STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

खुलामञ्चमा निःशुल्क खाना खानेहरुलाई लखेट्न खोजेका होइनौं : मेयर शाक्य

Janjati Khabar – विजयरत्न असंबरे | २०७७ कार्तिक २२, शनिबार

काठमाडाैं – काठमाडौँ महानगर क्षेत्रभित्रका टुंडिखेललगायतका विभिन्न सार्वजनिक र भीडभाड हुने स्थलहरूमा हालै भइरहेको निःशुल्क खाना खुवाउने कार्य भाइटीकाको भोलिपल्टबाट बन्द हुने भएको छ । काठमाडौँ महानगरपालिका र निःशुल्क खाना खुवाउने विभिन्न संघसंस्थाका प्रतिनिधिबीच छलफल गरी यस्तो सहमति भएको हो ।

लकडाउनपछि खुलामञ्चमा भोजन सेवा सञ्चालन गरिरहँदा कोभिड–१९ संक्रमण झन बढ्न सक्ने, स्वास्थ्यवर्ध्दक वातावरण कायम नहुने र सामाजिक प्रतिष्ठामा समेत आँच आउन सक्ने कुरालाई दृष्टिगत गर्दै महानगरपालिका र भोजन सेवा  उपलब्ध गराउँदै आएका संघ–संथाले खाना खुवाउने वैकल्पिक स्थानको खोजी गर्ने सहमति गरेका हुन् । 

सहमतिअनुसार खुलामञ्चलगायतका स्थानमा खाना खुवाउँदै आएका संस्थाले भाइटीकाको दिनसम्म खाना खुवाउने वैकल्पिक स्थानको खोजी गर्ने भएको छ । 

सम्झौतापत्रमा  हाम्रो टिम नेपाल, मानवी क्रियटिभ एशोसियशन, लायन्स क्लव अफ काठमाडौँ न्यु ग्रिन सिटी, हाम्रो सानो प्रयास, हाम्रो सानो टिम नेपाल, गसिव क्वीन नेपाल, १०० ग्रुप लगायतका प्रतिनिधिले हस्ताक्षर गरेका छन् ।   

काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले पनि काठमाडौँ महानगरपालिका मानवीय सेवाका निरन्तर लागेको स्मरण गराउनु भएको छ । काठमाडौँ महानगरपालिकाको आर्थिक सहयोगमा निर्माण हुने मानव सेवा आश्रम भवनको प्रारम्भिक चरणको छलफलमा सम्बोधन गर्दै मेयर शाक्यले खान नपाउने, बेरोजगार, अशक्त र असहायको सेवामा कोही छैन भन्नेका लागि स्थानीय सरकार छ भन्ने सन्देश दिन  मानवीय सेवाका काममा लागिरहेका छौँ भनि भन्नुभयो । 

खुलामञ्चमा भोजन सेवा उपलब्ध गराउने संघ–संस्थाप्रति हाम्रो कुनै वैरभाव छैन भन्नु हुँदै उहाँले खानबाट बञ्चित भएकालाई लखेट्न खोजेकाे नभइ व्यवस्थित गर्न खोजेकाे कुरा बताउनु भएको छ ।

मेयर शाक्यले सम्बन्धित संस्थाका प्रतिनिधिसँग खाना खानेहरुको व्यवस्थापनका लागि चरण–चरणको छलफल भएको पनि स्मरण गराउँदै  काठमाडौँ महानगरपालिकाले लकडाउन अवधिमा मात्रै १ लाख ५० हजार भन्दा बढी परिवारलाई राहत वितरण र २ लाख ५० हजार बढीलाई खाना खुवाउने कार्य गरेको छ भनि भन्नुभयो । उहाँले  लामो समयको लकडाउनपछि पनि कोरोनाको महामारीबाट मुक्त हुन नसकेको  अवस्थालाई ध्यानमा राख्दै काठमाडौँ महानगरपालिका क्षेत्र भित्र बसोबास गरिरहेका काम गर्न सक्ने तथा कोभिडका कारण बेरोजगार भएकाहरुलाई उनीहरुको सामर्थ्य र सिपको आधारमा रोजगारी दिई काठमाडौँ महानगरपालिकाले जीवन निर्वाहका लागि पारिश्रमिक दिने कार्यको थालनी गरेको पनि जानकारी गराउनु भयाे ।

Categorized in उपत्यका