केइसीमा ‘दृष्टि २।०’ प्रदर्शनी शुरु
Janjati Khabar – जनजाति खबर | २०७६ आषाढ २०, शुक्रबार
काठमाडौँ इञ्जिनियरिङ कलेज केइसी, कालीमाटीमा राष्ट्रियस्तरको ‘दृष्टि २।०’ तीनदिने प्रदर्शनी आजदेखि शुरु भएको छ । ड्रोन उडाएर प्रदर्शनीको उद्घाटन गर्दै कलेजका अध्यक्ष हिरेन्द्रमान प्रधानले इञ्जिनीयरिङ अध्ययनरत विद्यार्थीको प्रयोगात्मक कार्यलाई केन्द्रित गर्दै आयोजना गर्दै आएको बताउनुभयो । “विशेष गरी इञ्जिनीयरिङ विषय अध्ययन गर्न चाहने १२ कक्षा उत्तीर्ण विद्यार्थीका लागि लक्ष्य गरी कलेजले प्रदर्शनी गर्दै आइरहेको छ”, प्रधानले जानकारी दिनुभयो । उहाँले आफूले गरेको कामलाई प्रदर्शनी गर्दा विद्यार्थीमा थप ऊर्जा बढ्नाका साथै प्रतिस्पर्धामा जान सहयोगी हुने बताउनुभयो ।
प्रदर्शनीको मूल आयोजक स्वतन्त्र विद्यार्थी परिषद्, केइसीका स्वविप सहसचिव प्रशान्त थापाले रु ५६ लाखको लगानीमा प्रदर्शनी आयोजना गरिएको बताउनुभयो । “स्वविपले इञ्जिनियरिङका विभिन्न विधाअन्तर्गत विद्यार्थीलाई जिम्मेवारी दिएको छ”, उहाँले भन्नुभयो । प्रदर्शनीमा भूकम्प प्रतिरोधी नमूना, फोटोग्राफी, आर्किटेक्चर, पेपर ब्रिज प्रतियोगिता, रोबोड्रिफ्ट, इलेक्ट्रिकल र इलोक्ट्रोनिक्ससम्बन्धी इनोभेशनलगायत विभिन्न इञ्जिनियरिङ विधाका प्रोजेक्टको प्रदर्शनी भएको उहाँले जानकारी दिनुभयो । कलेजका सिभिल इञ्जिनियरिङ, आर्किटेक्चर र इलेक्ट्रोनिक्स विभाग तथा रोबर्टिज, इलेक्ट्रिकल र आइटी क्लबले विभागीय जिम्मेवारीअनुरुप आआफ्ना क्लबबाट नयाँनयाँ डिजाइन र सोचनका प्रोजेक्ट प्रदर्शनीमा राखेका छन् । प्रदर्शनीमा पश्चिमाञ्चल इञ्जिनीयरिङ कलेजले पनि सहभागिता जनाइरहेको छ । यही असार २२ गतेसम्म प्रदर्शनी चल्नेछ ।
Categorized in राष्ट्रिय


