STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

कीर्तिपुर २ वडामा राहत वितरण

Janjati Khabar – जनजाति खबर | २०७६ चैत्र ३०, आइतबार

ललेन्द्र शाक्य

कीर्तिपुर – कोरोना भाइरस संक्रमण रोकथामको लागि लागू गरिएको लकडाउनको समय वडाबासीलाई खाद्यान्न अभाव हुन नदिन कीर्तिपुर नगरपालिका २ वडाले राहत वितरण गरेको छ । शनिबार (चैत २९ गते) मैत्री नगरमा बहालमा बस्ने तथा विपन्न वर्गको लागि राहत वितरण गरिएको थियो । मैत्री नगरमा करिब ३३० घरपरिवारलाई राहत वितरण गरिएको जानकारी २ वडाका वडाध्यक्ष एवं कीर्तिपुर नगरपालिका सम्पदा पर्यटन विभाग प्रमुख रमेशमान डंगोलले जनाएका छन् । डंगोलले भने, “दुईजनासम्म रहेको परिवारलाई चामल ६ किलो, तीनजना परिवार रहेकालाई ९ किलो चामल, चारजनाको परिवारलाई १२ किलो र पाँचजनाको परिवारलाई १५ किलो चामललगायत दाल, चिनी, नून र तेल वितरण गरिएको छ ।” सर्वप्रथम स्थानीय बासिन्दालाई राहत दिइनुपर्ने विचार डंगोलको रहे पनि सरकारले हाल बहालमा बस्ने, विद्यार्थी, विपन्नवर्गलाई मात्र राहत वितरण गर्न तोकिएकोले सोही अनुसार राहत वितरण गरिएको डंगोलले बताएका छन् । लकडाउनले बहालवाला मात्र नभएर स्थानीय पनि समस्यामा परेकाले डंगोलले चाँडै स्थानीयबासीको लागि पनि राहत वितरण हुनुपर्ने पनि बताएका छन् । डंगोलले चैत ३० गते आइतबार बिहान १० बजेदेखि २ वडामा बाँकी राहत वितरण गरिने पनि जनाएका छन् । राहत वितरण अनुगमन सर्वदलीय समितिका संयोजक एवं कीर्तिपुर नगरपालिकाका उपमेयर एवं प्रवक्ता सरस्वती खड्कासँगै अनुगमन समितिका सदस्यहरुले शनिबार भएको उक्त राहत वितरणको अनुगमन पनि गरेका थिए ।
Categorized in उपत्यका