STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

खेलकुदको विकासका लागि तथ्याङ्क सङ्कलन

Janjati Khabar – जनजाति खबर | २०७६ बैशाख १२, बिहिबार

समग्र खेल क्षेत्रको विकास र खेलाडीलाई प्रोत्साहन गर्ने नीति र योजना ल्याउन प्रदेश नं ५ सरकारले खेल क्षेत्रको तथ्याङ्क सङ्कलन गरिरहेको जनाएको छ  प्रादेशिकस्तरमा तथ्याङ्क सङ्कलन भएपछि खेलको पूर्वाधार विकास र खेलाडीको वृत्तिविकास र प्रोत्साहन हुने खालका योजना छनोटमा सहज हुने प्रदेश सरकारको विश्वास छ । पहिलोपटक प्रदेश गठन भएकाले प्रदेशको खेल क्षेत्रको यकिन तथ्याङ्क नहुँदा खेल पूर्वाधारमा आवश्यक लगानी गर्न तथा खेलाडीलाई उचित प्रोत्साहन गर्न नसकिएको प्रदेश सरकारका प्रवक्ता बैजनाथ चौधरीले बताउनुभयो । राइजिङस्टार सामुदायिक विकास प्रतिष्ठानको आयोजनामा पश्चिम नवलपरासीको भूमहीमा बुधबार दशौँ जिल्लास्तरीय तेक्वान्दो प्रतियोगिताको उद्घाटन गर्दै भौतिक पूर्वाधार विकासमन्त्रीसमेत रहनुभएका चौधरीले भन्नुभयो, “यसपटक प्रदेशको बजेट, नीति तथा कार्यक्रम बनाउँदा हामीले खेल क्षेत्रको तथ्याङ्क सङ्कलन गरी खेलप्रेमीको चाहनाअनुसारको नीति, बजेट र कार्यक्रम छनोट गर्ने योजना बनाएका छौँ, सोहीअनुरुप अहिले प्रादेशिकरूपमा तथ्याङ्क सङ्कलन गरिरहेका छौँ ।” खेल क्षेत्रको योजना र तथ्याङ्क सङ्कलनमा आवश्यक सहयोग र सुझाव दिन खेलक्षेत्रका सरोकार भएकालाई उहाँले आग्रह गर्नुभयो । आगामी आव २०७६÷७७ को नीति तथा बजेट निर्माणको काम शुरु भइसकेको भन्दै मन्त्री चौधरीले कुन–कुन क्षेत्रमा कस्ता खेल खेलिन्छन्, खेलाडीको अवस्था कस्तो छ, प्रशिक्षक तथा खेल पूर्वाधारको अवस्था के छ जस्ता विषयको तथ्याङ्क लिइने बताउनुभयो । जिल्ला खेलकूद विकास समितिका अध्यक्ष कुमार आलेले खेल क्षेत्रबाट देशको नाम उच्च राख्न खेलाडीले ठूलो योगदान गरेको तर उनीहरुको जीवनयापनमा राज्यले ठोस नीति ल्याउन नसक्दा कयौँ प्रतिभावान खेलाडी उदाउन नसकेको बताउनुभएको थियो । दुई दिनसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा जिल्लाका ११ डोजाङको सहभागिता रहेको प्रतिष्ठानका अध्यक्ष एवं एन्फाका सहमहासचिव प्रकाश पङ्गेनीले जानकारी दिनुभयो ।
Categorized in खेलकुद