STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

केयूको उपकुलपतिमा पुनः माकाजु सिफारिस

Janjati Khabar – Janjati Khabar | २०७७ माघ ६, मंगलबार

काठमाडौं – काठमाडौं विश्वविद्यालय (केयू) को उपकुलपतिमा रामकण्ठ माकाजू, भोला थापा र बालचन्द्र लुइँटेलको नाम सिफारिस गरिएको छ ।

शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा गठित सिफारिस समितिले हालका उपकुलपति माकाजू, पूर्वरजिस्ट्रार थापा र प्राध्यापक लुइँटेलको नाम सिफारिस गरेको स्रोतले जनायो ।

यी नामबाट एक जनालाई कुलपतिसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले उपकुलपतिमा नियुक्त गर्नेछन् । माकाजूको दोस्रो कार्यकाल बुधबारबाट सकिँदै छ । मेडिकल स्कुलका प्राध्यापक उनी विभिन्न विवादमा मुछिँदै आएका छन् ।

उनीमाथि आर्थिक अनियमितताको समेत आरोप लागेको छ । पूर्वरजिस्ट्रार थापाले माकाजूको कार्यशैलीमा असन्तुष्टि जनाउँदै २०७५ मा पदबाट राजीनामा दिएका थिए । उनी स्कुल अफ इन्जिनियरिङका प्राध्यापक हुन् ।

उनी यसअघि पनि उपकुलपतिका लागि सिफारिसमा परेका थिए । केयू विश्वविद्यालय सभाका सदस्यसमेत रहेका लुइँटेल स्कुल अफ एजुकेसन (शिक्षा) का प्राध्यापक हुन् ।

स्रोतका अनुसार विभिन्न १० वटा मापदण्ड तय गरेर छनोट समितिले यी नाम सिफारिस गरेको हो । केयूको उपकुलपति बन्न ४४ आकांक्षीले सिफारिस समितिलाई आफ्नो व्यक्तिगत विवरण बुझाएका थिए ।

सिफारिस समितिले व्यक्तिगत विवरण बुझाउन सार्वजनिक सूचना जारी गरेको थियो । केयूमा उपकुलपति नियुक्ति गर्न सार्वजनिक सूचना जारी गरिएको यो पहिलोपटक थियो ।

समितिमा संस्थापक उपकुलपति सुरेशराज शर्मा र विश्वविद्यालय संरक्षण समितिका अध्यक्ष दमननाथ ढुंगाना सदस्य छन् । उनीहरूले तेस्रो कार्यकाल पनि माकाजूलाई नै उपकुलपति बनाउन जोड बल गर्दै आएको स्रोतको दाबी छ ।

शर्मा र ढुंगानालाई पटक–पटक सिफारिस समितिमा राखिएको भन्दै कतिपयले असन्तुष्टि जनाएका छन् । केयूका प्राध्यापक–कर्मचारीले भने एउटै व्यक्ति दुई कार्यकालभन्दा बढी एउटै पदमा बस्न नहुने माग गर्दै आएका छन् ।

चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले समेत कार्यक्षमता र मापदण्डका आधारमा पारदर्शी तरिकाले उपकुलपति नियुक्त गर्न माग गरेका छन् ।

Categorized in शिक्षा