STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

गगन थापासँग आयाेगले माग्याे स्पष्टीकरण

Janjati Khabar – Janjati Khabar | २०७९ कार्तिक १२, शनिबार

काठमाडाैं- निर्वाचन आचारसंहिता कार्यान्वयनमा कडाईकासाथ अनुगमन गर्दै आएकाे आयाेगले नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापासँग पुनः स्पष्टीकरण साेधेकाे छ ।

प्रतिनिधि सभा सदस्यका काठमाडौं क्षेत्र नं.४ का उम्मेदवार गगनकुमार थापालाई पुनः स्पष्टीकरण सोधेको छ । आयोगद्वारा मिति २०७९ कात्तिक ८ गते डेंगीविरुद्ध अभियान किन चलाएको भनी सोधिएको स्पष्टीकरणमा अझै पनि त्यस्तो अभियान चलाउने भन्ने वक्तव्य दिएको श्रव्य दृश्य सामग्री आयोगमा प्राप्त भएकाले पुनः स्पष्टीकरण सोधिएको हो ।

निर्वाचन आचारसंहिता, २०७९ को दफा ४, सबैले पालना गर्नुपर्ने आचरणमा ‘‘कुनै प्रकारले निर्वाचनको स्वच्छता वा निष्पक्षतालाई प्रभावित गर्ने गरी कुनै कार्य गर्न नहुने’ व्यवस्था रहेको छ ।

प्रतिनिधि सभा सदस्यको निर्वाचनमा उम्मेदवार रहेको व्यक्तिले कानुनको खिलाफ हुनेगरी कुनै काम गर्छु भनी वक्तव्य दिनुहुँदैन भन्ने विषयको जानकारी तपाईँलाई छैन भनी आयोग विश्वस्त हुन सक्दैन– स्पष्टीकरण पत्रमा भनिएको छ ।

काठमाडौँ क्षेत्र नं. ४ मा प्रतिनिधि सभा सदस्यको उम्मेदवार रहनुभएको तपाईँले पुनः निर्वाचन आचारसंहिताको विपरीत हुनेगरी सार्वजनिक वक्तव्य दिई मतदातालाई प्रभावित गर्ने कार्य गर्नुभएको देखिएकाले यो पत्र तपाईँलाई कुनै माध्यमबाट प्राप्त भएको २४ घण्टाभित्र आफैँ वा आफ्नो प्रतिनिधिमार्फत निर्वाचन आयोग नेपालमा प्राप्त हुने गरी देहायका विषयमा स्पष्टीकरण पेस गर्न भनिएको छ ।

स्पष्टीकरण पत्रमा भनिएको छ, निर्वाचनको सम्मुखमा तपाईँले अभियान चलाउँछु भने जस्तै अन्य उम्मेदवारले पनि वक्तव्य दिँदै हिँडेमा निर्वाचनको स्वच्छता र निष्पक्षतामा प्रतिकूल असर पर्छ, पर्दैन ? निर्वाचनका प्रक्रियाहरू अगाडि बढिसकेको तथा निर्वाचन आचारसंहिता लागू भइसकेको अवस्थामा विपद् तथा महामारी आइपरेमा सरकारले आयोगको सहमतिमा कार्यक्रमहरू ल्याउन सक्ने नै व्यवस्था रहेको हुँदा तपाईँ किन जानाजान रूपमा निर्वाचन आचारसंहिताको उल्लङ्घन गर्न उद्यत हुनुभएको हो ?

आयोगले यसअघि नै दल तथा सम्बद्ध पक्षलाई ६० बुँदेसमेतका निर्देशन दिइसकेको अवस्थामा निर्वाचन आचारसंहिताको उल्लङ्घनमा तपाईँलाई निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ को उपदफा (३) र (४) बमोजिमको कारबाही किन हुनु नपर्ने हो ? स्पष्टीकरणमा भनिएको छ ।

त्यसाे त आयाेगले माओवादीका अध्यक्ष प्रचण्ड,एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल लगायतका नेताहरुसँग स्पष्टीकरण साेधिसकेकाे छ । 

Categorized in राजनीति