STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

खोजिहिँड्ने भीमबहादुरले के पाउनुभो सय वर्षमा ?

Janjati Khabar – जनजाति खबर | २०७६ चैत्र ३, सोमबार

‘शुभकामना, शान्ति, समानता, एकता र नेपालको गुमेको जमिन फिर्ता हुनुपर्छ ।’ कोही नयाँ व्यक्तिसँग भेट हुने बित्तिकै यही बाक्यबाट शुरु हुने रहेछ उहाँको वार्ता । उहाँ अर्थात भीमबहादुर थापा । तर उहाँलाई नेपाली समाजले चिन्ने नाम हो ‘खोज बाजे’ । उमेरले १०० पुग्नै लागेका उहाँले नेपालमा ‘खोजी’ गरेको चार दशक नाघिसक्यो । यति लामो खोजीबाट के पाउनुभयो त ? यो प्रश्नको जवाफ भने उहाँसँग छैन । “यो खोज अभियान कुनै पनि विषयवस्तुको वास्तविकता पत्ता लगाउन र सतही नबन्न आम मानिसलाई सन्देश हो । म त राजनीति, जागिर छोडेरै खोज अभियानमा लागेँ । मुलुकका ७७ वटै जिल्ला पुगेर खोज अभियानको प्रचार पनि गरेँ । युवापुस्तालाई कसैको पिछलग्गु नबनी वास्तविकता खोज्न मैले यो अभियानबाट प्रेरित गर्न खोजेको हो । कुनै विषयको गहिराइसम्म पुगेर खोजी गरे कसैको सतही कुराको पछि लाग्न पर्दैन ।” उहाँको भनाई छ । हरेक व्यक्तिको मनले हरपल केही न केही खोजिरहेकै हुन्छ । मानिसको सर्वाधिक खोजीको विषय हुनसक्छ सुख, शान्ति, समृद्धि, सुरक्षित भविष्य आदि । सयवर्षे उमेरका भीमबहादुर थापाको खोजी अहिले पनि जारी नै छ तर त्यो सुख र उहाँको आफ्नो व्यक्तिगत समृद्धिका लागि भने होइन । अहिले भने उहाँले नेपालको मिचिएको सीमा फिर्ता गर्न कुनै सरकारले सार्थक प्रयास किन नगरेको होला भनेर मनमनै खोज्नुभएको छ । देशको सिमाना मिचिँदा पनि किन कुनै सरकारले सार्थक प्रयास गरेनन् ? “मैले पनि खोजिरहेको छु र यसको खोजीमा लाग्न युवापुस्तालाई आह्वान पनि गर्दछु” उहाँ भन्नुहुन्छ । यस्तै खोजी उहाँले बिजुलीको पोल, भित्ता, पर्खाल, ढुङ्गा या यस्तै ठाउँमा गर्दै आउनुभएको छ । चोक, भित्ता र यस्तै ठाउँमा कालो अक्षरले ‘खोज’ लेखिएको देखिन्छ, जुन खोजी उहाँले नै गर्नुभएको हो । कम्युनिष्ट राजनीतिमा लाग्नुभएका थापा २०३५ सालदेखि वितृष्णा जागेर खोज अभियानमा लाग्नुभएको हो । कम्युनिष्ट पार्टी पनि काँग्रेसजस्तै बन्दै गएको भन्दै महसुस भएपछि राजनीति छोडेर खोज अभियानमा लागेको उहाँले सुनाउनुभयो । विसं १९७७ वैशाख २६ गते सिन्धुलीको खुर्कोटमा जन्मिनुभएका थापाले आफू खोज अभियान चलाउन नै जन्मिए जस्तो लाग्ने बताउनुहुन्छ । उहाँले खोजी गरेको स्थानमा अरू केही लेख्नुहुन्न, ‘खोज’ मात्र लेखेर छोड्नुहुन्छ । त्यस अभियानलाई प्रचारप्रसार गर्न थापाको झोलामा हम्मर, छिनो, इनामेल, ब्रस तथा आवश्यक अन्य सामग्री छन् । यसरी भित्तामा लेखिएको र ढुङ्गामा कुँदिएको खोज अभियान उहाँले नै लेख्नुभएको जागरणमूलक र सन्देशमूलक नारा हो । “अहिले तपाईँसँग कुरा गरिरहँदा पनि मेरो मनले केही न केही खोजिरहेकै छ, मनले जे कुरा खोजेको हुन्छ, पछि त्यो खोज्न म भौतिक रुपमै लाग्छु” उहाँले भन्नुभयो । “तर यो एउटा ‘खोज’ शब्दले के खोजिएको हो भनेर