STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

खप्तडमा गङ्गादशहरा मेला शुरु

Janjati Khabar – जनजाति खबर | २०७६ जेठ २८, मंगलबार

सुदूरपश्चिमको प्रमुख पर्यटकीयस्थल खप्तडमा प्रत्येक वर्ष जेठमा लाग्ने गङ्गादशहरा मेला शुरु भएको छ । उक्त मेला भर्नका लागि खप्तड क्षेत्रमा स्वदेशी तथा विदेशी हजारौँ तीर्थालु तथा पर्यटकहरु पुगेको खप्तड मेलामा पुग्नुभएका उद्योग वाणिज्य सङ्घ डोटीका महासचिव दीपकबहादुर खड्काले बताउनुभयो । उहाँले भन्नुभयो, “खप्तडमा मेला भर्न पर्यटक तथा तीर्थालुहरु हजारौँको सङ्ख्यामा पुगेका छन्, निकै रमाइलो भएको छ ।” सुदूरपश्चिमको ‘भू–स्वर्ग’ को उपमाले चिनिँदै आएको खप्तडमा विशेषगरी आज रातभरि मेला लाग्ने देउडा खेल्ने तथा बुधबार बिहान पूजाआजा गर्ने चलन छ । गङ्गादशहरा मेलाकै अवसर पारी डोटी उद्योग वाणिज्य सङ्घले बर्सेनी आयोजना गर्दै आएको खुला पुरुष भलिबल, घोडा दौड र सुदूरपश्चिमकै संस्कृतिका रुपमा चिनिएको देउडा प्रतियोगिता यस पटक पनि आयोजना गरेको उद्योग वाणिज्य सङ्घका अध्यक्ष मोहनबहादुर कलेलले बताउनुभयो । उहाँले भन्नुभयो, “खप्तडलाई देश–विदेशमा चिनाउन हामीले बर्र्सेनी विभिन्न आयोजना गर्दै आएका छौँ, सोही अनुसार यो वर्ष पनि विभिन्न कार्यक्रमको आयोजना गरेका छौँ निकै रमाइलो भइरहेको छ ।” ‘गङ्गादशहरा मेलामा जाऔँ, खप्तडका सुन्दर फाँटहरु घुमौँ, त्रिवेणीमा स्नान गरौँ’ भन्ने नाराका साथ यस वर्ष भव्यरुपमा मेला लागिरहेको दीपायलका स्थानीय तथा डोटी उद्योग वाणिज्य सङ्घका पूर्वसदस्य गणेशबहादुर साउदले बताउनुभयो । उहाँले भन्नुभयो, “मेलामा मात्रै हैन अरू बेला पनि खप्तड जानुहोस् भूस्वर्गको आनन्दमा रमाउनुहोस ।” गङ्गादशहरा मेलाका दिन त्रिवेणीधाममा नुहाउँदा पाप नाश हुने, पितृलाई तर्पण दिँदा पितृले मुक्ति पाउने र स्वर्ग जाने, मनको इच्छा पूरा हुने जनविश्वास रहेकाले यो मेलाको आकर्षण बढेको स्थानीय समाजसेवी गणेशदत्त भट्टले बताउनुभयो । उहाँले भन्नुभयो, “गङ्गादशहरा मेलाका दिन त्रिवेणीधाममा नुहाउँदा पाप नाश हुने, पितृलाई तर्पण दिँदा पितृले मुक्ति पाउने र स्वर्ग जाने भन्ने विश्वासका कारण यो मेलाको समयमा वृद्धवृद्धादेखि बालबालिकालगायत अन्य युवाहरुको पनि बढी भीड लाग्ने गर्दछ ।” मेलाको समयमा नेपाली सेनाको सुदूरपश्चिम पृतनाले पनि बर्सेनी आफ्नै खर्चमा पूजा गर्ने चलन रहिआएको छ । सुदूरपश्चिमका चार पहाडी जिल्ला बाजुरा, बझाङ्ग, अछाम र डोटीको केन्द्र विन्दुमा पर्ने खप्तड नेपालकै सुन्दर पर्यटकीय क्षेत्रहरुमध्येको एक हो । खप्तड क्षेत्रमा आँखाले नभ्याउने विशाल फाँटहरु, हिउँदमा सेताम्मे र वसन्त ऋतुमा रङ्गीविरङ्गी फूलले छपक्कै छोपेका मैदानहरु रहेका छन् । २२ पाटन र ५२ झोती भनेर पनि चिनिने खप्तडमा खप्तड बाबाको कुटी, त्रिवेणी नदी, खप्पर दह, शिव मन्दिर, सहस्रलिङ्ग, गणेशस्थान, नागढुङ्गा, माइका थान, छिन्तेढुङ्गा, केदारढुङ्गा, डाँफेकोट, सीतापाइला, घोडादाउन पाटन, नाचन्थली, बलेमेला, पाटन जेठी बहुरानी ढुङ्गा, भलाउने पाटनजस्ता धार्मिकस्थलहरु रहेका छन् । निकुञ्जको संरक्षणका लागि चार वटा ठाउँमा इलाका कार्यालय रहेको छ । खप्तड क्षेत्रमा जेठ महीनामा गङ्गादशहरा मेला तथा भदौ महीनामा जनैपूर्णिमाका दिन पनि भव्य जात्रा लाग्ने गर्दछ । जात्रा हेर्नका लागि सुदूरपश्चिमका विभिन्न जिल्ला र नेपालका अन्य क्षेत्रबाट समेत पर्यटकहरुको घुइँचो लाग्ने गरेको पूर्वीचौकी गाउँपालिकास्थित बग्लेकका स्थानीयवासी धनबहादुर विष्टले बताउनुभयो । खप्तड क्षेत्रमा आउने पर्यटकको