्ष र प्रतिपक्षको साझेदारी रहनुपर्ने बताउनुभयो । “तर चारतारा र लालतारा मिलेर अंशबण्डा गर्नुपर्दैन”, उहाँले थप्नुभयो ‘‘एउटा सानो घर होस्, एउटा गाई होस्, भन्नेजस्ता नेपालीलाई सुखी बनाउने नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री बिपीका कुरा अब वर्तमान प्रधानमन्त्री केपीले पूरा गर्दै हुनुहुन्छ ।”
मन्त्री बाँस्कोटाले फरक प्रसङ्गमा ‘बालुवाटार प्रकरण सन्त नेताबाटै शुरु भएकाले’ प्रतिपक्षले यसका विषयमा ठूला भाषण गर्दा स्वयंलाई अप्ठेरो पर्ने जिकिर गर्नुभयो । वैदेशिक रोजगारीको आकर्षणसँगै ‘तेल भिसा’ले परिवार बिखण्डनतिर जाने खतरा बढेकाले यसप्रति सरकार सचेत बन्दै गएको उहाँले बताउनुभयो ।
सो अवसरमा मन्त्री बाँस्काटाले गैसस काभे्रपलाञ्चोकका पूर्वअध्यक्ष कृष्णचन्द्र आचार्य र शङ्खबुद्ध लामालाई सम्मान गर्नुभएको थियो । नेकपाका जिल्ला नेता रीता ढकाल, नेपाली काङ्गे्रसका नेता दिनेश लामा, गैसस महासङ्घका केन्द्रीय अध्यक्ष जीतराम लामा, नेपाल पत्रकार महासङ्घ जिल्ला अध्यक्ष मोतीराम तिमल्सिनाले अधिवेशन सफलताको शुभकामना दिनुभएको थियो ।
Categorized in राष्ट्रिय