कसरी बुझ्ने त ? उहाँको जवाफ छ “होइन मानिस सतही छ, उसलाई अझै धेरै जान्नुपर्नेछ, त्यसैले जीवन र जगत्का धेरै कुरामा खोजी गर्नु जरुरी छ, मानिसले हरचिज खोजेर पाउन सक्छ, तर खोज्नुपर्छ ।” कम्युनिष्ट पार्टीको राजनीतिमा सक्रिय थापा विसं २०३२ मा जेल पर्नुभयो । सिन्धुलीबाट थापालाई दोलखाको चरिकोट जेल चलान गरियो । छ महिनापछि जेलबाट छुटेपछि उहाँलाई सिन्धुलीका तत्कालीन प्रमुख जिल्ला अधिकारीले भूमिसुधार कार्यालयमा जागिर पनि दिनुभयो । दुई महिनासम्म सरकारी जागिर खाए पनि उहाँको मन त्यहाँ रमाएन । किनकि थापाको मनले खोज गरिरहेको थियो । उहाँको मनले खोज अभियानलाई विस्तार गर्दा नै खुशी अनुभव ग¥यो । उहाँ भन्नुहुन्छ “शोषक र सामन्तका विरुद्ध अभियान चलाउन मैले छिनो र घनको झण्डा बोकेर हिँड्ने गरेको हुँ ।” एकथरीले सिन्को नभाँची मोजमस्ती गर्ने र अर्काथरीले दिनभर घोटिँदा पनि साँझ बिहान हातमुख जोर्न नपुग्ने अवस्थाबाट दिक्क भएर थापा शोषक सामन्तविरोधी अभियानमा लाग्नुभएको हो । निमुखाको पसिना चुस्नेका विरुद्ध आफ्नो खोज अभियान शुरु भएको र अहिले पनि जारी रहेको उहाँले सुनाउनुभयो । “राष्ट्रवादको नारा दिएर चुनावमा बलियो जनमत ल्याएको वर्तमान सरकारले कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्र भारतले आफ्नो नक्सामा राखेर सार्वजनिक गर्दा पनि केही गर्न नसकेको देख्दा मन रुन्छ, यस्ता कुरामा युवाले खोज अभियान चलाउनुपर्छ, विज्ञले मन्त्रीलगायत सरकारी कार्यालयमा बनाएर दिएको नक्सासमेत हरायो भन्ने खबरले गम्भीर आशङ्का जन्माएको छ” समसामयिक विषयलाई खोज अभियानसँग जोड्दै उहाँले भन्नुभयो । “खोजका सम्बन्धमा थापाको परिभाषा सरल छ ‘‘बतास लागेर रुखका हाँगा भाँच्चियो, नदी बेस्सरी बगिरहेको छ, आगो किन बल्यो ? चिसो किन भयो ? खोजी ग¥यो भने थाहा हुन्छ । नेपालमा पनि धेरै खोज दार्शनिक छन् र छैनन् भन्नेले कुन ढुङ्गामा आगो छैन खोज्नुपर्छ ? त्यसको प्रष्ट जवाफ दिन सक्नुपर्छ, मन, पवन, नयन रोकेर आफैँभित्र तथ्यवस्तु खोज्नुपर्छ, अध्ययन, सिद्धान्त र व्यवहारको तालमेल मिलाएर खोज्नुपर्छ, यसैबाट सबैकुरा बुभिन्छ, मानिसले दर्शन बुझ्ने र भेट्टाउने तरिका नै यही हो” उहाँ भन्नुहुन्छ । सय वर्षको उमेरमा पनि खोज अभियानमै सक्रिय हुनुहुन्छ थापा । जैविक भएकाले मानिस बुढो हुनसक्छ तर मन र दर्शन कहिल्यै बुढो हुँदैन उहाँ भन्नुहुन्छ । के घाम, पानी, हावा पनि बुढो र पुरानो हुन्छ ? उहाँको प्रश्न छ । मानव मुक्तिका लागि खोजी अभियान जारी राख्नुपर्ने थापाको सुझाव छ । खोजले नै श्रम गरिखानेलाई गौरवमय जीवन बिताउन दिने उहाँको ठम्याइ छ । राजनीतिक अधिकार प्राप्त भएपछि मात्र अन्य विषय खोज्न सकिने भएकाले आफू जीवनको शुरुको मोडमा राजनीतिक अधिकारका लागि लागेको उहाँले बताउनुभयो । पूर्णरुपमा राजनीतिक अधिकार प्राप्त भएको वर्तमान सन्दर्भ गहिरिएर खोज गर्नेका लागि उपयुक्त समय भएको थापाको ठम्याइ छ । विषयवस्तुको विश्लेषण गर्नसक्ने