STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

गुठी विधेयक फिर्ता लिन माग

Janjati Khabar – जनजाति खबर | २०७६ जेठ २७, सोमबार

प्रतिनिधिसभाको आजको बैठकमा सत्ता र प्रतिपक्षका सांसदले सरकारले संसद्मा दर्ता गराएको गुठी विधेयकको विरोध गर्दै फिर्ता लिन माग गर्नुभएको छ । 
सभामुख कृष्णबहादुर महराले सभाको आजको बैठक शुरु गर्ने बित्तिकै प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सांसदहरुले आइतबार माइतीघरमा शान्तिपूर्ण विरोध गर्दा गुठियारमाथि भएको दमनको विरोध गर्दै आफ्ना आसनबाट उठेर विरोध जनाउनुभएको थियो । 
  त्यसपछि सभामुख महराले काँग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणलाई बोल्ने समय दिनुभयो ।
 प्रमुख सचेतक खाँणले आइतबार माइतीघर मण्डलामा धर्म संस्कृतिको संरक्षणको माग गर्दै संविधानबमोजिम शान्तिपूर्ण विरोध प्रदर्शन गर्न पाउने अधिकारको उपहास भएको बताउनुभयो ।
“संविधान विपरीत बारम्बार विधेयक किन आउँछ रु राम्रोसँग संविधान अध्ययन गरेर विधेयक ल्याइयोस्, गुठीको अस्तित्व समाप्त गर्ने नियमप्रति हाम्रो गम्भीर आपत्ति छ, सनातन धर्म संस्कृतिको संरक्षण होस्”, उहाँले भन्नुभयो ।
सत्ता पक्ष नेकपाकी सांसद पम्फा भुसालले आइतबार माइतीघर मण्डलामा भएको दमनको विरोध गर्नुभयो । गुठी विधेयक फिर्ता गरी सहमतिका साथ नयाँ विधेयक ल्याउन उहाँले माग गर्नुभयो । 
“रातो मच्छिन्द्रनाथ जस्ता एक हजार ७०० वर्ष पुराना गुठीको संरक्षण हुनुपर्छ, विधेयकमा आएको व्यवस्था ठीक छैन, यसमा सहमतिको प्रयास होस्”, सांसद भुसालले भन्नुभयो ।
नेपाली काँग्रेसका पुष्पा भुसालले उपत्यकामै दुई हजारभन्दा बढी गुठी रहेकाले संविधानको गलत व्याख्या गरेर गुठी जग्गामा धावा बोल्न खोजिएकामा आपत्ति जनाउनुभयो । लिच्छविकालदेखि चलिआएको धर्म संस्कृति संरक्षणका लागि गुठीको अस्तित्व मास्नु नहुने उहाँको भनाइ थियो ।
  
पहिले र अहिलेको गुठी विधेयकमा तात्विक फरक छैन ः मन्त्री अर्याल 
सांसदले उठाउनुभएका प्रश्नको जवाफ दिँदै भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले संविधानमा उल्लेख भएका कुरालाई व्यवस्थित एवं एकरुपता प्रदान गर्न गुठीलाई प्राधिकरणमा लैजान खोजिएको बताउनुभयो । 
“हिजो र आजको गुठी विधेयकमा तात्विक फरक छैन, संविधानलाई सम्बोधन र कार्यान्वयनबाहेक धर्म संस्कृति मासिने गरी विधेयक आएको छैन, कसरी पारित गर्ने माननीयहरुको हातमा छ, परिष्कृत गर्न सरकार तयार छ, सांसदहरुले सनातन धर्म संस्कृति मासिने जुन चिन्ता जाहेर गर्नुभएको त्यस्तो हुन दिँदैनौँ”, उहाँले भन्नुभयो ।  
 
संविधानको एउटा धारा र अनुसूची हेरेर निष्कर्ष निकाल्नु नहुने उल्लेख गर्दै मन्त्री अर्यालले धारा २९० लाई टेकेर नै विधेयक ल्याएको स्पष्ट पार्नुभयो । गुठी अधीनस्थ जग्गामा मोहियानी हक लाग्ने प्रक्रिया विसं २०४१ देखि शुरु भएको सुनाउँदै उहाँले गुठीसँग जोडिएका किसानको हकलाई स्थापित गर्ने विषय पनि विधेयकमा भएकाले सन्देह नगर्न आग्रह गर्नुभयो । 
मन्त्री अर्यालको जवाफपछि पनि सन्तुष्ट नभएका प्रमुख प्रतिपक्षी दलका सांसदले उठेर विरोध जनाइरहनुभएपछि १५ मिनेटका लागि सभाको बैठक स्थगित गरिएको छ ।
Categorized in राष्ट्रिय