STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

क्षत्रपाटी निःशुल्क चिकित्सालयले ६७ औँ वार्षिकोत्सव मनाए

Janjati Khabar – Janjati Khabar | २०८० माघ २४, बुधबार

काठमाडौंको क्षत्रपाटीमा रहेको क्षत्रपाटी निःशुल्क चिकित्सालयले ६७ औँ वार्षिकोत्सव मनाएको छ।

चिकित्सालयका संस्थापक कम्पाउन्डर बद्री मालीको सालिकमा माल्यार्पणसहित विभिन्न कार्यक्रम गरेर अस्पतालले मंगलबार वार्षिकोत्सव मनाएको हो।

सोही अवसरमा एक कार्यक्रम आयोजना गरी कर्मचारीहरूलाई सम्मान समेत गरिएको छ। साथै अस्पतालले ३० वर्षे सेवा अवधि पुरा गरी अवकाश पाएका कर्मचारीहरूलाई सम्मान तथा पुरस्कार वितरण गरेको छ। सोही क्रममा उत्कृष्ट कर्मचारीको रूपमा राज कुमार थापा र प्रशासनकी मिनु जोशीलाई सम्मान गरिएको थियो।

२०१३ साल माघ २३ गते स्थानीय समाजसेवीहरूले १० रुपैयाँ चन्दा उठाएर सञ्चालन सुरु गरेको क्षत्रपाटी निःशुल्क चिकित्सालय अहिले तीन वटा भवनमा अत्याधुनिक स्वास्थ्य सेवा प्रवाह गर्दै आइरहेको छ।

निःशुल्क चिकित्सालयले वार्षिकोत्सवको अवसर पारेर वीर गणेशमान सिंह भवन बनाउने महत्त्वाकाङ्क्षी योजना सार्वजनिक गरेको छ। उक्त भवनमा गणेशमान सिंह प्रतिष्ठानसँग सम्झौता गर्ने तयारी भइरहेको अध्यक्ष डा. मनोजमान श्रेष्ठले जानकारी दिए।

कार्यक्रममा प्रमुख अतिथि नेपाली कांग्रेसका नेता तथा पूर्व उपप्रधानमन्त्री प्रकाश मान सिंहले २०१३ सालमा स्थापना भएको अस्पतालको भवन निर्माण गर्न २०१६ सालमा तत्कालीन मन्त्री गणेशमान सिंहले शिलान्यास गरेको स्मरण गर्दै हाल सहरी क्षेत्रका जनताको सेवामा क्षत्रपाटी अस्पतालले अतुलनीय भूमिका खेलेको भन्दै प्रशंसा गरे।

काठमाडौं महानगरपालिकाका प्रवक्ता तथा १७ नं वडाका अध्यक्ष नविनमान मानन्धरले अस्पतालले सहरी क्षेत्रका जनताको लागि सर्वसुलभ रूपमा स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको बताउँदै आगामी दिनमा अझै सहुलियत दरमा अत्याधुनिक सुविधा दिने काठमाडौं महानगरपालिकाले आवश्यक सहयोग गर्ने बताए।

वार्षिकोत्सव समारोहमा क्षत्रपाटी निःशुल्क चिकित्सालयका अध्यक्ष डा. मनोजमान श्रेष्ठले अस्पतालमा धेरै स्मरणयोग्य कामहरू भएको चर्चा गर्दै माऊ बद्री भवन तयार हुँदै गरेको र अब नयाँ वीर गणेशमान सिंह भवन समेत बनाउने प्रस्ताव अघि बढेको बताए।

Categorized in उपत्यका