STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

केपी शर्मा ओली र रमेश लेखकसहित ५ जनालाई विदेश जान रोक

Janjati Khabar – Janjati Khabar | २०८२ आश्विन १३, सोमबार

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र उनकै मन्त्रिपरिषद्का गृहमन्त्री रमेश लेखकसहित ५ जना विदेश जान नपाउने भएका छन्।  विदेश जान रोक लगाइएकामा पूर्वगृहसचिव गोकर्णमणि दुवाडी, राष्ट्रिय अनुसन्धान विभागका पूर्वप्रमुख हुतराज थापा र पूर्वप्रमुख जिल्ला अधिकारी छविलाल रिजाल छन्।

जेनजी आन्दोलनमा अस्वाभाविक बल प्रयोग गरेका कारण अनुसन्धानको दायरामा रहेको भन्दै न्यायिक जाँचबुझ आयोगले उनीहरूको यात्रा सीमित गरिदिएको हो। अब उनीहरूले उपत्यकाबाहिर जान पनि आयोगको अनुमति लिनुपर्नेछ।

‘भाद्र २३ र २४ गतेका घटनाहरूको छानबिन तथा जाँचबुझको सिलसिलामा तपसिल बमोजिमका व्यक्तिहरू अनुसन्धानको दायरामा रहेको हुँदा निजहरूको विदेश भ्रमण रोक लगाउन आवश्यक कारबाही गर्नहुन तथा छानबिनका लागि कुनै पनि समयमा आयोगमा उपस्थित हुनुपर्ने हुँदा आयोगको स्वीकृतिबेगर काठमाडौं उपत्यका छाड्न नपाउने व्यवस्था गर्न गराउनका लागि सम्बन्धित निकायमा पत्राचार गर्ने,’ निर्णय आयोगले गरेको छ।

आयोगको यो निर्णय यस्तो समयमा सार्वजनिक गरिएको छ, जतिखेर एमाले अध्यक्ष ओली पार्टीको सचिवालय बैठकको अध्यक्षता गरिरहेका छन्। उनले शनिबार मात्रै उत्तेजक भाषण गरी ‘यो सरकार हाहुबाट बनेको’ टिप्पणी गरेका थिए। 

रमेश लेखक भने हाल आमाको काजक्रियामा छन्। दुवाडीलाई गृह सचिवको जिम्मेवारीबाट हटाएर राष्ट्रिय योजना आयोगमा सरुवा गरिसकिएको छ। हुतराज थापाले अनुसन्धान विभागको प्रमुखबाट अवकाश पाइसकेका छन्। रिजाल प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीबाट हटाइएका छन्।

Categorized in राष्ट्रिय