कैदीबन्दीको सकसपूर्ण अवस्था
Janjati Khabar – जनजाति खबर | २०७६ जेठ १७, शुक्रबार
दुई सय पचास जना अट्ने स्थानमा करीब ७५० जनालाई राखियो भने ती मानिसको अवस्था कस्तो होला रु हो, नेपालगञ्ज शहरको ठीक बीच भागमा रहेको बाँके जिल्ला कारागारका कैदीबन्दीले अहिले यस्तै सकसपूर्ण अवस्था र नियतिको सामना गर्नु परेको छ ।
कोठाभित्र मात्र नभएर बाहिरसमेत कैदीबन्दी बस्ने, सुत्ने स्थानको अभाव छ । “कारागारमा महिला कैदीबन्दी ६४ र तीन आश्रित बालबालिकासहित ७४५ जनालाई राखिएको छ, क्षमताभन्दा बढी भएकाले सुरक्षा चुनौती बढेको छ”, जेलर भरत पाण्डेले भन्नुभयो ।
नेपालगञ्ज–१० स्थित यो कारागारको भौतिक अवस्था अहिले जीर्ण हुँदै गएको छ । स्थापना हुँदा बनेका दुई भवन र पर्खाल एकदमै पुराना भइसकेका छन् । कारागारमा कैदीको सङ्ख्या बढदै गएको छ भने वरिपरिको वातावरण एकदमै फोहर छ । कारागारबाट निस्केको फोहर हाताभित्र फालिन्छ र ढल निकासको पर्याप्त व्यवस्था छैन । फोहर बढी भएकाले कैदीहरु अधिक सङ्ख्यामा बिरामी हुने गर्छन् । फोहरकै कारण कैदीको सुरक्षामा खटिएको सुरक्षाकर्मीलाई पनि सुरक्षा दिन अप्ठ्यारो हुने गरेको जेलर पाण्डेको भनाइ थियो ।
कारागार प्रशासनले कारागारको चारैतिर बलिया पर्खाल नभएको, कारागार घना बस्तीको बीचमा रहेको र क्षमताभन्दा बढी कैदीबन्दी रहेकाले सुरक्षा चुनौती थपिएको बताएको छ । कारागार सुरक्षाका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीका गरी ५० जना सुरक्षाकर्मी खटिएका छन् । “क्षमताभन्दा बढी कैदीबन्दी राख्नुपर्ने बाध्यता, आधुनिक सुरक्षा प्रबन्धको अभाव र घना बस्तीको बीचमा कारागार हुनाका कारण सुरक्षा चुनौती बढेको हो”, जेलर पाण्डेको भनाइ छ ।
सबै पक्षलाई दृष्टिगत गरी बाँकेको गनापुरमा खुल्ला कारागार निर्माण शुरु गरिएको छ । जेलर पाण्डेका अनुसार आठ बिघा क्षेत्रफल रहेको खुल्ला कारागारको ब्यारेकको निर्माण सकिएको र अन्य संरचना निर्माण भइरहेका छन् ।
यसैगरी बाँकेकै नौवस्तामा पनि १० बिघा क्षेत्रफलमा तीन हजार कैदीबन्दी अट्न सक्ने क्षमताको क्षेत्रीय कारागार निर्माण भइरहेको छ । यी दुवै कारागारको निर्माण पाँच वर्षभित्र सक्नुपर्ने सम्झौता ठेकेदारसँग भएको छ ।
“यी दुवै कारागार निर्माण भएपछि सम्भवतः नेपालगञ्जको मानव बस्तीको बीचमा रहेको बाँके जिल्ला कारागारलाई विस्थापित गरिनेछ”, बाँकेका प्रमुख जिल्ला अधिकारी मदन भुजुले बताउनुभयो ।
Categorized in राष्ट्रिय