STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

गठबन्धन पाँच वर्षसम्म : गगन थापा

Janjati Khabar – Janjati Khabar | २०७९ मङ्सिर १, बिहिबार

काठमाडाैं- आसन्न निर्वाचनमा काठमाडौँ निर्वाचन क्षेत्र नं ४ चासोका साथ हेरिएको क्षेत्र हो । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापा र नेकपा (एमाले) पोलिटब्यूरो सदस्य राजन भट्टराई मुख्य प्रतिस्पर्धी छन् । थापाले आफूलाई भावी प्रधानमन्त्रीका रुपमा समेत घोषणा गरेकाले यस क्षेत्रप्रति सबैको चासो बढेको छ ।

मङ्सिर ४ गते हुने निर्वाचनमा थापा र भट्टराई दुवै जनाले आफ्नो जित सुनिश्चित भएको भन्दै आ–आफ्नै अडानमा छन् । यसअघि २०७४ सालको निर्वाचनमा तीन हजार चार सय १८ मतान्तरले भट्टराईलाई हराएका थापाले अहिले गठबन्धनका कारण आफ्नो जित सुनिश्चित भएको दाबी गर्छन् । विसं २०७४ को निर्वाचनमा भट्टराईलाई वाम गठबन्धन (एमाले र माओवादी केन्द्र)को साथ थियो । तर यसपटक थापालाई माओवादी केन्द्रसहित एमालेबाट फुटेको एकीकृत समाजवादीलगायतका दलको समर्थन छ ।

बुधबार कपनमा मतदातासँग मत माग्दै गर्दा भेटिएका सत्ता गठबन्धनका साझा उम्मेदवार थापाले आफ्नो जित सुनिश्चित भएको बताए । यसअघिका निर्वाचनमा आफूप्रति मतदाताको उत्साह अझै पनि उत्तिकै कायम रहेको उनकाे भनाइ छ । “मतदाताले स्थानीय पूर्वाधार निर्माणका विषय ठाउँअनुसार उठाउनु स्वभाविक हो, तर बन्दै गरेको सहर हो”, उनले भने, “केही समयअघि केही क्षेत्रमा देखिएको सडक र खोपानीको समस्या अहिले धेरै हदसम्म समाधान भइसकेको छ ।”

थापाले यस क्षेत्रका मतदाताले आफूसँग स्थानीय आवश्यकताका साथै मुलुकको चिन्ता व्यक्त गरेको बताए । “उनीहरूसँग अन्तरक्रिया गर्दा अहिलेको निर्वाचनसँगै देशको स्थितिलाई जोडेर कुरा गर्नुहुन्छ”, थापाले भने । आसन्न निर्वाचनमा विजयी भएपछि आफू कांग्रेसको संसदीय दलको नेतामा प्रतिस्पर्धा गर्ने उनकाे भनाइ छ ।

आफूनो योजना आफ्नो निर्वाचन क्षेत्रको विकाससँगै सरकारको नेतृत्व गर्न पाएँ भने के गर्ने भन्नेमा पनि रहेको उनले बताए । “संसदीय दलको नेता छान्दै गर्दा दलको घोषणापत्र लिएर चुनाव लड्नु परोस भन्ने हो”, उनले भने, “त्यसैले संसदीय दलको नेता लड्दै गर्दा मैले पाँच वर्षमा के कस्ता काम गर्ने हो घोषणापत्र नै लिएर जान्छु ।” उम्मेदवार थापाले सत्ता गठबन्धनको निर्वाचन प्रणालीको कारणले गर्दा निर्वाचनपछि पनि गठबन्धनका दलसँग मिलेर जानुको विकल्प नभएको बताए ।

सत्ता गठबन्धनको सरकार बनेमा क्षमतालाई मूल्याङ्कन गर्नुपर्नेमा जोड दिँदै उनले भने, “क्षमता मूल्याङकन गर्न सकेनौँ भने २०४८ मा एकल बहुमत प्राप्त गर्दा पनि सरकार चलाउन नसक्ने अवस्था आउनसक्छ ।” गत निर्वाचनमा पनि नेकपा एमालेसँग पनि बहुमत भएर पनि सरकार चलाउन नसकेको उनकाे भनाइ छ । थापाले सत्ता गठबन्धनको जितपछि नेपाली कांग्रेसले सरकारको नेतृत्व गर्ने दाबी गरे। “ठूलो दलका रुपमा नेपाली कांग्रेसले सरकारको नेतृत्व गर्छ, तर पार्टीभित्रै पनि आफ्नै विधि, विधान, परम्परा छ । हामीले पहिला आफ्नो दलको नेता छान्नुपर्छ ।”

Categorized in राजनीति