STC 810x100 adv
janswastha 11 11 78

गथांमुगः पर्व मनाइयो

Janjati Khabar – Janjati Khabar | २०७९ श्रावण ११, बुधबार

काठमाडाैं - प्रत्येक वर्ष श्रावणकृष्ण चतुदर्शीका दिन मनाइने गथांमुगः अर्थात् घण्टाकर्ण मंगलबार राजधानीको भित्री सहरमा मनाइएको छ ।

चाडपर्वमध्ये सबैभन्दा जेठो मानिएको गथांमुगः अथवा घण्टाकर्ण पर्व संस्कृति पर्वअनुसार विशेष गरी राजधानीको भित्री भागका नेवार समुदायले मनाएका हुन् । राजधानीको भित्री सहरका साथै नेवार समुदायको बाहुल्यता रहेको सहर बजारमा पनि यो पर्व मनाइएको छ ।

परापूर्वकालदेखि मनाइँदै आएको यस पर्वमा गथांमुगः नाम गरेको नरभक्षी राक्षस मारिएको सम्झना स्वरुप बिहान हरियो नर्कट, निगालो अथवा गहुँको छवाली मिसाएर तीनखुट्टे राक्षसको स्वरुप बनाइ दोबाटो र चौबाटोमा उभ्याउने चलन छ ।

संस्कतिविद् तेजेश्वरबाबु ग्वंगःले दोबाटो र चौबाटोमा दिनभर राखिने गथांमुगः बेलुकी भने खेतमा लगेर बाल्दा धानमा कीरालगायत रोग नलाग्ने विश्वास रहेको बताउनुहुन्छ । गथांमुगःलाई स्थान एवं ठाउँ विशेषअनुसार कसैले भने नदी वा खोला किनार लगी जलाउँछन् ।

यसैगरी बिहानै स्नान, पूजापाठ गरी घर, आँगन सफा गरिने, केटाकेटीले बाटोमा डोरी टाँगेर पैसा (जगात) माग्ने र राति राँको बाली उक्त राक्षसको प्रतीक जलाउने गरिन्छ । गोपाल वंशावलीअनुसार गथांमुगःलाई सत्व, रज, तमोगुण मानेर भैरवका प्रतीकका रुपमा लिइन्छ ।

यसलाई नवविवाहित स्त्री पुरुषले दर्शन गर्नुपर्ने चलन छ । यस्तो परम्परा अहिले पनि राजधानीका तीनै सहर काठमाडौँ, ललितपुर र भक्तपुरको भित्री भागमा चलनमा छ । साेही दिन विभिन्न धातुबाट बनेका औँठी किनेर लगाएमा नकारात्मक तत्वबाट शरीरलाई रक्षा गर्ने विश्वाससमेत छ ।

Categorized in उपत्यका
Newa Online Adv