चेतना मानिससँग भएकाले कुनै पनि विषयको जरामै पुगेर खोज गर्न उहाँले नयाँ पुस्तालाई प्रेरित गर्नुभएको छ । अबका चिन्तक स्रष्टाले आफैँभित्र लुकेको सत्यकुरा खोजी गरेर जनतामा दिनुपर्नेमा खोज अभियानकर्मी थापाले जोड दिनुभयो । उहाँको अभियानलाई नजिकबाट नियालिरहनुभएका पूर्वमन्त्री एवं सांसद हरिबोल गजुरेल दृढ भएर जेलनेलसमेत सही खोजलाई स्थापित गराउनुभएको बताउनुहुन्छ । “खोज अभियानलाई समूह बनाएर संस्थागत रुप दिनुभएको भए अझ राम्रो हुने थियो, रुपचन्द्र विष्टले ‘थाहा’ अभियानलाई समूह बनाई संस्थागत रुप दिएजस्तो खोज अभियानलाई पनि अघि बढाइनुपर्छ” उहाँले भन्नुभयो । रुपचन्द्र विष्टले विसं २०३० तिर ‘थाहा’ आन्दोलन शुरु गर्नुभएको थियो । त्यसको केही वर्षमै थापाले पनि खोज अभियान शुरु गर्नुभयो । थापाको खोज अभियानप्रति सद्भाव देखाउने धेरै भए पनि समूह बनाएर संस्थागत रुप भने अझै दिइएको छैन । वरिष्ठ पत्रकार हरिहर विरही ग्रामीण क्षेत्रमा जागरण फैलाउन खोज अभियानले महत्वपूर्ण योगदान गरेको सुनाउनुहुन्छ । “मुलुकको राजनीतिक र सामाजिक अवस्था कहालीलाग्दो भएका बेला नागरिक चेतना जगाउन खोज अभियानले ठूलो साहस प्रदर्शन गरेको छ, यसले सिन्धुलीको खुर्कोटबाट देशभरका जनतालाई प्रेरित गरेको छ, १०० वर्षको उमेरसम्म पनि खोज अभियानलाई जारी राख्नु दुर्लभ उदाहरण हो” उहाँले भन्नुभयो । खोज अभियानले सामाजिक भेदभाव हटाई समाजमा समानता र स्वतन्त्रताका लागि महत्वपूर्ण योगदान गरेको छ । निरङ्कुश शासन व्यवस्थाका बेला ग्रामीण भेगसम्म सञ्चारमाध्यमको पहुँच थिएन । भित्ता र ढुङ्गामा लेखिएका खोज अभियानका जानकारीले पनि जनता सुसूचीत भएको सम्झनुहुन्छ वरिष्ठ पत्रकार विरही । प्रहरी र प्रशासनबाट लुकेर लेखिने खोजका सूचनाले जनतामा खुलदुली जगाएको थियो । पञ्चायतकालको खोज अभियानले सञ्चार क्षेत्रको विकासमा समेत योगदान गरेको तथ्यलाई समेत नकार्न नसकिने उहाँको भनाइ छ । अभियानकर्मी थापा जो मानिस भेटे पनि जनसम्पर्क स्थापित गरी खोजलाई विस्तारित गर्नुहुन्थ्यो । उहाँले समाजप्रतिको आफ्नो निष्ठालाई खोज अभियानका माध्यमबाट प्रकट गर्नुभयो । कुनै पनि विषयको गहिराइमा नपुगी सतही रुपमा धारणा बनाउने या कुनै विषयमा अभिव्यक्ति दिने संस्कृतिको विकास भइरहेका बेला थापाको खोज अभियानले वास्तविकता पत्ता लगाउन र सतही नबन्न पनि आम मानिसलाई सन्देश दिन्छ । थापाले खोज अभियान शुरु गर्नुभएसँगै भित्ता, ढुङ्गा, विद्युत्का पोललगायत सार्वजनिक स्थलमा यससम्बन्धी चित्र पनि कोर्नुभयो । शब्दबाट भन्दा चित्रका माध्यमबाट अभियानलाई विस्तार गर्न सकिने र अझ धेरै मानिसलाई बुझाउ सकिने उद्देश्यले यसो गरिएको हो । थापाबाट प्रभावित भई चित्रकार लक्ष्मण श्रेष्ठले ‘खोजबाटै यात्रा सामाजिक रुपान्तरण’ अभियानसमेत शुरु गर्नुभएको छ । चित्रका माध्यमबाट सचेतनामूलक अभियानमा रहनुभएका श्रेष्ठ खोजलाई चित्रका माध्यबाट विस्तार गर्ने योजनामा हुनुहुन्छ ।
Categorized in राष्ट्रिय