STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

क्षेत्रीय सडक कालोपत्र शुरु

Janjati Khabar – जनजाति खबर | २०७६ पौष ४, शुक्रबार

क्षेत्रीय सडकका रुपमा रहेको बागलुङ नगरपालिका–४ कुडुले चोकदेखि काठेखोला गाउँपालिका जाने सडकमा कालोपत्रको काम शुरु भएको छ । कुडुले चोकदेखि– मालिका–पञ्चकोट हुँदै तितौरे काठेखोला गाउँपालिकाको सिमानासम्म जाने १४ किलोमिटर सडकमा कालोपत्रको काम शुरु भएको हो । गण्डकी प्रदेशसभा सदस्य इन्द्रलाल सापकोटाको पहलमा गण्डकी प्रदेश, भौतिक पूर्वाधार विकास मन्त्रालयको रु ४२ करोडको लागतमा सो सडक स्तरोन्नतिसँगै कालोपत्र गर्न लागिएको छ । गण्डकी प्रदेशको ‘एक निर्वाचन क्षेत्र, एक रणनीतिक सडक आयोजना’ अन्तर्गत बागलुङ क्षेत्र नम्बर १ को प्रदेशसभा ‘ख’ मा पर्ने बागलुङ नगरपालिका र काठेखोला गाउँपालिकालाई समेट्ने गरी क्षेत्रीय चक्रपथका रुपमा यो सडकलाई विकास गर्ने योजना अनुरुप स्तरोन्नतिसँगै कालोपत्र गर्ने काम शुरु भएको प्रदेशसभा सदस्य सापकोटाले जानकारी दिनुभयो । “क्षेत्रीय चक्रपथलाई कालोपत्र गर्ने गरी काम थालेका छौँ”, उहाँले भन्नुभयो, “कालोपत्रेसँगै जनताको जीवनस्तरमा समेत परिवर्तन आउनेछ ।” दुई वर्षभित्र कालोपत्रे सक्ने गरी काष्ठमण्डप कन्ट्रक्सन प्रालिले जिम्मा पाएको निर्माण कम्पनीका साइड इञ्चार्ज रविन चपाईले जानकारी दिनुभयो । कात्तिक २ गते ठेक्का सम्झौता गरी अहिले धमाधम निर्माण कार्य शुरु गरेको चपाईको भनाइ छ । उहाँले काममा अवरोध नभए ठेक्का अवधिमै कालोपत्र सक्ने बताउनुभयो । चपाईका अनुसार १४ किलोमिटर सडक आठ मिटरको मापदण्डअनुसार चौडा हुने, एक मिटर नाली निर्माण र ५।५ मिटर चौडा सडक कालोपत्र हुनेछ । पहिलो चरणमा बागलुङ नगरपालिका र काठेखोला गाउँपालिकाको सिमानासम्म कालोपत्र गरे पनि दोस्रो चरणमा तितौरै भीमपोखरा, धम्जा, बिहुँ, लेखानी, रेश हुँदै बलेवा जोड्ने सडक विस्तार र कालोपत्र गर्ने योजना रहेको बागलुङ नगरपालिकाका नगर प्रमुख जनकराज पौडेलले बताउनुभयो । यो सडक कालेपत्र भएसँगै प्रसिद्ध धार्मिकस्थल पञ्चकोट र कुडुलेमा भएको भूमिगत शालिग्राम सङ्ग्रहालयमा धार्मिक पर्यटक बढ्नेमा विश्वास लिइएको छ । ग्रामीण सडकमा बर्खामा हिलो र हिउँदमा धुलोले आजित भएका स्थानीयवासीलाई सडक कालोपत्र भएपछि राहत हुनेछ । गण्डकी प्रदेश सरकारको ११ जिल्लामा ३६ रणनीतिक क्षेत्रीय सडक रहेका छन् । बागलुङमा रहेका चार रणनीतिक सडकमध्ये यो सडक सबैभन्दा लामो हो ।
Categorized in राष्ट्रिय