STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

गाईजात्रा (तायाःमचा) नृत्यमा युवा आकर्षित

Janjati Khabar | २०८० भाद्र १५, शुक्रबार

लेखनाथ ,१५ भदौ स् नेवार जातिको संस्कृति तायाःमता नृत्य  (गाईजात्रा )  पर्वप्रति नेवारी युवाको आकर्षण बढ्दै गएको छ । संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले पोखरामा नेवार समुदायका एक हजार युवा यो पर्वमा सहभागी हुन थालेका हुन् ।

नेवाःखलका जिल्ला अध्यक्ष अशोक पालिखेले तीन–चार वर्षयता नेवारी संस्कृतिप्रति युवाको चासो र सक्रियाता बढेको बताउनुभयो । पाँच वर्षअघिसम्म पोखराका सात–आठ स्थानमा हुने तायाः मचा नृत्य अघिल्ला वर्ष ३३ स्थानमा हुन थालेको उहाँले जानकारी दिनुभयो ।

“जनैपूर्णिमाको भोलिपल्ट हुने तायाःमचा नृत्यप्रति युवाको आकर्षण स्वतस्फुर्त बढ्दै गएको छ”, अध्यक्ष पालिखेले भन्नुभयो, “युवालाई संस्कृतिप्रति आकर्षित गर्न पछिल्ला वर्ष तायाःमचा नृत्यलाई प्रतियोगिताको रूपमा विकास गरी आकर्षक पुरस्कारको व्यवस्था पनि गरिएको छ ।” पोखरामा नेवाःखलले विसं २०५६ देखि यस नृत्यलाई व्यवस्थित र सङ्गठितरुपमा सञ्चालन गर्दै आएको छ ।

‘आफ्नो भाषा, संस्कृति र सभ्यताको संरक्षण र संवद्र्धन गरौँ’ भन्ने मूल नारासहित सो संस्थाले तायाःमचा नृत्यलाई पोखराको पर्यटनसँग जोड्न सुरु गरेको अध्यक्ष पालिखेले बताउनुभयो । पोखरामा देखाइने यो नाच अवलोकनका गर्न पर्वत, बागलुङ, म्याग्दी, मुस्ताङ, लमजुङ, मनाङ, स्याङ्जा, तनहुँलगायत जिल्लाबाट पनि मानिसहरू आउने गरेको गरेका छन्

“यो नृत्यमा विदेशीसमेत उत्सुकताका साथ अवलोकन गर्नाका साथै  सहभागी पनि हुने गरेका छन्”, अध्यक्ष पालिखेले भन्नुभयो, “राज्यका तर्फबाट पनि यस्ता संस्कृतिको संरक्षण हुन जरुरी छ ।”
नेवार समुदायमा अघिल्लो वर्ष परिवारका सदस्यको मृत्यु भएमा उनीहरूको संझनामा  गाईलाई सिँगारेर र कुनै एक जनालाई  जोगीको भेषमा सजाएर  यस्तो प्रदर्शन गरिन्छ । गाईले मृतात्मालाई बैतरणी पार्न सहयोग गर्छ भन्ने मान्यता नेवार समुदायमा रहँदै आएको छ ।

नेवारी संस्कृतिका जानकार तथा संस्कृतिकर्मी कृष्णबहादुर श्रेष्ठका अनुसार गाईजात्रा मनाउनुको मुख्य उद्देश्य गाईको सिङले यमलोकको ढोका खोल्दछ र मृत व्यक्तिको आत्मा त्यसभित्र प्रवेश गर्न पाउँछ भन्ने मान्यता रहँदै आएको छ ।
राजा प्रताप मल्लले पुत्रशोकले विह्वल भएकी रानीलाई दुनियाँले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन ‘जनतालाई आ–आफ्नो घरका मरेका व्यक्तिका नाममा गाईजात्रा निकाली सहर परिक्रमा गराउनू’ भनी आज्ञा दिएकाले यो पर्व सुरु भएको बताइन्छ । यति गर्दा पनि रानी शोकबाट मुक्त हुन नसकेपछि विभिन्न प्रकारका व्यङ्ग्यात्मक कार्यक्रमसमेत गराउन आदेश दिएपछि हास्यव्यंग्यको चलन सुरु भएको जनश्रुति छ ।

एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा आजका दिन मानिसलाई गाईका रूपमा सिँगारी आ–आफ्नो क्षेत्रमा परिक्रमा गराउने र उनीहरूलाई दूध, फलफूल, रोटी, चिउरा, दही खुवाउने गरिन्छ । गाईजात्रा नेवार समुदायको सत्रौँ शताब्दीदेखि चलिआएको प्रथा हो । यसलाई गाईको पूजा  एवं हाँसो र ठट्टाको पर्वका रुपमा पनि चिनिने गरिएको जानकारी पोखरा–९ महेन्द्रपुल निवासी रवीन्द्र माकाजुले दिनुभयो ।

संस्कृतिकर्मी अष्टमान प्रधानाङ्गका अनुसार गाईजात्रा मनाउने क्रममा वर्षभरि ज्यान गुमाएका आफन्तको सम्झनामा विम्ब खडा गर्ने परम्परा छ । केटा मर्दा केटाको लुगा र केटी मर्दा फरिया डोकोमा बेरेर गाईको चित्र र त्यसमा परालको सिङ गुथेर सिन्दूर, टीका र मालाले पूजा गरिन्छ र सहर घुमाउन लैजाने चलन छ ।
पोखरामा नेवार समुदायको बसोबास रहेको भिमसेनटोल, भैरवटोल, रामकृष्णटोल, बाघबजार, मोहरियाटोल, वगालेटोल, रानौपौवा, महेन्द्रपुल, पालिखेचोक, गणेशटोललगायत ठाउँमा गाईजात्रा मनाइने र तायाःमचा नृत्य प्रतियोगितासमेत गरिँदै आइएको छ । त्यसबाहेक गाईजात्राका क्रममा १८ शताब्दीदेखिका विभिन्न नाच देखाउने गरिएका र तीमध्ये कतिपय लोप हुने अवस्थामा पुगेकोले त्यसको संरक्षणका लागि विशेष ध्यान दिइनुपर्ने संस्कृतिकर्मी अष्टमान प्रधानाङ्गले बताउनुभयो । पृथ्वीनारायण शाहले राज्यगर्नुभन्दा पहिले पोखरामा नेवार समुदाय भक्तपुरबाट आएर बसोबास  गरेको र हाल पोखरामा नेवार समुदायको सङ्ख्या २५ हजारको हाराहारीमा रहेको छ । रासस

Categorized in साहित्य-कला