सुविधा तथा सहजताका लागि डोटीको पूर्वीचौकी गाउँपालिका तथा खप्तड पर्यटन विकास समितिको पहलमा झिग्रानासम्म सडक सुविधा पु¥याइएको छ । त्यहाँबाट भने पर्यटकको मागअनुसार घोडाको व्यवस्था गरिएको पूर्वीचौकी गाउँपालिकाका अध्यक्ष दीर्घराज बोगटीले बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले झिग्रानासम्म सडक सुविधा पु¥याउन सफल भएका छौँ भने त्यहाँबाट पर्यटकको मागबमोजिम घोडाको पनि व्यवस्था मिलाउन सक्छौँ ।” खप्तड क्षेत्र खप्तडबाबाले तपस्या गरेको पवित्र ठाउँ पनि हो । विभिन्न धार्मिक ग्रन्थ र पुस्तकहरुमा लेखिएअनुसार खप्तड बाबाले खप्तडमा ५० वर्ष बिताउनु भएको थियो । खप्तड बाबाको आगमनपछि स्थानीयवासीले तत्कालीन राजा वीरेन्द्र शाहलाई आग्रह गर्दा २०४२ सालमा खप्तडलाई राष्ट्रिय निकुञ्जका रुपमा घोषणा गरिएको थियो । खप्तड पुगेर हेर्नैपर्ने ठाउँ खप्तड बाबा आश्रम पनि भएको स्थानीयवासीको भनाइ छ । त्यहाँ बाबाको मूर्तिका साथै बाबाले प्रयोग गरेका केही सामान छन् । उक्त ठाउँमा बाबाले योग र ध्यान गर्नुभएको थियो र किताबहरु लेख्नुभएको थियो । उहाँले धर्मविज्ञान, विचार विज्ञान, स्वास्थ्य विज्ञान, म र मेरो कर्तव्य, नारीधर्म र पुरुषधर्म, आत्म ज्ञान, योग विज्ञान, वेदान्त विज्ञान, आरोग्य विज्ञानलगायत पुस्तक लेख्नुभएको उहाँका विभिन्न कितावमा उल्लेख गरिएको छ । यस क्षेत्रभित्र खप्तड राष्ट्रिय निकुञ्ज, नागढुङ्गा, खापर दह, सहस्रलिङ्ग, त्रिवेणीधाम, पाटन, खप्तड दह ९ताल०, खप्तड बाबाको आश्रम तथा विभिन्न किसिमका वनस्पतिहरु र चराचुरुङ्गीहरु रहेका छन् । समुद्र सतहबाट तीन हजार ५०० मिटरसम्म उचाइमा रहेको खप्तड राष्ट्रिय निकुञ्जभित्र ५६७ थरीका वनस्पति र नेपालमा पाइने ८५० किसिमका चराचुरुङ्गीमध्ये २६० भन्दा बढी चराचुरुङ्गीहरु पाइने गरेको खप्तड राष्ट्रिय निकुञ्जका सहायक संरक्षक अधिकृत प्रकाशबहादुर शाहले बताउनुभयो । उहाँका अनुसार खप्तड क्षेत्रमा खस्रेभ्यागुता र बझाङ्गे पाहा गरी दुई प्रजातिका रैथाने उभयचर, बाघबुट्टे निगालो पाइने यो नेपालको एक मात्र राष्ट्रिय निकुञ्ज हो । खप्तड राष्ट्रिय निकुञ्जका सहायक संरक्षक अधिकृत प्रकाशबहादुर शाहले भन्नुभयो, “अरू कुरो त छोडौँ विश्वकै दुर्लभ जातिको हरियो छेपारो पनि हाम्रै खप्तड राष्ट्रिय निकुञ्जमा पाइन्छ ।” त्यस्तै बाह्रै महीना पानीको सतह एकै नासको हुने विशेषता रहेको १५० मिटर लम्बाइ र ५० मिटर चौडाइ भएको खप्तड दहलगायत विभिन्न ५२ वटा ताल ९दह० यसै क्षेत्रमा रहेको छ । यति मात्र नभई खप्तड राष्ट्रिय निकुञ्जमा कस्तुरी, मृग, बँदेल, डाँफे , जरायो, रतुवा, थरल, घोरल, चितुवा, भालु, बाँदर, ढेडुबाँदर, दुम्सी, खरायोलगायतका जङ्गली जनावर पाइन्छन् । प्रकृतिले नै रमाइलो बनाएको यस ठाउँमा ठूल्ठूला घाँसेमैदान, ससाना ढिस्का र रमाइलो जङ्गल रहेको छ । त्यहाँ रहेका घाँसेमैदानमा गाई, गोरु, घोडा बर्सेनी चर्न आउने र रमाउने गर्छन् । खप्तड क्षेत्रमा चारैतिर घनघोर जङ्गल र बीचमा ठूल्ठूला फाँट छन् । जैविक विविधताले भरिएको यो क्षेत्रमा २०४० सालदेखि राष्ट्रिय निकुञ्ज बनेको खप्तड पर्यटन विकास समिति डोटीले जनाएको छ । यस क्षेत्रको सुरक्षाका लागि २०४७ सालदेखि नेपाली सेनाको ब्यारेक स्थापना गरिएको सुदूरपश्चिम पृतना मुख्यालय दीपायल राजपुरले जनाएको छ । खप्तडमा २०० भन्दा बढी प्रजातिका फूल, बहुमूल्य जडीबुटीका साथै कस्तुरी, मृग, बँदेल, डाँफेलगायतका जन्तु–पक्षी पाइन्छन् । मङ्सिर महीनादेखि फागुन महिनासम्म हिउँले ढकमक्क हुने गर्दैछ ।
Categorized in राष्ट्रिय