STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

कोरोनाविरुद्धको दोस्रो चरणको खोप अभियान आजबाट, कोभ्याक्स आजै नेपाल आइपुग्ने

Janjati Khabar – Janjati Khabar | २०७७ फाल्गुण २३, आइतबार

काठमाडौँ – कोरोनाविरुद्धको दोस्रो चरणको खोप अभियान आइतबारबाट सुरु हुँदै छ । यसकाे साथै आजै कोभ्याक्स अन्तर्गतकाे पहिलो चरणको खोप आज नेपाल आइपुग्ने भएकाे छ ।

पहिलो चरणको खोप अभियान गत माघ १४ गतेदेखि सुरु भएको थियो ।

दोस्रो चरणको अभियानमा देशभरका ६५ वर्ष माथिकालाई खोप दिइने छ । त्यसको शुभारम्भ प्रधानमन्त्री केपी शर्मा ओली आफैंले खोप लगाएर गर्ने छन् । खोप लगाउन प्रधानमन्त्री ओली बिहान १० बजे त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुग्दैछन् ।

यसअघि दोस्रो चरणमा ५५ वर्षमाथिका नागरिक, शिक्षक, सार्वजनिक यातायातका चालक तथा सहचालकलगायतलाई खोप दिने घोषणा गरिए पनि खोपको मात्रा अपुग हुने भएपछि ६५ वर्षमाथिकालाई मात्रै खोप दिन लागिएको हो । हिमाली जिल्लाहरुमा भने ५५ वर्ष माथिका सबैलाई खोप दिइने छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार दोस्रो चरणको खोप अभियान सन्चालनका लागि ६ हजार खोप केन्द्र स्थापना गरिएको छ । नेपाल सरकारले भारतको सिरम इन्सटिच्युटले उत्पादन गरेको कोभिशिल्ड खोप दिँदै आएको छ ।

यो खोप भारतमा ७० प्रतिशत प्रभावकारी भएको पाइएको छ । यो खोपको पहिलो डोज लिएको आठदेखि १२ हप्ताभित्र दोस्रो डोज लिनुपर्दछ ।

कोभ्याक्स अन्तर्गतको पहिलो चरणको खोप आज नेपाल आइपुग्ने

आजै कोभ्याक्स अन्तर्गतको पहिलो चरणको खोप नेपाल आइपुग्ने भएको छ ।

कोभ्याक्सले दिने भनिएको एक करोड ३० लाख डोज खोपमध्ये आज ३ लाख ४८ हजार डोज कोभिड–१९ विरुद्धको खोप आउने भएको हो ।

कोभ्याक्सले नेपालको खोप लगाउने जनसङ्ख्यामध्ये २० प्रतिशतलाई पुग्ने गरी चरणबद्ध रुपमा एक करोड ३० लाख डोज खोप निःशुल्क उपलब्ध गराउने छ । यसमध्ये पहिलो चरणमा आज ३ लाख ४८ हजार डोज खोप नेपाल आउन लागेको हो ।

कोभ्याक्सले नेपालमा प्रयोगमा ल्याइएको सिरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको कोभिसिल्ड खोप नेपाललाई उपलब्ध गराउन लागेको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री हृदयेश त्रिपाठीले बिहान सवा ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो खेपअन्तर्गतको खोप आइपुग्ने जानकारी दिए ।

विश्व स्वास्थ्य संगठन र ग्लोबल भ्याक्सिन अलाइन्स (गाभी)ले ‘कोभ्याक्स सुविधा’अन्तर्गत २० प्रतिशत नागरिकलाई पुग्ने गरी खोप दिन लागेको हो ।

Categorized in स्वास्थ्य-मौसम