STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

क्षणभरमै खोसिएको खुसी

Janjati Khabar – जनजाति खबर | २०७५ चैत्र १८, सोमबार

दिनभर दुःख जिलो गरेर साँझ परिवारसँग बसेर मिठो मसिनो खाने तयारीमा थिए बारा फेटाका बासिन्दा । कोही घर फर्कने तयारीमा थिए, कोही काममा नै थिए । उनीहरुलाई एकै छिनमा ठूलो विपद् आइपर्ला भन्ने सोेचेकै थिएनन् । चैतको मौसम भए पनि साँझ सामान्य हावाहुरी चल्नु स्वभाविक थियो । तर फेटाका बासिन्दाले एकै क्षणमा घरबास नै उडाउने गरी हावाहुरी आउला र आफूहरुको सर्वनास गर्ला भन्ने कल्पनासमेत गरेका थिएनन् । जुन कुरा कल्पनाभन्दा बाहिरको थियो र आखिर त्यही भयो । खाना पकाइरहेका गृहणी, दुधे बालक, वृद्धवृद्धा भगवान्को पुकार गर्दै ज्यान जोगाउन लागे । कोही ज्यान जोगाउन खोज्दा खोज्दै मृत्यको मुखमा परे । पशु चौपाया थलोमै किचिएर मरेका छन् । क्षणभरमै बस्ती सखाप भयो । बस्तीमा न त घर रह््यो नत अन्न बाली नै । हावाहुरीले अन्नबाली भिजेका कारण खाद्यान्न सामग्रीसमेत अभाव हुने स्थिति देखिएको छ । विद्युत्का सबै पोल ढलेका छन् । जसका कारण बत्ती नआउँदा मोबाइल फोन चलाउनसमेत समस्या परेको छ । आइतबार साँझदेखि बारा र पर्साका ग्रामीण क्षेत्रका नागरिक भोकभोकै आकाश मुनी रात बिताउन बाध्य भएका छन् । बारा पर्साको सीमा क्षेत्रको फेटा, प्रसौनीलगायतका क्षेत्रमा सबैभन्दा बढी प्रभावित भएको छ । ‘गोरखा भूकम्प’ को जस्तै प्राकृतिक विपत्तिमा परेका छन् बारा र पर्साका बासिन्दा । एकै क्षणमा बस्ती नै सखाप बनाउने गरी आएको हावाहुरीले घर उडायो, बस्ती उडायो, रुख बिरुवासमेत खण्डहर बनाएको छ । पछिल्लो विवरणअनुसार ३१ को मृत्यु भएको छ भने ६०० बढी विभिन्न अस्पतालमा उपचाररत छन् । एकाएक आइपरेको विपद्ले अस्पतालमा चिकित्सको अभाव देखिएको प्रदेश नं २ को सरकारले जनाएको छ । घाइतेको उपचारका लागि स्थान अभाव भएका छन् । रगतको समेत अभाव देखिएको छ । शक्तिशाली हावाहुरीले रोकि राखेको सवारी साधन पल्टाइ दिएको छ । सरकारले राहत र उद्धारलाई पहिलो प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री केपी शर्मा ओली पूर्वनिर्धारित झापाको कार्यक्रम छाडेर हावाहुरी प्रभावित क्षेत्रमा पुग्नुभएको छ । प्रधानमन्त्रीले आइतबार राति नै राहत तथा उद्धारमा जुट्न सबैलाई आग्रह गर्नुभएको छ । मुख्यमन्त्री लालबाबु राउतले विपद् व्यवस्थापनको लागि तत्काल औषधि, खाद्यान्न, त्रिपाललगायतका राहत सामग्री तथा तत्काल उपचार उपलब्ध गराउन जिल्ला दैवी प्रकोप उद्धार समितिलाई क्रियाशिल गराई परिचालन गर्ने निर्णय गरेको जानकारी दिनुभएको छ । विपद् व्यवस्थापनका लागि प्रदेश सरकारले मुख्यमन्त्री राहत कोषको खातासमेत खोलेको छ । प्रदेश सरकारले पीडितका लागि तत्काल रु तीन लाख राहत रकम उपलब्ध गराउने घोषणा गरेको छ ।  
Categorized in विचार