STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

गएकाहरु पार्टीमा फर्किन परेको छैन : प्रचण्ड

Janjati Khabar – Janjati Khabar | २०७७ फाल्गुण २८, शुक्रबार

बुटवल - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले साविकको नेकपामा ओलीतिर लागेका नेताहरुलाई फकाउन नलाग्ने बताएका छन् ।

साविकको नेकपा दुई खेमामा विभाजित हुँदा माओवादी पृष्ठभूमिका रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह, मणि थापालगायतका नेताहरु प्रधानमन्त्री केपी शर्मा ओलीतिर लागेका थिए । सर्वोच्च अदालतले पार्टी एकता नै खारेज गरेपछि उनीहरु माओवादी केन्द्रमा फर्किएका छैनन् ।

शुक्रबार बुटवलमा अगुवा कार्यकर्तालाई सम्बोधन गर्दै प्रचण्डले उनीहरुलाई फकाउन नलाग्ने बताएका छन् । ‘अरु त अरु, दुई जना मान्छे नभएकालाई स्थायी समिति बनाएको त अहिले मन्त्री’ प्रचण्डले अघि भने, ‘के गरेँ भनेर अहिले आफ्नै आत्मसमीक्षा गर्न थालेको छु । त्यस्तालाई भन्दा दृढतापूर्वक लड्ने र प्रचण्ड बनाउन भूमिका खेल्ने आफ्नै साथीहरुलाई भरोसा गरेको भए यो दिन देख्न पर्दैनथ्यो नि भन्ने महसुस भएको छ ।’

साथै उनीहरुलाई फकाउन मन लाग्न छाडेको उनले सुनाए । कतिपयले तपाईंले फकाउने हो भने फकिन्छन् नि भनेर सुनाउने गरेको भन्दै प्रचण्डले भने, ‘भो ती फर्किन परेको छैन, उतै बसे हुन्छ । यहाँ आएर रोए भने म पग्लिन्छु भन्ने डर छ ।’

माधव नेपालहरुले एमाले कब्जा गर्नुहुन्छ

‘प्रचण्ड’ले माधवकुमार नेपालहरुले एमाले कब्जा गर्ने वा विद्रोह गर्ने अवस्था आउने दाबी गरेका छन् । संसद विघटनपछि नेकपा विभाजित हुँदा प्रचण्ड र माधव समूह एकातिर भएका थिए । तर सर्वोच्च अदालतले नेकपा खारेज गरेर एमाले र माओवादी केन्द्र ब्युँताएपछि माधव नेपालहरु एमालेमा छन् भने प्रचण्डहरु माओवादी केन्द्रमा ।

तर माधव नेपालहरु अहिले पनि कम्युनिस्ट एकताका लागि पहल गर्नुपर्छ भन्नेमा रहेका प्रचण्डले बताए । शुक्रबार बुटवलमा अगुवा कार्यकर्तालाई सम्बोधन गर्दै प्रचण्डले एमालेका नेताहरुलाई पार्टीमा तानेर ल्याइहाल्ने हतार नगर्न निर्देशन दिए ।

उनले एमाले यही स्थितिमा रहन नसक्ने दाबीसमेत गरे । ‘या त माधवजीहरुले छिट्टै एमाले कब्जा गर्ने र केपी ओलीलाई हटाउने स्थिति हुन्छ,’ माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भने, ‘होइन भने माधवजीहरुले विद्रोह गर्ने स्थिति बन्छ ।’माधव नेपालहरुले एमालेबाट विद्रोह गरे मिलेर आन्दोलनकारी शक्ति बनाउने उनले बताए । यद्यपि अहिले आफूहरुको जोड पार्टीलाई संगठित गर्ने र आफ्नै खुट्टामा उभिने भनेको उनले बताए । त्यसका लागि अब आफू पनि काठमाडौंमा कम बस्ने, जिल्ला–जिल्लामा जाने उनले सुनाए ।

Categorized in राजनीति