STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

कोरानोभाइरस विश्वव्यापी महामारी हुनसक्ने चिन्ता

Janjati Khabar – जनजाति खबर | २०७६ माघ २८, मंगलबार

चीनमा गत डिसेम्बर महिनामा पहिलो चोटि देखिएको नयाँ कोरोनाभाइरस अहिले विश्वका विभिन्न देशमा पनि पुगिसकेको छ । यो भाइरस अन्यत्र कहाँकहाँ पुग्ने हो र त्यसबाट कति मानिस बिरामी पर्ने हुन् भनेर विज्ञहरू चिन्तित छन् । विश्व स्वास्थ्य सङ्गठनले कोरोनाभाइरसका कारण सङ्कट उत्पन्न भएको बताएको छ । तर अहिलेसम्म ‘विश्वव्यापी महामारी’ फैलिएको घोषणा भने गरिएको छैन । तर उक्त भाइरसका कारण नयाँ विश्वव्यापी महामारी फैलिन सक्ने सम्भावनालाई दृष्टिगत गर्दै अधिकारीहरू त्यो परिस्थितिसँग सङ्घर्ष गर्ने तयारी गर्दैछन् । के हो विश्वव्यापी महामारी ? महामारीका रूपमा विश्वभरि फैलिने रोगलाई अङ्ग्रेजीमा प्यान्डेमिक भनिन्छ । एकैचोटि विश्वभरि फैलिएर धेरै मानिसलाई जोखिममा पार्ने सरुवा रोगलाई जनाउन यो पदावली प्रयोग गरिन्छ । सन् २००९ मा फैलिएको स्वाइन फ्लू विश्वव्यापी महामारी बनेर फैलिएको थियो । विज्ञहरूका अनुसार उक्त सरुवा रोगका कारण हजारौँ मानिसको मृत्यु भयो । यदि भाइरस नयाँ छ, मानिसहरूलाई सङ्क्रमित गर्न सक्छ र मानिसबाट मानिसमा सजिलै सर्न सक्छ भने त्यो विश्वव्यापी महामारी बनेर फैलिन सक्छ । कोरोनाभाइरससँग यी सबै विशेषता छन् । सङ्क्रमण हुन नदिन वा भइसकेपछि उपचारका लागि अहिलेसम्म कुनै खोप नभएकाले यो भाइरसको विस्तार रोक्नु महत्वपूर्ण देखिएको छ । विश्वव्यापी महामारी कहिले घोषणा हुन्छ ? विश्व स्वास्थ्य सङ्गठनको व्याख्या हेर्दा कोरोनाभाइरस विश्वव्यापी महामारी बन्ने चरणनजिकै पुगेको छ । यो मानिसबाट मानिसमा सरिरहेको छ र चीनका छिमेकी देश तथा अन्यत्र पनि फैलिएको पाइएको छ । यदि विश्वका विभिन्न स्थानमा दीर्घकालीन रूपमा समुदायहरूमा यो भाइरसको प्रकोप देखिन थाल्यो भने त्यो विश्वव्यापी महामारी हुन्छ । त्यस्तो सम्भावना कति छ ? यो रोग कति गम्भीर हुन सक्छ र कहाँसम्म फैलिन सक्छ त्यो अझै अस्पष्ट छ । विश्व स्वास्थ्य सङ्गठनका महानिर्देशक डा. टेड्रोस एड्हानोम गहब्रहयससका अनुसार यो भाइरस चीनबाहिर न्यून संख्यामा र कम गतिमा फैलिएको छ । अहिलेसम्म चीनमा ३७,००० भन्दा बढी मानिसमा कोरोनोभाइरस संक्रमण भएको पुष्टि भएको छ भने यसबाट मृत्यु हुने मानिसको संख्या ९०० नाघेको छ । चीनबाहिर अहिलेसम्म फिलिपिन्समा एक र हङ्कङमा एकजनाको मृत्यु भएको छ । गत साता विश्व स्वास्थ्य सङ्गठनको कार्यकारी समितिको बैठकमा बोल्दै डा. गहब्रहयससले सङ्क्रमणको केन्द्रबिन्दु र मूलमा लगानी गरिए यो भाइरसलाई अन्य देशतिर फैलिनबाट रोक्न सकिने तर्क गरेका थिए । प्रत्येक महामारी फरक हुन्छ । अनि भाइरस फैलिन नथालेसम्म यसबाट कस्तो असर पुग्न सक्छ भन्ने अनुमान गर्न असम्भव हुन्छ । सार्सजस्ता केही समयअघि फैलिएका अन्य रोगभन्दा कोरोनाभाइरस कम घातक हुनसक्ने विज्ञहरूको धारणा छ । कोरोनाभाइरस चीनबाहिर पनि मानिसबाट मानिसमा सरेको देखिएपछि तथा कमजोर स्वास्थ्य सेवा प्रणाली भएका देशमा यो भाइरस फैलियो भने के होला भन्ने चिन्ताका कारण विश्व स्वास्थ्य सङ्गठनले अहिलेको परिस्थितिलाई “पब्लिक हेल्थ इमेर्जेन्सी अफ इन्टर्न्याश्नल कन्सर्न“ (अन्तर्राष्ट्रिय चिन्ताको जनस्वास्थ्य सङ्कटकाल) घोषणा गरेको हो । विश्वस्वास्थ्य सङ्गठनका अनुसार सबै देशले यो भाइरसको सङ्क्रमण हुन नदिन तथा त्यसलाई फैलिन नदिन कदम चाल्नुपर्ने भए पनि अन्तर्राष्ट्रिय यात्रा र व्यापारमा अवरोध गर्नुपर्ने कुनै कारण छैन ।

साभार : बिबिसी नेपाली सेवा

Categorized in अन्तर्राष्ट्रिय